images
images
  • पुटिनसँग पैसा सकिएपछि युद्ध आफैँ सकिन्छ– जेलेन्स्की

    काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पैसा सकिएपछि युक्रेन युद्ध पनि समाप्त हुने बताएका छन् ।

    स्विट्जरल्यान्डको डाभोसमा बिहीबार आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले भने, “जब अमेरिकाले रुसी तेल ट्यांकरहरू रोक्न र तेल जफत गर्न सक्छ भने युरोपले किन गर्दैन ?” युरोपको तट हुँदै जाने यही तेलले युक्रेनविरुद्धको युद्धलाई खर्च जुटाइरहेको उनको भनाइ छ ।

    उनले भने, “यदि, पुटिनसँग पैसा बाँकी रहेन भने युरोपमा कुनै युद्ध बाँकी रहने छैन ।”

    जेलेन्स्कीले युरोप र अमेरिकामाथि रुसी मिसाइल बनाउने पार्टपूर्जाहरू बिक्री गर्न नरोकेको आरोप लगाए । “युरोप र अमेरिका लगभग चुप छ । पुटिन लगातार मिसाइल बनाइरहेका छन्,” उनले भने ।

    युरोपको आन्तरिक बहस र निर्णय प्रक्रियामा हुने ढिलाइको आलोचना गर्दै उनले भने, “युरोप देख्दा सुन्दर छ, तर यो अहिले छरिएको अवस्थामा छ, यो अझै साँचो शक्ति बन्न सकेको छैन ।”

    नेटोमाथि प्रश्न उठाउँदै जेलेन्स्कीले यो संगठन अमेरिकाले सहयोग गर्छ भन्ने भरोसामा मात्र टिकेको बताए । यदि, अमेरिका आएन भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले भने, “युरोपले आत्मरक्षा गर्न सिक्नुपर्छ । ग्रीनलन्डमा १४ वा ४० सैनिक पठाएर के हासिल हुन्छ ? यसले पुटिन, चीन र डेनमार्कलाई के सन्देश जान्छ ?”

    उनले युक्रेनसँग चिसो इलाकामा लड्ने वास्तविक अनुभव रहेको र युक्रेनले ग्रीनलन्डको रक्षा गर्न सक्ने भए पनि युक्रेन नेटोको सदस्य नरहेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images