images
images
  • हत्या हुनसक्ने भयले इरानका सर्वोच्च नेता खामेनी भूमिगत

    काठमाडौं– इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी फेरि भूमिगत भएका छन् । अमेरिकाबाट निरन्तर रूपमा आइरहेका धम्कीपछि आफूमाथि आक्रमण हुनसक्ने वा हत्या हुनसक्ने आशंकाबीच उनी हाल सुरक्षित स्थानमा लुकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    पछिल्ला सात महिनाभित्र खामेनी दोस्रोपटक भूमिगत भएको यो पहिलो घटना होइन । गत महिनादेखि इरानभर सरकारविरोधी प्रदर्शन चर्किँदै आएको छ ।

    देशव्यापी रूपमा फैलिएको आन्दोलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेर समर्थन गरिरहेका छन् । उनले प्रदर्शनकारीमाथि दमन भए इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी दिँदै आएका छन् भने सरकारी अड्डाहरू कब्जा गर्न समेत प्रदर्शनकारीलाई उक्साइरहेका छन् ।

    यसैबीच, इरानी सरकारले देशमा संकटकाल घोषणा गर्दै प्रदर्शनकारीमाथि व्यापक दमन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानवअधिकार संस्थाहरूले हजारौँ प्रदर्शनकारी मारिएको दाबी गरिरहेका छन् । ट्रम्पको कडा चेतावनीपछि इरानी सरकारले केही प्रदर्शनकारीलाई फाँसी दिने निर्णयबाट पछि हटेको बताइएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले खामेनेईको अवस्था पनि यसअघि मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीजस्तै हुन सक्ने चेतावनी दिएका थिए । सन् २०२० मा बगदाद विमानस्थलमा ट्रम्पकै आदेशमा गरिएको अमेरिकी ड्रोन आक्रमणमा सुलेमानीको हत्या गरिएको थियो ।

    त्यसअघि सन् २०१९ मा उत्तरी सिरियामा अमेरिकी सेनाको कारबाहीमा आइएसआइएसका नेता अबु बक्र अल–बगदादी मारिएका थिए । गत वर्ष मात्र लेबनानको बेरुतमा अर्का प्रभावशाली नेता हसन नसरल्लाहको पनि हत्या भएको थियो ।

    पछिल्ला ३६ वर्षदेखि इरानको सत्ता सम्हाल्दै आएका खामेनेई पश्चिमा राष्ट्रहरूको कट्टर विरोधी नेताका रूपमा चिनिन्छन् । हालै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएपछि इरानी नेतृत्वमाथि थप दबाब बढेको विश्लेषण गरिएको छ । यही पृष्ठभूमिमा खामेनेई भूमिगत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images