images
images
  • भावी प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहस हुने, ओली तयार

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबीच सार्वजनिक बहसका लागि आफू तयार रहेको बताएका छन् ।

    च्यासलमा कार्यकर्तामाझ घेरिएर हिँड्दै गरेको अवस्थामा शनिबार पत्रकारहरूसँगको कुराकानीमा ओलीले यस्तो बहसको आवश्यकता औँल्याएका हुन् ।

    उनले भने, ‘वास्तवमा प्रधानमन्त्रीका क्यान्डिडेट हुँ भन्नेहरूका बीचमा संवाद कार्यक्रम राख्नु र त्यो एउटा पब्लिक डिबेट ओपन लाइभ त्यस्तो डिबेट गर्नु आवश्यक छ ।’

    उनले किन प्रधानमन्त्री हुनुपर्ने, के गर्नलाई प्रधानमन्त्री हुनुपर्ने आदि कुराहरू छलफल हुनुपर्नेमा जोड दिए ।

    पत्रकारले ‘त्यसो भए तयार हुनुहुन्छ ?’ भनेर सोध्दा ओलीले ‘बिल्कुल’ भन्ने उत्तर दिए ।

    आगामी निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले प्रधानमन्त्रीका रूपमा आ-आफ्ना उम्मेदवार अघि सारेका छन् ।

    नेकपा एमालेले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीका रूपमा घोषणा गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर तथा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

    नेपाली कांग्रेसले भने भर्खरै भएको विधान महाधिवेशनबाट सभापति बनेका गगन थापालाई प्रधानमन्त्रीका रूपमा उभ्याएको छ ।

    निर्वाचनअगाडि ठुला दलहरूले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारहरूबीच यसखाले सार्वजनिक बहस हुनु नेपालका सन्दर्भमा नौलो हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images