काठमाडौं– स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. संगीता मिश्रालाई विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पुर्पक्षका लागि पछि ठहरेबमोजिम हुने गरी धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको ठहर गर्दै तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगका अनुसार ठेक्का सम्झौताको सर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामग्री नआउँदै झुट्टा बिल–बिजक, गलत प्रतिवेदन तयार गरी भुक्तानी गरिएको दाबी गरिएको छ । सो प्रकरणमा आयोगले करिब १४ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको अभियोगपत्रमा उल्लेख छ ।























