images
images
  • गगनको बदला टिकट बाँडफाँडमा : १२० सिटमा आफ्नै उम्मेदवार उठाए, देउवा र कोइरालालाई २७ प्रतिशतमा सीमित

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापाले दुई तिहाइभन्दा बढी सिटमा आफ्नो पक्षका उम्मेदवार उठाएका छन्।

    पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापाले शेरबहादुर देउवा समूहलाई १९ र शेखर कोइराला समूहलाई ८ प्रतिशतमा सीमित पारिदिएका छन्।

    सभापति थापाले १२० सिटमा आफूनिकटलाई उम्मेदवार बनाउँदा देउवा पक्षका ३२ र कोइराला पक्षबाट १३ जना मात्र चुनावी मैदानमा छन्। थापा पक्षको हिस्सा ७३, देउवा पक्षको १९ र कोइराला पक्षको ८ प्रतिशत उम्मेदवार रहेका छन्।

    प्रतिनिधिसभाको समानुपातिकतर्फ र माघ ११ हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा देउवा र कोइरालाबाट पेलिएका सभापति थापाले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा बदला लिएको देखिन्छ।

    फागुन २१ निर्वाचनमा कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अगाडि सारिएका थापाले समानुपातिकतर्फका सांसदको हिसाब–किताब मिलाउन प्रत्यक्षमा आफूनिकट दुई तिहाइ उम्मेदवार चुनावी मैदानमा पठाएको बुझ्न गाह्रो छैन।

    यस्तो छ उम्मेदवारको प्रदेशगत हिसाब
    -कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १७ सिटमा थापा पक्षका उम्मेदवार बनेका छन्। देउवा पक्षले ५ र कोइराला पक्षले ६ सिटमा मात्र टिकट पाएको छ।

    -मधेस प्रदेश प्रदेशका ३२ सिटमा सभापति थापाले २१ सिटमा आफू पक्षीय उम्मेदवार उठाएका छन्। चुनाव लड्न सर्लाही ४ पुगेका थापाले देउवा र कोइराला निकटलाई टिकटमा कसेको देखिन्नछ। मधेसमा देउवा पक्षका ९ र कोइराला पक्षका २ जना उम्मेदवार छन्।

    -बागमती प्रदेशमा सभापति थापा पक्षको एकलौटी नै देखिन्छ। ३३ मध्ये २९ सिटमा थापा पक्षका उम्मेदवार बन्दा देउवा पक्षले ४ सिटमा मात्र टिकट पाएको अवस्था छ।

    -गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा थापा पक्षले १४ सिटमा उम्मेदवार खडा गर्दा देउवा पक्षले ४ जना उम्मेदवार मात्र पाएको छ।

    -लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा १७ ठाउँमा थापानिकटले टिकट पाएर उम्मेदवारी दर्ता गराएका छन्। यस्तै देउवा पक्षका ४ र कोइराला पक्षका ५ जना मात्र उम्मेदवार बनेका छन्।

    -कर्णाली प्रदेशका १२ सिटमा थापा पक्षका ११ जनाले टिकट पाएका छन् भने देउवा पक्षका १ जना मात्र छन्।

    -सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये थापा पक्षबाट ११ र देउवा पक्षबाट ५ सिटमा उम्मेदवार बनेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images