images
images
  • को हुन् प्रचण्डसँग भिड्न चुनावी मैदानमा उत्रिएका २८ वर्षीय सन्दीप पुन ?

    काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि रूकुम पूर्वमा विभिन्न १२ राजनीतिक दलले उम्मेदवारी दर्ता गरिसकेका छन्।

    तीमध्ये एक हुन् भूमे गाउँपालिका–९ चुनवाङका २८ वर्षीय सन्दीप पुन। जसले प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका छन्।

    गत कात्तिकमा मात्रै अलग पार्टी गठन गरेका रूकुम पश्चिमका नेता पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र गोरखाका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीपले उम्मेदवारी दर्ता गरी मैदानमा खडा छन्।

    २८ वर्षीय सन्दीप ७१ वर्षीय पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सँग भिड्दै छन्।

    को हुन् सन्दीप ?
    २०५१ फागुन १ गतेदेखि प्रचण्डकै नेतृत्वमा नेपालमा नेकपा (माओवादी) को १० वर्षे ‘सशस्त्र जनयुद्ध’ भएको थियो। ‘सर्वहारा वर्गको मुक्ति’ का नाममा त्यो युद्ध चलाइएको थियो। प्रचण्ड सर्वोच्च कमाण्डर रहेको त्यो ‘युद्ध’ कै दौरान सन्दीपका बुवाआमा पनि लामबद्ध थिए।

    सन्दीपका बुवा सूर्यप्रकाश पुन र परम्परा गौतमका बीचमा पार्टीका नेताहरूले नै २०५३ जेठ २५ मा ‘जनवादी विवाह’ गराइदिएका थिए। सन्दीप १३ महिनाको भइसकेपछि परम्पराले माइतीको जिम्मामा छोडेर प्रचण्डले हाँकेको ‘युद्ध’ मै होमिएकी थिइन्।

    तर, दुर्भाग्य सन्दीप ३ वर्षको छँदा २०५९ जेठ १४ मा बझाङमा उनका आमाबुवाको हत्या भयो। त्यसपछि मामाघरकाले सन्दीपलाई भारतमा लगेर पढाए। केही समय त्यहाँ बसेर उनलाई फेरि नेपाल ल्याइयो। कहिले कपिलवस्तु, कहिले दाङ, कहिले नेपालगन्ज हुँदै विभिन्न ठाउँबाट अध्ययन गर्दै गए।नेपालगञ्जबाटै आफूले कक्षा ३ देखि एलएलसीसम्मको पढाइ पूरा गरेको उनले बताए।

    त्यसपछि आफू उच्च शिक्षाको लागि काठमाडौंको पुगेको र ह्वाइटहाउस कलेजबाट बायोटेक्नोलोजीबाट बिए उत्तीर्ण गरेको उनले बताए।

    उनको राजनीतिक जीवन पनि त्यही कलेजबाट सुरू भएको हो। कलेजको इकाइ समितिबाट विद्यार्थी राजनीतिमा लागेका सन्दीप २०७४ सालमा इकाइ समितिको अध्यक्ष बनिसकेका थिए।

    उनी पूर्वाञ्चल विश्वविद्यालयको राष्ट्रिय समितिको सचिव हुँदै गत वर्ष फागुनमा भएको नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बनेका थिए।

    गत कात्तिकमा मात्रै विभिन्न पार्टीसँग अध्यक्ष प्रचण्डले पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै सहमहामन्त्री जनार्दन शर्मा (प्रभाकर) माओवादी केन्द्र छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका थिए।

    यतिखेर प्रचण्ड सामु फागुन २१ को निर्वाचनका लागि भिड्न उभिएकामध्ये सन्दीप पुन पनि जनार्दनकै पार्टी रोजेका थिए। सन्दीप प्रलोपाको केन्द्रीय सदस्य र उक्त पार्टीको विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष पनि हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images