काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार विमान एयर फोर्स वन मंगलबार साँझ स्विट्जरल्यान्डतर्फ उडेको करिब एक घण्टापछि पुनः जोइन्ट बेस एन्ड्रुज फर्किएको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार उडानपछि विमानमा विद्युतसम्बन्धी समस्या देखिएपछि सावधानीका रूपमा फर्किने निर्णय गरिएको हो ।
विमानमा रहेका एक पत्रकारका अनुसार उडानको केही समयपछि प्रेस क्याबिनको बत्ती अचानक निभेको थियो, तर तत्काल कुनै आधिकारिक जानकारी दिइएको थिएन ।
करिब आधा घण्टा उडान भइसकेपछि मात्रै विमान फर्किने सूचना पत्रकारहरूलाई दिइएको थियो ।
त्यसपछि राष्ट्रपति ट्रम्प अर्को विमान एयर फोर्स सी–३२ मा सवार भई मध्यरातपछि दाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)का लागि प्रस्थान गरे ।
एयर फोर्स सी–३२ सामान्यतया राष्ट्रपति द्वारा साना विमानस्थलहरूमा हुने घरेलु भ्रमणका क्रममा प्रयोग गरिने विमान हो ।
हाल प्रयोगमा रहेका दुईवटा एयर फोर्स वन विमान करिब चार दशकदेखि सञ्चालनमा छन् ।
बोइङ कम्पनीले नयाँ विमान निर्माण गरिरहेको भए पनि सो परियोजना पटक–पटक ढिलाइमा परेको छ ।
यी विमानहरूमा राष्ट्रपतिको सुरक्षाका लागि विकिरण प्रतिरोधी प्रणाली, एन्टि–मिसाइल प्रविधि तथा विश्वको जुनसुकै स्थानबाट सैन्य सम्पर्क कायम राख्न सक्ने उन्नत सञ्चार प्रणाली जडान गरिएको छ ।
गत वर्ष कतारको शासक परिवारले ट्रम्पलाई विलासी बोइङ ७४७–८ जम्बो जेट उपहार दिएको थियो, जसलाई एयर फोर्स वन फ्लीटमा समावेश गर्ने तयारी भइरहेको छ ।
तर, सुरक्षा मापदण्ड पूरा गर्न सो विमान हाल पुनः संरचनाको प्रक्रियामा छ ।


विश्व खबर 



















