काठमाडौं– जेनजी आन्दोलनले उठाएको गम्भीर प्रश्नको पृष्ठभूमिमा २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा चुनावका लागि दलहरूले गत मंगलबार उम्मेदवारी दर्ता गराएर मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् ।
नेपालका प्रायः सबै दलबाट उम्मेदवारी दिएर चुनावी अभियान नै सुरु भएसँगै देश पूर्ण रूपमा चुनावमा होमिएको छ । हरेक टोल, चोक–चौतारो र चियाका साना–ठुला पसलमा चुनावी बहस चर्कै स्वरमा हुन थालेको छ । जेनजी आन्दोलनको उपज भएकाले यो चुनावलाई पुराना पात्र र प्रवृत्तिविरुद्ध नयाँ पात्र र प्रवृत्तिका रूपमा हेर्न थालिएको छ ।
वर्षौंदेखिको कुशासन, भ्रष्टाचार र परिवारवादको विरोधमा भएको जेनजी आन्दोलनले विद्रोहको रूप मात्रै लिएन, वर्षौंदेखि सत्तामा हैकम जमाएर बसेकाहरूलाई क्षणभरमै सडकमा पुर्याइदियो ।
यस पटकको निर्वाचनमा युवाका ती एजेन्डा सबै दलले धेरथोर बोक्ने देखिन्छ । जेनजी आन्दोलनबारे फरक–फरक दृष्टिकोण बोकेर दलहरू चुनावमा जाँदै गर्दा भावी प्रधानमन्त्रीको उम्मेदवार सुरुमै घोषणा गरेसँगै यो चुनाव निकै रोचक बन्ने देखिएको छ ।
सरकारको नेतृत्वमा पुगेर जेनजी आन्दोलनको म्यान्डेट पूरा गर्ने रास्वपाको मूल एजेन्डा
२०७९ को चुनावबाट राष्ट्रिय राजनीतिमा दमदार इन्ट्री गरेको रास्वपाले स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँ महानगरको मेयर जितेका बालेन शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर एमाले अध्यक्ष ओलीकै विरुद्धमा चुनावी मैदानमा पठाएको छ ।
घोषणापत्रमै जेनजी आन्दोलनको स्वामित्व लिँदै माग पूरा गर्ने प्रतिबद्धता जनाउने भएको छ । वर्षौंदेखि जरा गाडेर बसेको कुशासन अन्त्य गर्न रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने रास्वपाको बुझाइ छ ।
रास्वपा नेताहरूका अनुसार सरकार परिवर्तन गरेसँगै भ्रष्टाचार अन्त्य र सुशासनका लागि कदमहरू स्वतः अघि बढ्नेछन् । त्यसका लागि राज्यका संयन्त्रहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर चल्न दिने घोषणा रास्वपाले गर्ने भएको छ ।
रास्वपाका अनुसार १ नम्बरको पार्टी बनाएर बालेन शाहको नेतृत्वमा सरकार बनाएर नयाँ युगको हुँकार गर्ने प्रमुख एजेन्डा हो । संविधानको सामयिक संशोधन, भ्रष्टाचार अन्त्य र सुशासनको साथमा शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र रोजगारीको क्षेत्रमा जनपक्षीय काम गर्ने घोषणासाथ आउने हो । मुलुकलाई १ दशकभित्र सम्मानजनक मध्यम आय भएको दक्षिण एसियाली मुलुक बनाउने घोषणा गर्ने योजना छ ।
आफू बदलिएको सन्देश लिएर चुनावमा जाँदै कांग्रेस
जेनजी आन्दोलनपछि पार्टीमा सशक्त विद्रोह गरेर पुस्तान्तरणको बहसलाई सार्थकता दिएको नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा चुनावी मैदानमा उतारेको छ ।
नेपाली कांग्रेस आफू बदलिएको सन्देश लिएर जनतामाझ जाँदै छ । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुनु र उनैलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुलाई नै कांग्रेसले आफ्नो नैतिक बल ठानेको छ ।
कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार कांग्रेसले घोषणापत्रमा सुशासन र जेनजी आन्दोलनको माग सम्बोधनको विषय समेट्ने तयारी गरेको छ । त्यसका लागि भ्रष्टाचार नियन्त्रण गर्ने राज्यका निकायहरूलाई स्वायत्त बनाउने, सुशासन कायम गराउन सरकारले गर्नुपर्ने नीतिगत, व्यावहारिक र प्राविधिक विषय समेटेर घोषणापत्र बनाउने उनको भनाइ छ ।
भ्रष्टाचारप्रति कांग्रेस निर्मम भएको जनाउन भ्रष्टाचारजन्य गतिविधि गर्नेलाई पार्टीले प्रश्रय नदिने कुरा पनि घोषणा गरेर जाने तयारी कांग्रेसको छ ।
एमालेको प्रमुख एजेन्डा लोकतन्त्र र संविधानको रक्षा
यस्तै, जेनजी आन्दोलनलाई ‘विदेशीको इसारामा भएको आतंक’को संज्ञा दिएको नेकपा एमालेले पनि अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावमा होमिएको छ ।
एमालेले लोकतन्त्र संकटमा रहेको र संविधान घाइते अवस्थामा रहेको ठहर गरेको छ । जनेजी आन्दोलनलाई स्विकार्न नसकेको एमालेले आन्दोलनपछि अराजकता र राजनीतिक स्थायित्वमा प्रभाव पारेको भन्दै लोकतन्त्रलाई लयमा फर्काउनु र संविधानको रक्षा गर्ने कुरा नै आफूहरूको प्रमुख एजेन्डा भएको बताएको छ ।
एमाले नेता तथा घोषणापत्र मस्यौदा समितिका सदस्य प्रदीप ज्ञवालीले संविधानको रक्षा नै प्रमुख कुरा भएको बताए । उनका अनुसार लोकतन्त्रलाई लयमा फर्काउनु, संविधानको रक्षा गर्नु र देशको राष्ट्रिय स्वाभिमानलाई सुदृढ गर्नु नै मुख्य एजेन्डा हो । त्यसका अलावा युवाहरूको व्यक्तित्व विकास, सीप विकास र रोजगारीको विषयमा पनि समेट्ने तयारीमा छ ।
एमाले २०६० सालपछिका उच्च पदस्थहरूको सम्पत्ति छानबिनको पक्षमा रहेको ज्ञवालीले बताए । २०४७ सालदेखि २०५९ सालसम्मका उच्च पदस्थको सम्पत्ति छानबिन भैरव लम्साल नेतृत्वको आयोगले गरिसकेको भन्दै उनले विभिन्न चर्चित भ्रष्टाचार काण्डको गहिराइमा गएर छानबिन गर्नुपर्ने प्रस्ताव एमालेको रहने बताए ।
सुशासनसँगै निर्वाचन प्रणाली फेर्ने नेकपाको मुख्य एजेन्डा
भावी प्रधानमन्त्रीको औपचारिक घोषणा नगरे पनि डेढ दर्जनभन्दा बढी पार्टी भेला पारेर बनेको नेपाली कम्युनिस्ट पार्टी पनि संयोजक पुष्पकमल दाहाल प्रचण्डकै अनुहार देखाएर चुनावी मैदानमा होमिएको छ ।
नेकपाले पनि आफ्नो प्रमुख एजेन्डा सुशासन र भ्रष्टाचार नियन्त्रण नै रहने बताएको छ । कठोरतापूर्वक भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै आयोग बनाउने प्रस्ताव नेकपाको रहने नेताहरूले बताएका छन् ।
सुशासन कायम हुन नसक्नुमा निर्वाचन प्रणाली रहेको भन्दै नेकपाका नेता लीलामणि पोखरेलले निर्वाचन प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्ने घोषणासहित पार्टी निर्वाचनमा होमिने बताए ।
सांसदहरूलाई मन्त्री बनाउन रोक्दै विज्ञ मन्त्री बनाउने कुरा पनि घोषणापत्रमै उल्लेख गर्ने उनको भनाइ छ । असमान सन्धि, सम्झौताका कारण राष्ट्रको स्वाधीनता खतरामा पर्ने भन्दै उनले त्यसविरुद्ध सबै एकताबद्ध हुनुपर्ने प्रस्ताव पनि आफूहरूको रहने उल्लेख गरे । -पत्रपत्रिकाबाट























