images
images
  • ओलीको गृह जिल्ला र बालेनको निर्वाचन क्षेत्रमा धेरै कुष्ठरोगी फेला, बढ्दै संक्रमण

    झापा– झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

    चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।

    उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२/१२ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

    त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्टरोगी फेला परेका छन् ।

    चालु आर्थिक वर्षमा ५३ कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताए ।

    छिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने संख्या बढ्दै गएको देखिन्छ ।

    जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय २१ , आव २०७९/८० मा एक सय ५७ , आव २०८०/८१ मा एक सय २१ र २०८०/८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ ।

    तथ्यांकको आधारमा हेर्दा २०७७/७८ मा संक्रमण दर १.०२ प्रतिशतबाट आव २०८०/८१ मा आइपुग्दा १.४७ प्रतिशत पुगेको देखिन्छ ।

    विश्वमा बर्सेनि झण्डै दुई लाख नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको फोकल पर्सन दास बताउँछन् ।

    चिह्न र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारको हुने उनले बताए ।

    ‘कम सर्ने खालको कुष्ठरोग र सर्ने खालको कुष्ठरोग हुन्छ,’ उनले भने, ‘बहु–औषधि उपचार पद्धतिद्वारा छ देखि १२ महिनाको अवधिसम्म तीन प्रकारका औषधिको प्रयोगबाट कुष्ठरोग निको हुन्छ ।

    समयमै कुष्ठरोगको उपचार भएमा अपांगता पनि हुँदैन ।

    सामाजिक अवहेलनाको डरले गाउँघरमा अझै पनि धेरै कुष्ठरोगी लुकेर रहेकाले सुक्ष्म रूपमा खोजपतड्ला गर्नुपर्ने उनको भनाइ छ ।

    यो जिल्ला एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो । यहाँ ओली र बालेन चुनावी प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images