काठमाडौं– पूर्वमन्त्री धर्मनाथप्रसाद साह सिरहा क्षेत्र नं. ४ का उम्मेदवार हुन् । साहसहित ५ पूर्वमन्त्री प्रतिस्पर्धामा छन् ।
२०७८ सालमा माधवकुमार नेपाल नेतृत्वमा एमाले विभाजन गरी साह नेकपा एसमा सामेल भएका थिए । उनी उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष बनेका थिए । पहिलो संविधानसभा सदस्य भएका साह एमालेको तर्फबाट सामान्य प्रशासनमन्त्रीसमेत भइसकेका छन् ।
माओवादी केन्द्रसहितको एकतामा सामेल भएर नेकपा बन्दापनि साह एकता प्रक्रियाको कित्तामा उभिए । सिरहा ४ बाटै उम्मेदवार बनाउने प्रारम्भिक सूचीमा नाम भएपनि पूर्वमाओवादी केन्द्रका नेता अजशंकर नायकले टिकट लिएपछि उनी बिलखबन्दमा परे ।
उनका अनुसार टिकट नभएपछि के गर्ने भनेर साथीहरूसँग कुरा गरिरहेको बेला केपी ओलीले फोन गरेर टिकटको अफर दिएका थिए ।
उम्मेदवारी दर्ताको अघिल्लो दिन, माघ ५ गते बेलुकी उनको मोबाइलमा ओलीको फोनको घण्टी बजेको थियो । ओलीले सोधे, ‘टिकट पाउनुभयो त ?’ उनले भने, ‘छैन कमरेड, अर्कैले पायो ।’ ओलीले भने, ‘अब आफ्नै पार्टीबाट उठ्नुस् ।’ साहसँग जवाफ थिएन । एकछिन अक्मकिए । फेरि ओलीले भने, ‘के गर्नुहुन्छ ? उठ्ने भए म टिकट पठाइदिन्छु ।’ अनि, साहले भने, ‘बहुत, बहुत धन्यवाद कमरेड ! म आभारी हुन्छु ।’
साहका अनुसार ४ वर्षदेखि छुट्टिएका एमाले साथीहरुसँग अंकमाल गर्दै उम्मेदवारी दर्ताको जुलुसमा सरिक भए । त्यो एकदम खुशीको क्षण थियो ।























