काठमाडौं– नाइजेरियाको राजनीतिमा अब्दुलहादी दल्हातु केही फरक पात्र हुन् । ३८ वर्षका उनी चुनावमार्फत निर्वाचित पदमा पुग्न चाहने युवा राजनीतिज्ञमध्ये एक हुन् । नाइजेरियाको कुल जनसंख्याको करिब ८० प्रतिशत हिस्सा ४० वर्षमुनिको छ । यस्तो अवस्थामा उनी आगामी जनवरीमा हुने आमनिर्वाचनमा उत्तरी राज्य कानोको प्रदेशसभाको सिट जित्ने अभियानमा छन् ।
आफ्नो उमेर चुनावमा फाइदाजनक हुने उनको विश्वास छ । ‘यो देशमा युवाहरू बहुसङ्ख्यक छन् र उनीहरूले नै देशको भविष्य निर्धारण गर्न पाउनुपर्छ’, दल्हातुले भने । नाइजेरियाको राजनीतिक इतिहास हेर्दा उनका लागि यो यात्रा सहज देखिँदैन ।
सन् १९९९ मा नागरिक शासन पुनःस्थापना भएयता गुडलक जोनाथन सबैभन्दा कम उमेरमा निर्वाचित राष्ट्रपति बनेका थिए । उनले ५३ वर्षको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । हालका राष्ट्रपति बोला टिनुबु ७४ वर्षका छन्। आगामी जनवरीमा पुनः निर्वाचित भएमा दोस्रो कार्यकालको अन्त्यसम्म उनको उमेर ७९ वर्ष पुग्नेछ ।
उनका प्रमुख प्रतिस्पर्धीहरू पनि निकै पाका छन् । सातौँ पटक राष्ट्रपतिको उम्मेदवारी दिन लागेका आतष्पग अबुबकर ७९ वर्षका छन् भने पिटर ओबी ६५ वर्षका छन् ।
राष्ट्रपति पदका १८ जना उम्मेदवारमध्ये ४० वर्षमुनिका एक जना मात्रै छन् । उनी हुन् ३५ वर्षीय व्यवसायी मोसेस ओलुसोजी अदेबिसी। उनी डेमोक्रेटिक लिडरसिप एलायन्स (डीएलए) का तर्फबाट उम्मेदवार बनेका छन् ।
आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए पनि धेरै नाइजेरियालीले उनलाई चिनेका छैनन् । चुनावी अभियानमा पनि उनी खासै सक्रिय देखिएका छैनन् । विश्वकै सबैभन्दा युवा जनसङ्ख्या भएका देशमध्ये एक नाइजेरियामा यो अवस्था निकै विरोधाभासपूर्ण छ । यहाँका युवाहरूले पटक-पटक राजनीतिक बहसलाई प्रभावित पार्ने र परिवर्तनका लागि जनमत परिचालन गर्ने क्षमता देखाइसकेका छन् ।
अघिल्लो निर्वाचनमा ६१ वर्षका पिटर ओबीले सामाजिक सञ्जालमा आधारित ‘ओबिडियन्ट्स’ नामक अभियानमार्फत लाखौँ युवा नाइजेरियालीलाई आफ्नो पक्षमा गोलबद्ध गरेका थिए ।
उनको चुनावी अभियानले पुरानो राजनीतिक व्यवस्थाको अन्त्य गर्ने वाचा गरेको थियो । विशेष गरी रोजगारी पाउन र सम्मानजनक जीवनयापन गर्न सङ्घर्ष गरिरहेका युवाहरू यस अभियानप्रति आकर्षित भएका थिए ।

राष्ट्रपतिको निर्वाचन जित्न नसकेपछि उनका धेरै समर्थक निराश भए । ‘त्यति बेला हामी निकै आशावादी थियौँ। तर दुर्भाग्यवश नतिजा हामीले चाहेअनुसार आएन । त्यसले धेरै मानिसलाई राजनीतिक व्यवस्थाप्रतिको विश्वास गुमाउन बाध्य बनायो’, ओबिडियन्ट्स अभियानका पूर्वसमर्थक नोनसो चुक्वुडीले भने ।
यो अभियान सन् २०२० मा भएको ‘एन्डसार्स’ आन्दोलनबाट सिर्जित जनलहरमा आधारित थियो । उक्त आन्दोलन केही दशकयताकै नाइजेरियाको सबैभन्दा ठुलो युवा नेतृत्वको आन्दोलनमध्ये एक बनेको थियो ।
प्रहरीको ज्यादतीविरुद्ध सुरु भएको आन्दोलन बिस्तारै राजनीतिक सुधार, जवाफदेहिता र शासन व्यवस्थामा युवाको बढी सहभागिताको मागमा परिणत भएको थियो । अन्ततः सरकारी दमनका कारण आन्दोलन दबाइयो। आन्दोलनका क्रममा करिब ५६ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, सरकारी अधिकारीहरूले यो तथ्याङ्कमा असहमति जनाएका छन् । सयौँ मानिस पक्राउ परे भने केहीको बैङ्क खाता समेत रोक्का गरिएको थियो ।
एन्डसार्स र ओबिडियन्ट्स दुवै अभियानले राजनीतिक मुद्दामा युवाहरूलाई परिचालन गर्न सक्ने क्षमता प्रदर्शन गरे । त्यही उत्साहलाई निरन्तर चुनावी सहभागितामा रूपान्तरण गर्न भने निकै कठिन भएको छ ।
३३ वर्षीया हाजारा मुसा पनि राजनीतिक व्यवस्थाप्रतिको विश्वास गुमाउनेमध्ये एक हुन् । निकट भविष्यमा मतदाता नामावलीमा नाम दर्ता गराउने वा मतदान गर्ने उनको कुनै योजना छैन ।
‘मलाई लाग्छ, सबै कुरा पहिल्यै तय भइसकेको छ। मतदान गरेर मैले आफ्नो समय मात्रै खेर फाल्नेछु । फेरि पनि उही मानिसहरू सत्तामा आउने हुन्’, उनले भनिन् ।
मतदाता नामावलीले पनि युवाहरूमा बढ्दो निराशा झल्काएको देखिन्छ । पछिल्लो निर्वाचनयता दर्ता भएका मतदाताको सङ्ख्या एक करोडले बढेर १० करोड ३० लाखभन्दा माथि पुगेको छ । ३५ वर्षमुनिका मतदाताको दर्ता भने करिब ७० लाखले घटेको छ ।
सन् २०२३ मा कुल दर्ता भएका मतदातामध्ये ४० प्रतिशत युवा थिए। अहिले यो सङ्ख्या घटेर २९ प्रतिशतमा सीमित भएको छ । नाइजेरियाको निर्वाचन आयोग (आइनेक) ले सन् २०२७ को आमनिर्वाचनअघि युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गराउन प्रोत्साहित गर्ने प्रयास भइरहेको जनाएको छ ।
यसका लागि चलचित्र, सङ्गीत र हास्य क्षेत्रका नौ जना कलाकारलाई युवा पुस्तासम्म पुग्ने अभियानका दूत नियुक्त गरिएको छ । तथ्याङ्कले यी प्रयासले अहिलेसम्म उल्लेखनीय परिणाम दिन नसकेको देखाउँछ ।

दल्हातु युवाहरूको निराशा बुझ्न सकिने बताउँछन् । राजनीतिक प्रक्रियाबाट टाढा बसेर परिवर्तनको अपेक्षा गर्न नसकिने उनको तर्क छ ।
‘दुर्भाग्यवश, धेरै युवा राजनीतिक प्रक्रियामा सहभागी हुनुभन्दा सामाजिक सञ्जालमा पोस्ट गर्नमै सीमित छन्’, उनी भन्छन् । यद्यपि युवा हुँदैमा कोही व्यक्ति अनिवार्य रूपमा उत्कृष्ट उम्मेदवार हुन्छ भन्ने छैन ।
राजनीतिमा सहभागी हुन चाहने युवाहरूका लागि अर्को ठूलो चुनौती आर्थिक स्रोत हो । दल्हातु भविष्यमा राष्ट्रपति बन्ने सपना देख्छन् । तर पर्याप्त पैसा जुटाउन नसकेकै कारण विगतमा आफूले चुनावी अभियान छाड्नुपरेको उनी बताउँछन् ।
नाइजेरियामा चुनाव लड्न लाग्ने खर्च अत्यन्तै महँगो मानिन्छ । निर्वाचन ऐनअनुसार सन् २०२३ को निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारले चुनावी अभियानका लागि अधिकतम पाँच अर्ब नाइरा (२८ लाख अमेरिकी डलर वा ३७ लाख पाउन्ड) खर्च गर्न पाउने व्यवस्था थियो । त्यसयता यो खर्च सीमा दोब्बर बनाइएको छ ।
उम्मेदवारी दर्ताका लागि आवश्यक मनोनयन फारमको शुल्कले मात्रै पनि अधिकांश युवा नाइजेरियालीलाई राष्ट्रपति बन्ने प्रतिस्पर्धाबाट बाहिर राखेको छ ।
सत्तारूढ अल प्रोग्रेसिभ कङ्ग्रेस (एपीसी), पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) र अफ्रिकन डेमोक्रेटिक कङ्ग्रेस (एडीसी) ले राष्ट्रपतिको उम्मेदवारीका लागि मनोनयन शुल्क एक करोड नाइरा होइन, १० करोड नाइरा (७४ हजार अमेरिकी डलर वा ५६ हजार पाउन्ड) तोकेका छन् । यसले नयाँ उम्मेदवारका लागि चुनावी प्रतिस्पर्धामा प्रवेश गर्न निकै कठिन बनाएको छ ।
सन् १९९९ मा प्रजातन्त्र पुनःस्थापना भएयता नाइजेरियामा दुई वटा पार्टीले मात्रै सरकार चलाएका छन् । सन् १९९९ देखि २०१५ सम्म पीडीपी र सन् २०१५ देखि हालसम्म एपीसी सत्तामा छ ।
यी दुई पार्टीसँगै गत वर्ष स्थापना भएको एडीसीले पनि देशव्यापी रूपमा पार्टीका शाखा, समर्थक र चुनावी अभियानकर्ताको सञ्जाल विस्तार गरेका छन् । एडीसी अन्य दुई पार्टीबाट बाहिरिएका राजनीतिज्ञहरूले स्थापना गरेका हुन् ।
मुख्य पार्टीहरूको आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन र उम्मेदवारी फारम खरिद गर्न आवश्यक आर्थिक स्रोत नभएका आकाङ्क्षी उम्मेदवारका लागि राष्ट्रपति बन्ने सम्भावना निकै न्यून छ । राष्ट्रिय संसद्मा पनि युवाको कमजोर प्रतिनिधित्व स्पष्ट देखिन्छ ।
नाइजेरियाका १०९ सिनेटरमध्ये एक जना पनि ४० वर्षमुनिका छैनन् । त्यस्तै ३६० सदस्यीय प्रतिनिधिसभामा ४० वर्षमुनिका सांसदको सङ्ख्या केवल १४ छ ।
‘म धेरै वर्षदेखि राजनीतिमा छु । म तपाईँलाई भन्न सक्छु कि यस देशका युवाहरूसँग राष्ट्रपति बन्न आवश्यक आर्थिक स्रोत छैन’, ओबीको पार्टी नाइजेरिया डेमोक्रेटिक कङ्ग्रेसबाट चुनाव लडिरहेका दल्हातु भन्छन् ।
एपीसीकी युवा राजनीतिज्ञ फातिमा जहारा उमर पनि यसमा सहमत छन् । उनले यसअघि प्रतिनिधिसभाको सिटका लागि चुनाव लड्ने प्रयास गरेकी थिइन् ।
‘नाइजेरियाका युवाहरू गरिब छन् । यहाँको राजनीति पैसामा निर्भर छ । त्यसैले राजनीतिक सहभागिता पनि आर्थिक स्रोतले निर्धारण गर्छ’, उनी भन्छिन् ।
उनका अनुसार धेरै युवा वरिष्ठ राजनीतिज्ञको विशेष सल्लाहकार जस्तो सानो पदमा केही प्रभाव प्राप्त गरेरै सन्तुष्ट हुने गरेका छन् ।
राजनीतिक विश्लेषक सिउन अजायी भने समस्या आर्थिक अवरोधमा मात्रै सीमित नभएको बताउँछन् ।
‘हामीसँग विश्वकै प्रतिभाशाली युवाहरू छन् । उनीहरू कि राजनीतिमा रुचि राख्दैनन्, कि त सरकारमा सानो भूमिका पाएरै सन्तुष्ट हुन्छन्’, उनी भन्छन्, ‘पुराना नेताहरू हामीलाई हटाएर नयाँ पुस्तालाई नेतृत्व सुम्पिन चुपचाप बस्ने छैनन्। ठुला पद प्राप्त गर्न हामी आफैँले सङ्घर्ष गर्नुपर्छ । तर अहिले म युवाहरूमा त्यो उत्साह देख्दिनँ ।’
उमरका अनुसार युवा नेतृत्वप्रति समाजको दृष्टिकोण परिवर्तन हुनु पनि उत्तिकै आवश्यक छ ।
‘सांस्कृतिक रूपमा हामी युवा पुस्ताको क्षमता र प्रतिभामाथि विश्वास गर्न वा उनीहरूलाई नेतृत्व स्वीकार गर्न अभ्यस्त छैनौँ। त्यसैले यो निकै कठिन हुनेछ’, उनी भन्छिन्, ‘वृद्ध नेताहरू अझै पनि राजनीतिक प्रणालीमाथि आफ्नो पकड कायम राखिरहेका छन् ।’
अमेरिकामा हालै सम्पन्न मध्यावधि निर्वाचनमा युवा उम्मेदवारहरूले हासिल गरेको सफलताबाट केही नाइजेरियालीले पनि प्रेरणा लिएका छन् । तीमध्ये केही उम्मेदवारको पारिवारिक जरा अफ्रिकासँग जोडिएको छ ।
मनोरञ्जनकर्मी चार्ली बोयले सामाजिक सञ्जाल एक्समा ‘अमेरिकाले गरेर देखायो, के नाइजेरियालीले पनि त्यसै गर्न सक्छन्’ भन्दै पोस्ट गरेका थिए । उनको पोस्ट व्यापक रूपमा साझा गरिएको थियो ।
उनले अमेरिकी निर्वाचनको नतिजाले राजनीतिक शक्ति र सङ्गठन जतिसुकै बलियो भए पनि मतदाताले सरकारको दिशा परिवर्तन गर्न सक्ने चेतावनी नाइजेरियाका राजनीतिज्ञलाई दिएको बताएका थिए ।
उनले युवाहरूलाई उम्मेदवारहरूसँग विगतका प्रतिबद्धताबारे प्रश्न गर्न पनि आह्वान गरेका थिए ।
‘के जनताको जीवनस्तर सुधारिएको छ ? रोजगारी कहाँ छ ? सुरक्षा र सस्तो जीवनयापनको व्यवस्था कहाँ छ ? लोकतन्त्र दर्शक बनेर हेर्ने खेल होइन, न त यो चामल बाँड्ने कार्यक्रम नै हो’, उनले लेखेका छन् ।
-एजेन्सी/अबुजा





















