काठमाडौं– अफगानिस्तानमा बुधबार र बिहीबार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।
प्रारम्भिक तथ्यांकले मृतकको सङ्ख्या ६१ र घाइतेको संख्या ११० भन्दा बढी रहेको देखाएको छ ।
‘हिमपात र वर्षाका कारण भएको हताहतीको विभिन्न क्षेत्रहरूबाट रिपोर्ट संकलन गर्ने क्रम अझै जारी छ र हताहत हुनेको संख्या बढ्ने सम्भावना देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रहरूले चिसो तापक्रम र भारी हिमपातको सामना गर्नुपरेको छ ।
जसका कारण राष्ट्रिय राजधानी काबुल र कैयौँ प्रान्तहरू बीचको महत्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।


विश्व खबर 



















