काठमाडौं– इन्डोनेसियाको एक मिठाई कारखानामा भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य ३६ जना बेपत्ता भएका छन् ।
राजधानी जकार्तासँग सीमा जोडिएको बान्टेन प्रान्तस्थित फोनुसा अगुङ मुलिया कारखानामा भएको आगलागीबाट कम्तीमा १५ जनाको उद्धार गरिएको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
उद्धार गरिएकामध्ये चार जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
‘कारखानाका विभिन्न स्थानमा अझै आगो बलिरहेको छ। दमकल टोलीले आगो निभाउने र आगो नियन्त्रणमा आएका स्थानलाई चिस्याउने काम जारी राखेका छन्’, उद्धार अधिकारी रिज्की द्वी ड्वियान्तोले एसोसिएटेड प्रेस (एपी) समाचार संस्थालाई बताए ।
आगलागी सुरु भएको १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि सेराङ जिल्ला र बान्टेन प्रान्तका दमकलकर्मीहरू कारखानाका विभिन्न भागमा फैलिएको आगो नियन्त्रणमा लिन सङ्घर्ष गरिरहेका थिए ।
ड्वियान्तोका अनुसार उद्धारकर्मी, दमकल विभागका कर्मचारी र इन्डोनेसिया रेडक्रसका सदस्यहरूले कारखानाका विभिन्न खण्डमा खोजी गरिरहेका छन् । उनीहरूले विशेष गरी मानिसहरू फसेको हुन सक्ने क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
बान्टेन प्रान्तका गभर्नर आन्द्रा सोनीले पत्रकारहरूलाई बताएअनुसार आगलागी सुरु हुँदा कारखानाभित्र करिब ६० जना कामदार थिए । उक्त कारखानामा दूधबाट बनेका खाजा तथा ‘मिल्किता’ नामका मिठाई उत्पादन हुँदै आएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरूमा तीन तले भवनबाट कालो धुवाँको मुस्लो निस्किरहेको देखिन्छ । कारखानाभित्रबाट खिचिएको दृश्यमा आगलागीका कारण उपकरणहरू जलेर कालो भएको र ठुलो क्षति पुगेको देख्न सकिन्छ ।
स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा कारखानाबाहिर पीडितका आफन्त तथा परिवारका सदस्यहरू भेला भएको देखिन्छ । विपद् व्यवस्थापन निकायले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।
इन्डोनेसियामा पछिल्ला वर्षहरूमा आगलागीका कारण ठुलो जनधनको क्षति हुँदै आएको छ । गत डिसेम्बरमा राजधानी जकार्तास्थित एक कार्यालय भवनमा भएको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।
त्यस्तै सन् २०२३ मा इन्डोनेसियाको एक निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।






















