काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
आइतबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।
यसअघि न्यायाधीश बालकृष्ण ढकालले हेर्न नमिल्ने भएपछि पेसी स्थगित भएको थियो ।
माघ ६ गते सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुबै पक्षलाई बोलाएको थियो ।
युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले माघ ४ गते छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।
उनीहरूले महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको दाबी गर्दै बदर गर्न र मुद्दा कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।
पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार अभियोग संशोधन गरिएको भण्डारीको निर्णयमा उल्लेख छ ।
लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा भने विभिन्न जिल्ला अदालतमा कायमै रहेको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवलले बिगो बमोजिम धरौटी बुझाएर छाड्न आदेश दिएको थियो ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण, संगठित अपराध र ठगीसम्बन्धी अभियोग दायर गरिएको थियो ।























