काठमाडौं– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार, शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
उक्त बैठकमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने प्रस्ताव अगाडि ल्याइनेछ ।
पार्टीले भावी प्रधानमन्त्री घोषणा गरेपछि थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम बनाएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गरिसकेका छन् ।
उनको तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपामा बस्न लागेको हो ।
पार्टीभित्रको आन्तरिक विवादका कारण पहिला नवनिर्वाचित कार्यसमितिले बाहिरै बैठक राख्दै आएको थियो ।
विशेष महाविधिले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई विघटन गर्दै पुस ३० गते गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको थियो ।























