images
images
  • प्रधानमन्त्रीको भारत भ्रमणबारे एमाले नेता डा. भट्टराई- ईपीजी प्रतिवेदन बझेर कार्यान्वयनमा ल्याउनुपर्छ

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै लामो समयदेखि थन्किएका द्विपक्षीय मुद्दाहरू समाधान गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    नेकपा एमालेका नेता तथा परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री शाहको यो भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र आपसी सहकार्य विस्तार गर्ने सुनौलो अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

    भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै नेता भट्टराईले नेपाली प्रधानमन्त्रीको भारत भ्रमण करिब साढे दुई वर्षको अन्तरालपछि हुन लागेकाले यसको विशेष कूटनीतिक महत्त्व रहेको बताएका छन्। दुई देशबीच धेरै विषयमा नियमित सहकार्य र समन्वय अति आवश्यक रहेकाले उच्चस्तरीय राजनीतिक संवाद निरन्तर भइरहनुपर्ने उनको भनाइ छ।

    ‘भारत र नेपालबीच अनगिन्ती विषय र सम्झौताहरू छन्। हामी विश्वकै नजिकका छिमेकी हौँ। दुई देशबीच यति धेरै साझा मुद्दा र सहकार्यका क्षेत्र भएकाले उच्चस्तरीय भ्रमण र आपसी समझदारी सधैँ महत्त्वपूर्ण हुन्छन्’, भट्टराईले स्पष्ट पारे।

    भारत नेपालको सबैभन्दा ठूलो विकास साझेदार, प्रमुख व्यापारिक साझेदार र ठूलो लगानीकर्ता भएकाले आगामी भ्रमणमा विकास सहकार्यलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनको सुझाव छ। उनले विपद्पछिको पुनर्निर्माण तथा सङ्कटका बेला भारतले प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्दै यसलाई निरन्तरता दिने र थप प्रभावकारी बनाउने विषयमा खुला छलफल हुनुपर्ने उल्लेख गरे।

    नेता भट्टराईका अनुसार जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको उच्च प्रयोगमार्फत दुवै देशले विकासलाई तीव्रता दिने क्षेत्रमा सहकार्यको फराकिलो सम्भावना छ।

    यसका साथै सडक तथा हवाई सम्पर्कको विस्तार, पेट्रोलियम पाइपलाइनको परिमार्जन, ग्यास पाइपलाइन निर्माण तथा उदीयमान खेलकुद क्षेत्र विशेषगरी क्रिकेट पूर्वाधारको विकासमा समेत द्विपक्षीय साझेदारी अघि बढाउन सकिने उनले औंल्याए।

    भ्रमणका दौरान उठाउनै पर्ने मुख्य विषयका रूपमा भट्टराईले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई विशेष रूपमा औंल्याएका छन्। दुवै देशका ख्यातिप्राप्त विज्ञ तथा प्रतिनिधिहरू सम्मिलित सो समूहले द्विपक्षीय सम्बन्धको समग्र पक्षको गहिरो अध्ययन गरी सहमतिमै प्रतिवेदन तयार पारे पनि यो गत करिब आठ वर्षदेखि थन्किएर बसेको र कार्यान्वयनमा आउन नसकेको उनले स्मरण गराए।

    प्रधानमन्त्री शाहको यसै भ्रमणका क्रममा ईपीजी प्रतिवेदन बुझ्ने र यसलाई कार्यान्वयनको सकारात्मक निष्कर्षमा पुर्‍याउने दिशामा गम्भीर ढङ्गले छलफल हुने विश्वास उनले व्यक्त गरे। ‘हामीलाई भारतसँग अत्यन्त सुमधुर र घनिष्ठ सम्बन्ध आवश्यक छ र हाम्रो चाहना पनि यही हो’, भट्टराईले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images