काठमाडौं– २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका दाबेदारसहित प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्म दर्जनौँ उम्मेदवारले आफैँलाई मतदान गर्न पाउने छैनन् ।
आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिर उम्मेदवारी दिएका कारण उनीहरू कानुनी व्यवस्थाअनुसार मतदानबाट वञ्चित हुने भएका हुन् ।
यसरी मतदान गर्न नपाउनेमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, रास्वपाका नेता बालेन्द्र शाह (बालेन) र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव छन् ।
उनीहरू सबै आफ्नो मतदाता नामावली रहेको क्षेत्रभन्दा फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
प्रधानमन्त्रीका दाबेदार ओली र बालेन झापा ५ बाट उम्मेदवार भए पनि ओलीको मतदाता नामावली भक्तपुर २ र बालेनको काठमाडौं २ मा रहेको छ ।
थापाको मतदाता नामावली काठमाडौं ४ मा रहेकाले सर्लाही ४ बाट उम्मेदवार बनेका उनले पनि आफैँलाई भोट हाल्न पाउने छैनन् ।
प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार भए पनि उनको नामावली चितवन ३ मा छ ।
यस्तै, रवि लामिछाने (चितवन २), उपेन्द्र यादव (सप्तरी ३), नारायणकाजी श्रेष्ठ (सर्लाही ३), प्रदीप पौडेल (काठमाडौं ५), स्वर्णिम वाग्ले (तनहुँ १), रविन्द्र मिश्र (काठमाडौं १), भानुभक्त ढकाल (तेह्रथुम) लगायतका नेता पनि मतदान गर्न नपाउने सूचीमा छन् ।
विभिन्न दलका अन्य दर्जनौँ उम्मेदवार पनि मतदाता नामावली र उम्मेदवारी क्षेत्र फरक परेकै कारण यसपटक आफैँलाई भोट हाल्नबाट वञ्चित हुनेछन् ।























