काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आगामी राष्ट्रपति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच गोप्य सहमति भएको दाबी गरिएको छ ।
स्रोतका अनुसार पछिल्ला दिनहरूमा भएका उच्चस्तरीय भेटघाट र बन्द कोठाका छलफलमा राष्ट्रपतिको उम्मेदवारका रूपमा भट्टराईको नाममा सहमति जुटेको हो ।
स्रोतहरूका अनुसार यो सहमति औपचारिक रूपमा सार्वजनिक नगरिए पनि संविधान संशोधन, शक्ति सन्तुलन र संक्रमणकालीन न्यायसँग जोडिएका एजेन्डामा साझा धारणा बनेपछि भट्टराईलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी भएको बताइन्छ ।
रास्वपाले आफूलाई परम्परागत दलभन्दा फरक देखाउन खोजिरहेको सन्दर्भमा भट्टराईको बौद्धिक छवि, अन्तर्राष्ट्रिय पहुँच र वैचारिक स्पष्टतालाई उपयोग गर्ने रणनीति लिइएको विश्लेषण छ ।
यद्यपि रास्वपाका नेताहरूले यस्तो सहमतिबारे औपचारिक पुष्टि गरेका छैनन् । रास्वपाका एक नेताले भने, ‘राष्ट्रपति जस्तो संवैधानिक पदमा व्यापक सहमति आवश्यक हुन्छ, सबै विकल्पबारे छलफल भइरहेका छन् ।’
राजनीतिक विश्लेषकहरू पुरञ्जन आचार्यले भने यो सम्भावनालाई शक्ति समीकरणको पुनर्संरचनाका रूपमा हेर्छन् । उनका अनुसार, यदि यस्तो सहमति व्यवहारमा आयो भने यसले परम्परागत ठूला दलहरूको राष्ट्रपतिको दाबीलाई चुनौती दिनेछ र नयाँ राजनीतिक ध्रुवीकरण जन्माउन सक्छ ।
यस विषयमा डा. भट्टराई पक्षबाट पनि हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन । तर, पछिल्लो समय उनको सक्रियता, विभिन्न राजनीतिक भेटघाट र वैचारिक हस्तक्षेपलाई सम्भावित राष्ट्रपति दौडसँग जोडेर हेरिन थालेको छ ।























