काठमाडौं– कर्णाली प्रदेशमा २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचन गठबन्धनको आधारमा लडिँदा नतिजा एकतर्फी देखियो ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा २०७४ मा एमाले–माओवादी एकताका कारण कांग्रेस शून्यमा सीमित भयो भने २०७९ मा कांग्रेस–माओवादी गठबन्धन हुँदा एमाले पत्तासाफ भयो ।
२०७४ मा एमालेले ६, माओवादीले ५ र एक स्वतन्त्र उम्मेदवारले जित्दा कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कासमेत पराजित भए ।
तर २०७९ मा माओवादी–एकीकृत समाजवादीसँगको तालमेलमा कांग्रेसले पुनरागमन गर्दै गठबन्धनले १२ मध्ये ११ सिट जित्यो ।
जुम्लामा मात्रै राप्रपाका ज्ञानेन्द्र शाही विजयी भए ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि संसद् विघटन भई फागुन २१ मा पुनः निर्वाचन हुँदैछ ।
यसपटक कुनै पनि दल गठबन्धनमा छैनन्, जसले अघिल्ला निर्वाचनमा गठबन्धनको बलमा जितेका नेताहरूको वास्तविक शक्ति परीक्षण हुने देखिएको छ ।
रुकुम–पश्चिममा पूर्वमाओवादी नेता जनार्दन शर्मा प्रचण्डबाट अलग भई नयाँ दलबाट उम्मेदवार बनेका छन् भने जाजरकोटमा शक्ति बस्नेत नेकपाबाट पुनः मैदानमा छन् ।
कालीकोटमा महेन्द्रबहादुर शाहीलाई विप्लव समूहका ‘प्रकाण्ड’ले चुनौती दिँदैछन् ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही र नेकपाका नरेश भण्डारीबीच प्रतिस्पर्धा हुने छ ।
गठबन्धनविहीन यो चुनाव कर्णालीको राजनीतिमा निर्णायक मोड बन्ने देखिएको छ ।


विश्व खबर 




















