काठमाडौं– अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को १० जना सर्वाधिक खोजीमा रहेका व्यक्तिको सूचीमा परेका मेक्सिकोका एक कुख्यात लागुऔषध तस्कर सरकारी सुरक्षा फौजसँगको गोली हानाहानपछि पक्राउ परेका छन् ।
मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार फाउस्तो इसिद्रो ‘चापो इसिद्रो’ मेसा फ्लोरेस र अन्य सात जनालाई शुक्रवार सिनालोआ राज्यको गुआसाभेमा मेक्सिकन विशेष सुरक्षा बलले पक्राउ गरेको हो ।
उक्त कारबाहीमा सात जना सन्दिग्धको मृत्यु भएको छ । गुआसाभेमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन गइरहेका मेक्सिकन सेनाका चार सदस्यको पनि मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।
मेसा फ्लोरेस मेक्सिकोमा सङ्गठित अपराधसम्बन्धी आरोपमा खोजीको सूचीमा थिए । एफबीआईले उनीमाथि ‘फेन्टानिल, कोकिन, हेरोइन र अन्य घातक लागुऔषध ठुलो मात्रामा अमेरिकामा भित्र्याएको’ आरोप लगाएको छ । अमेरिकाले उनको सुपुर्दगीका लागि पहल गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउस फर्किएपछि मेक्सिकोले लागुऔषधसँग सम्बन्धित अपराध नियन्त्रणका लागि प्रयास तीव्र पारेको छ । ट्रम्पले मेक्सिकोमाथि लागु औषध तस्करी नियन्त्रण गर्न दबाब दिँदै आएका छन् ।
मेसा फ्लोरेस मेसा फ्लोरेस सङ्गठनका प्रमुख हुन्। यो सङ्गठन ‘गुआसाभे कार्टेल’ का नामले पनि चिनिन्छ । उनी सन् १९९० को दशकदेखि लागुऔषध तस्करीमा सक्रिय रहेको विश्वास गरिन्छ । तर तुलनात्मक रूपमा कम चर्चामा रहेर काम गरेकाले अहिलेसम्म सुरक्षा निकायको पक्राउबाट बच्दै आएका थिए ।
मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार अमेरिकाले उपलब्ध गराएको उनको अवस्थिति सम्बन्धी गुप्तचर सूचनाका आधारमा विशेष सुरक्षा बलले कारबाही अघि बढाएको थियो । उनी रहेको स्थानमा विशेष बलले गोप्य रूपमा र अचानक प्रवेश गरी भाग्न नदिन तथा थप सहयोगीहरू आइपुग्न नदिन चारैतिर घेरा हालेको थियो ।
तर उक्त स्थानमा प्रवेश गर्नुअघि सुरक्षाकर्मीमाथि गोली र विस्फोटक पदार्थबाट आक्रमण भएको मन्त्रालयले जनाएको छ। त्यसपछि मेसा फ्लोरेसलाई पक्राउ गरिएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा गुआसाभेमा हेलिकप्टरबाट जमिनतर्फ लगातार गोली प्रहार गरिएको देखिन्छ। अन्य भिडियोमा गोली चलेको आवाज सुनेपछि बेसबल रङ्गशालामा उपस्थित मानिसहरू भागाभाग गरिरहेको देख्न सकिन्छ।
रक्षा मन्त्रालयका अनुसार पक्राउ पर्ने आठ जनामध्ये मेसा फ्लोरेसका दोस्रो तहका प्रमुखसमेत रहेका उनका काकाका छोरा पनि छन्। त्यस्तै सङ्गठनको आर्थिक कारोबार सम्हाल्ने उनका भिनाजु पनि पक्राउ परेका छन्।
मेसा फ्लोरेस, उनका काकाका छोरा र भिनाजुलाई मुद्दा चलाउन मेक्सिको सिटी लगिएको रक्षा मन्त्रालयले जनाएको छ। बाँकी पाँच जनालाई भने सिनालोआ राज्यमै राखिएको छ।
कारबाहीका क्रममा सुरक्षाकर्मीले ग्रिनेड प्रक्षेपण गर्ने हतियारसहित विभिन्न प्रकारका बन्दुक, लागु औषध र नगदसमेत बरामद गरेका छन्। मेसा फ्लोरेस पक्राउ परेपछि हर्मोसिलोस्थित अमेरिकी महावाणिज्य दूतावासले पनि सुरक्षा अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै मेसा फ्लोरेस पक्राउ परेपछि रातभरि आहोमे, गुआमुसिल, गुआसाभे र नावोलातो क्षेत्रमा सुरक्षा कारबाही, सशस्त्र झडप, सडक अवरोध तथा सवारीसाधनमा आगजनीका घटना भएको विवरण प्राप्त भइरहेको जनाएको छ। उसले त्यस क्षेत्रका अमेरिकी नागरिकलाई सम्भावित हिंसाप्रति सतर्क रहन र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।
सन् २०२५ मा मेसा फ्लोरेसलाई एफबीआईको सर्वाधिक खोजीमा रहेका व्यक्तिको सूचीमा राखिएको थियो। त्यस बेला उनीमाथि अपहरण, जबरजस्ती असुली र यातनाजस्ता ‘जघन्य अपराध’ गरेको आरोप लगाइएको थियो। त्यस बेलाका कार्यवाहक एफबीआई निर्देशक ब्रायन ड्रिस्कोलले मेसा फ्लोरेस र उनको सङ्गठनले मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सीमाबाट ‘अवैध लागुऔषधको ठुलो संकट’ भित्र्याएको बताएका थिए।
अमेरिकामा उनीमाथि पहिलो पटक सन् २०१२ मा लागुऔषध तस्करीको अभियोग लगाइएको थियो। सन् २०१९ मा उनीमाथि पुनः अर्को अभियोग दर्ता गरिएको थियो। ४४ वर्षीय मेसा फ्लोरेसमाथि सन् २००५ देखि २०१९ सम्म ठुलो परिमाणमा कोकिन, हेरोइन, मेथाम्फेटामाइन र गाँजा उत्पादन तथा वितरण गर्ने षड्यन्त्रमा संलग्न रहेको आरोप छ।
मेसा फ्लोरेस सुरुमा बेल्ट्रान लेभा सङ्गठनका उच्च तहका सदस्य थिए। तर, सङ्गठनभित्रका प्रतिस्पर्धी समूहबिच विभाजन भएपछि हिंसा बढ्यो। त्यसपछि उनले सन् २०१३ सम्ममा आफ्नै कार्टेल स्थापना गरेका थिए।
उनको सङ्गठनले सोही क्षेत्रमा सक्रिय विश्वकै शक्तिशाली लागुऔषध तस्करी गिरोहहरूमध्ये एक सिनालोआ कार्टेलसँग पनि अत्यन्त हिंसात्मक क्षेत्रीय वर्चस्वको लडाइँ लड्दै आएको अमेरिकी अधिकारीहरूले बताएका छन्। सन् २०२४ मा मेसा फ्लोरेसको कार्टेलसँग सम्बन्धित २ करोड फेन्टानिल चक्की मेक्सिकन अधिकारीहरूले बरामद गरेपछि उनलाई एफबीआईको सर्वाधिक खोजी सूचीमा राखिएको थियो।
मेक्सिकन राष्ट्रपति क्लाउडिया शिनबाउमले अमेरिकी हस्तक्षेप रोक्ने प्रयासस्वरूप देशका लागुऔषध कार्टेलविरुद्ध कडा नीति अपनाएकी छन्। मेक्सिकोले अमेरिकासँगको सहकार्यलाई स्वागत गरे पनि आफ्नो भूमिमा अमेरिकी सैनिक परिचालन गर्ने प्रस्तावको विरोध गर्दै आएको छ।
ट्रम्पले अमेरिकाको दक्षिणी सीमाबाट हुने लागुऔषधको ओसारपसार रोक्नुलाई आफ्नो चुनावी अभियानका प्रमुख प्रतिबद्धतामध्ये एक बनाएका थिए।






















