काठमाडौं– नेपाली कांग्रेसका नेता तथा वागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरी अनुसन्धान गर्न गत साता अनुमति लिएको हो ।
पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि बानियाँ फरार रहेको स्रोतले जनाएको छ ।
यसअघि सीआईबीले ठगी तथा संगठित अपराधको अनुसन्धानका क्रममा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ अनुमति लिएको थियो ।
उनीसमेत फरार छन् ।
मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरेको प्रकरणमा सीआईबीले पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा कानुनविपरीत नीतिगत निर्णयमार्फत १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन भएको खुलेको सीआईबीले जनाएको छ ।






















