काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्वाधिक चासोको रूपमा हेरिएको क्षेत्र हो, झापा–५ ।
निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका दुई पात्र केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) एकै निर्वाचन क्षेत्रबाट भिडन्तमा उत्रिएपछि झापा–५ सर्वाधिक चासोको क्षेत्र बनेको हो । ओलीविरुद्ध बालेनको उम्मेदवारसँगै झापा–५ मा कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।
उम्मेदवारी मनोनयन दर्ता गरेको भोलिपल्टदेखि नै ओली र बालेन दुवै जना चुनाव जित्ने रणनीतिका साथ सक्रिय भएका छन् । मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीति अनुसार बुधवार बिहानैदेखि दुवै नेताले स्थानीय मतदातासँग भेटघाट र छलफललाई तीव्रता दिएका हुन् । प्रधानमन्त्रीको उम्मेदवार भएकै कारणले ओली र शाह दुवैका लागि यो निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ ।
युवा फकाउँदै बालेन
चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर बालेनले भेटघाट गरिरहेका छन् । झापाका लागि नयाँ अनुहार भएपनि बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्मको घुइँचो लागेको छ ।
चुनाव जित्ने रणनीति बनाइरहेका बालेनको ध्यान रास्वपाका नेता कार्यकर्तासँगको भेटघाट बाहेक अन्य पार्टीका युवा नेता कार्यकर्तामाथि पनि देखिएको छ । विशेष त कांग्रेस र एमालेका युवा नेताहरूलाई फकाउने रणनीति बालेनको देखिएको छ ।
बुधबारमात्रै एमाले र कांग्रेसका केही स्थानीय नेता कार्यकर्ताले बालेनलाई समर्थन गर्ने भन्दै पार्टी छाडेको घोषणा नै गरेका छन् । कांग्रेसका दमक सभापति प्रकाश प्रसाईं र कमल गाउँपालिकाका सचिव महेन्द्र बुढाथोकीले बालेनलाई समर्थन गर्न भन्दै बुधवार रास्वपामा प्रवेश गरेका हुन् ।
यस्तै ओलीको निर्वाचन क्षेत्रका केही युवाहरू पनि बालेनलाई चुनाव जिताउन भन्दै रास्वपा प्रवेश गरेका छन् । नेकपा (एमाले) निकट युवा संघका दमक नगर कमिटी अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ पनि रास्वपा प्रवेश गरेका हुन् ।
बालेन झापामा चुनावी माहौल बनाउन अबको एक साता निरन्तर रहने बताईएको छ । युवामाझ लोकप्रिय रहेका बालेन आफ्नो निर्वाचन क्षेत्रका युवाहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागिरहँदा ओलीले पनि सक्रियता बढाएका छन् ।
आफूले गरेको विकास देखाउँदै ओली
मंगलबार उम्मेदवारी दर्तासँगै स्थानीय नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त ओलीले बुधवार पनि सोही क्रमलाई निरन्तरता दिएका छन् । शुक्रबारसम्म झापामै बस्ने योजनामा रहेका ओलीले स्थानीय मतदाता र कार्यकर्तासँगको भेटमा आफूले झापामा गरेका विकासका काम, राष्ट्रियताप्रति एमालेले लिएको नीति तथा युवाहरूको भविष्यका बारेमा चर्चा गर्ने गरेका छन् ।
त्यसक्रममा ओलीले दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सवैका आँखा अघि प्रस्ट रहेकाले जनमत आफ्नो विपक्षमा नजाने विश्वास व्यक्त गरेका थिए ।























