काठमाडौं– साउदी अरेबियाले आफ्ना नागरिकलाई उच्च पद र विशेषज्ञ क्षेत्रमा प्राथमिकता दिने ‘साउदीकरण’ नीति कडाइका साथ लागू गरेपछि नेपालीसहितका आप्रवासी श्रमिकको रोजगारी संकटमा परेको छ ।
कम्पनीहरूले अब उच्च तह र प्राविधिक क्षेत्रमा कम्तिमा ३०–४६ प्रतिशत साउदी नागरिक राख्नुपर्ने बाध्यता लागू गरेका छन् ।
नेपाली इन्जिनियर रमण शाहले भने, ८ वर्ष काम गरेको कम्पनीले अब मलाई राख्न सक्दैन भनी जानकारी दिएको छ । कम्पनीले अनिवार्य रूपमा ३० प्रतिशत साउदी इन्जिनियर राख्नुपर्ने छ ।
प्राविधिक मात्र नभई प्रशासनिक, स्वास्थ्य, पर्यटन र आतिथ्य क्षेत्रमा पनि साउदीकरण नीति लागू गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा ८० प्रतिशतसम्म साउदी नागरिक राख्नुपर्ने छ भने फार्मेसी, रेडियोलोजी, दन्तचिकित्सा र मेडिकल ल्याबमा पनि उच्च अनुपातमा साउदी नागरिक अनिवार्य गरिएको छ ।
रोजगार विज्ञ युवराज वस्नेतका अनुसार, साउदीकरण नीतिले आफ्ना नागरिकलाई प्राथमिकता दिएको छ । अब विदेशी श्रमिकलाई निश्चित पेशा र क्षेत्रमा मात्रै अवसर मिल्नेछ ।
साउदीले सीप प्रमाणीकरण भएका मात्र श्रमिक लैजाने नीति पनि अघि सारेको छ ।
नेपालबाट वार्षिक ८० हजार–१ लाखसम्म श्रमिक साउदी पठाइन्छ, र आगामी श्रम सम्झौता सामान्य श्रमिकमा केन्द्रित रहनेछ ।























