images
images
  • दक्षिण कोरियाली ७६ वर्षीय पूर्वप्रधानमन्त्री हानलाई सैन्य शासनको आरोपमा २३ वर्ष जेल सजाय

    सयोल– दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ ।

    सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गरेको ठहर’ गरे । अदालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोकेको हो ।

    ७६ वर्षीय अनुभवी टेक्नोक्रेट हानलाई फैसला सुनाइएपछि तुरुन्तै जेलमा उपस्थित हुन आदेश दिइएको छ । न्यायाधीश लीका अनुसार तत्कालीन राष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा जारी गरेको मार्सल ल डिक्री ‘संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य’ का साथ ल्याइएको थियो र त्यसलाई विद्रोहसरह मान्नुपर्ने अवस्था देखिएको छ ।

    युनको आश्चर्यजनक मार्सल ल घोषणापछि विपक्षी नेतृत्वको संसद्ले त्यसलाई भिटो गर्नुअघि राष्ट्रिय सभा र राष्ट्रिय निर्वाचन आयोगमा सशस्त्र सेना तैनाथ गरिएको थियो । यस घटनाक्रमपछि युनलाई अप्रिलमा संवैधानिक अदालतले महाभियोगमार्फत पदबाट हटाएको थियो र दुई महिनापछि उपचुनाव प्रक्रिया सुरु भएको थियो ।

    हान पनि युनसहित ती पूर्व उच्च अधिकारीहरूमध्ये पर्नुहुन्छ, जसले मार्सल ल प्रयासमा खेलेको भूमिकाका कारण मुद्दा भोगिरहेका छन् । न्यायाधीश लीले टेलिभिजनमार्फत फैसला सुनाउँदै हानले ‘युन र अन्यको विद्रोही कार्यमा कम्तीमा पनि औपचारिक रूपमा प्रक्रियागत आवश्यकताको पालना सुनिश्चित गरेर महत्त्वपूर्ण भूमिका खेलेको’ ठहर गरे ।

    अदालतका अनुसार हानले यस कदमप्रति युनसँग चिन्ता व्यक्त गरेको भए पनि उनले स्पष्ट रूपमा विरोध जनाउन वा अन्य मन्त्रीहरूलाई यसबाट रोक्न आग्रह गर्न असफल भएको थियो । मुद्दाको सुनुवाइका क्रममा हानले आफूले कहिल्यै मार्सल ल घोषणालाई समर्थन वा सहयोग नगरेको दाबी गर्दै कुनै पनि गलत कार्यमा संलग्न नभएको बताएका थिए ।

    अप्रिलमा युन पदबाट हटाइएपछि हान कार्यवाहक राष्ट्रपतिको भूमिकामा पुगेका थिए र एक समय आकस्मिक चुनावमा बलियो रूढीवादी दावेदारका रूपमा पनि हेरिएको थियो । तर, मे महिनामा राष्ट्रपतिको उम्मेदवारी दिने प्रयासका क्रममा युनको दलले उहाँलाई आधिकारिक उम्मेदवार नबनाएपछि, उनको राजनीतिक अभियान चाँडै कमजोर बनेको थियो । –एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images