images
images
  • साना र ठूला दलले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बने जेनजी

    चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् ।

    जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् ।

    तिनिहरुमा नेकपा (एमाले) र रास्वपाका एक/एक जना हुन भने बाँकी साना दलका र स्वतन्त्र उम्मेदवार का हुन् ।

    जेनजी आन्दोलनपछि नेतृत्वमा आएर राष्ट्रनिर्माणमा लाग्न युवा उत्साहित भएसँगै उम्मेदवारी परेको हो ।

    जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १९ उम्मेदवार छन् ।

    सोमध्ये पाँच जना ४० वर्ष मुनिका रहेका छन् । त्यस्तै, क्षेत्र नं २ मा २३ जनाले उमेदवारी दर्ता गराएकामा ४० वर्षमुनिका १२ जना रहेका छन् ।

    क्षेत्र नं ३ मा पनि २३ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जना ४० वर्ष मुनिका रहेका छन् ।

    निर्वाचन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा कम उमेरका उमेदवार प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास कामी छन् ।

    राप्ती नगरपालिका–९ का २५ वर्षीय कामी क्षेत्र नं १ का उम्मेदवार छन् । क्षेत्र नं १ मा दुई स्वतन्त्र उम्मेदवार २८ वर्षका सौरव कँडेल र ३० वर्षका सञ्जय रिजाल हुन् ।

    सोही क्षेत्रका नेपाल मजदुर किसान पार्टीका २९ वर्षीय अर्जुन प्रजा उम्मेदवार छन् । यस्तै जनता समाजवादी पार्टीका ३९ वर्षीय अजय ठाकुर उम्मेदवार बनेका छन् ।

    चितवन क्षेत्र नं २ मा ४० वर्षमुनिका १२ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेका अस्मिन घिमिरे ३८ वर्षीय छन् । मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट २८ वर्षका ऋषा गोले उम्मेदवार छन् । नेकपा (माओवादी)बाट ३८ वर्षीया दिर्शनाकुमारी शाही र आम जनता पार्टीका ४० वर्षीया देवीकुमारी मगर उम्मेदवार बनेकी छन् ।

    बत्तीस वर्षीया निर्मलाकुमारी ठाकुर जनमत पार्टीबाट उम्मेदवार बनेकी छन् । यस्तै ३४ वर्षका मिलन थापा मगरले श्रम संस्कृति पार्टीबाट उमेदवारी दर्ता गराएका छन् भने ३६ वर्षीय शोभावासु कला मजदुर किसान पार्टी र ३४ वर्षका सुवास महतो नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार छन् ।

    तीस वर्षका कृष्णप्रसाद चापागाईं, ३१ वर्षका प्रवनी सापकोटा, २९ वर्षका रवि कुमाल र ३७ वर्षका शंकुप्रसाद जैसी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । कार्यालयको तथ्यांकअनुसार क्षेत्र नं ३ मा ४० वर्षमुनिका आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    श्रम संस्कृति पार्टीका ३८ वर्षका तोजमान गुरूङ, नेकपा (माओवादी)का ३६ वर्षका डा. आशिकप्रसाद महतो, राष्ट्रिय नागरिक पार्टीका ३० वर्षका विजन गुरूङ, रास्वपाबाट ३१ वर्षीया सोविता गौतम, जनता समाजवादी पार्टीका ३८ वर्षका थमनसिंह सुनारले उम्मेदवारी दिएका छन् ।

    यस क्षेत्रमा ४० वर्षमुनिका दुई उम्मेदवार स्वतन्त्रबाट छन् । छत्तीस वर्षका कृष्णप्रसाद अधिकारी र ३७ वर्षका रोलबहादुर गुरूङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images