काठमाडौं– प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको औपचारिक एजेन्डामा नेपाल–भारत सीमा विवादको विषय समेटिएको छैन ।
भ्रमणअघि परराष्ट्र मन्त्रालयमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि प्रधानमन्त्रीकै निर्देशनमा उक्त विषय तत्कालका लागि एजेन्डाबाट हटाइएको हो ।
प्रधानमन्त्री कार्यालयका एक उच्च स्रोतका अनुसार भ्रमणलाई विवादरहित बनाउँदै द्विपक्षीय संवाद र सहकार्यका विषयमा केन्द्रित गर्ने उद्देश्यले सीमा विवादलाई प्राथमिकतामा नराखिएको हो ।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद्मा नेपाल र भारत दुवैले एकअर्काको भूमि मिचेको विषय अध्ययन गरी तथ्यका आधारमा समाधान खोज्नुपर्ने बताएका थिए ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सासमेत राखेका थिए ।
यी अभिव्यक्तिका कारण भारत भ्रमणमा सीमा विवादको विषय उठ्ने अपेक्षा गरिएको थियो ।
तर, भ्रमणको तयारीका क्रममा छलफल भए पनि अन्तिम एजेन्डामा उक्त विषय समावेश हुन सकेन ।
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले भने सीमा विवादको विषय भ्रमणमा उठाउनुपर्ने बताएका छन् ।
संवादको ढोका खुला राख्दै समाधानको पहल गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, कूटनीतिक मामिलाका जानकार मोहनकृष्ण श्रेष्ठले पनि सीमा विवादलाई द्विपक्षीय छलफलको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
उनका अनुसार संवादबिना सीमा समस्याको समाधान सम्भव छैन ।






















