images
images
  • यी हुन् अवसरवादी नेताहरू, जसले चुनावैपिच्छे फेर्छन् दल

    काठमाडौं– हरेक निर्वाचनमा उम्मेदवार बन्ने लोभले केही चर्चित नेताहरूलाई पटक–पटक दल परिवर्तन गर्न प्रेरित गरेको देखिन्छ ।

    आफ्नै पार्टीको विचार, सिद्धान्त र जनतासँगको प्रतिबद्धता बिर्सेर जहाँ टिकट पाइन्छ त्यहीँ पुग्ने प्रवृत्ति नेपाली राजनीतिमा झनै बलियो बन्दै गएको छ ।

    टिकट नपाउने वा हार्ने आकलन भएपछि दल फेर्ने, सस्ता आश्वासन बाँड्दै मतदाता फकाउने र अवसरअनुकूल बोली बदल्ने व्यवहारले मतदाता नै दिक्क बन्न थालेका छन् ।

    २०८२ फागुन २१ को निर्वाचनका लागि मनोनयन दर्तासँगै यो प्रवृत्ति फेरि दोहोरिएको छ ।

    एमाले, कांग्रेस, रास्वपा लगायत विभिन्न दलमा प्रवेश गरेर प्रभावशाली नेताहरूले टिकट हात पारेका छन् भने कतिपयको टिकट विवादकै कारण खोसिएको छ ।

    एक चुनावमा एउटा दल, अर्को चुनावमा अर्को दलबाट उम्मेदवार बन्ने क्रम यसपटक पनि व्यापक देखियो ।

    राजनीतिक विश्लेषक ईन्द्र अधिकारीका अनुसार, विचार र सिद्धान्तभन्दा निजी स्वार्थ हाबी हुँदा राजनीति सेवा होइन, पेसा जस्तो बनेको छ ।

    जहाँ अवसर देखिन्छ, त्यहीँ हाम फाल्ने चरम अवसरवाद नै दल फेर्ने संस्कृतिको मूल कारण भएको उनी बताउँछन् ।

    यसले न जनताको भावना कदर गर्छ, न राजनीतिलाई स्वस्थ बनाउँछ, बरु लोकतान्त्रिक अभ्यासमै गम्भीर प्रश्न खडा गर्छ ।

    पार्टी फेरेर टिकट हात पार्ने नेता

    आगामी निर्वाचनमा यसपटक पनि पार्टी फेरेर टिकट हात पार्ने नेताहरूको सूची लामै छ । चुनाव नजिकिँदै जाँदा दल परिवर्तन गर्ने र तत्कालै उम्मेदवारी पक्का गर्ने प्रवृत्तिले राजनीतिक वृत्तमा व्यापक आलोचना निम्त्याएको छ ।

    बाँके–२ मा अशोक राई नेतृत्वको पार्टी छोडेर नेकपा (एमाले) प्रवेश गरेका मोहम्मद इस्तियाक राईले टिकट पाएपछि विवाद चर्किएको छ । पार्टी प्रवेशसँगै उम्मेदवार बनेको भन्दै एमालेभित्रै असन्तोष देखिएको छ ।

    रसुवामा राप्रपा, माओवादी, नयाँ शक्ति हुँदै कांग्रेसबाट एमाले प्रवेश गरेका प्रेमबहादुर तामाङले टिकट पाएका छन् । जिल्लाको एकमात्र निर्वाचन क्षेत्रमा एमालेका पुराना नेताहरूलाई पछि पार्दै तामाङ उम्मेदवार बनेका हुन् । रमाइलो संयोग के छ भने उनी अहिलेसम्म ‘सूर्य’ चिन्हमा मतदान नगरेको दाबी उनका निकटस्थहरूले नै गर्छन् ।

    लामो समय कांग्रेस राजनीति गरेका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सर्लाही–४ मा उम्मेदवार बनेका छन् । अघिल्लो चुनावमा कांग्रेस छोडेर स्वतन्त्र सांसद बनेका सिंहले आफूलाई बीपी र गिरिजाजस्तै निष्ठावान् बताउँदै रास्वपाबाट उम्मेदवारी दिएका हुन् ।

    कपिलवस्तुका उद्योगपति वीरेन्द्रप्रसाद कनौडियाले एमाले प्रवेश गरेको २४ घण्टामै टिकट पाएका छन् । यस निर्णयलाई लिएर एमालेभित्र तीव्र आलोचना भइरहेको छ ।

    पर्सामा तत्कालीन माओवादी केन्द्रबाट मधेस प्रदेश सभा सदस्य रहेका रहबर अन्सारी रास्वपा प्रवेश गरी बारा–४ बाट उम्मेदवार बनेका छन् । उम्मेदवार बन्नकै लागि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।

    पूर्वमन्त्री प्रदीप यादव पनि पार्टी फेरेर टिकट हात पार्ने नेतामध्ये पर्छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई सातामै शीर्ष नेताहरू एमाले प्रवेश गरेसँगै यादवलाई पर्सा–१ बाट उम्मेदवार बनाइएको छ ।

    यसैबीच, मनोनयनको अघिल्लो दिन कांग्रेस छोडेर एमाले प्रवेश गरेका अब्दुल हुसेन अन्सारीलाई सुरुमा सुनसरी–४ को टिकट दिइए पनि जिल्ला नेताहरूको विरोधपछि केन्द्रले अन्ततः उनको टिकट रद्द गरेको छ । अब सो क्षेत्रमा जगदीश कुसियत उम्मेदवार बनेका छन् ।

    रौतहट–१ मा भने सद्भावना पार्टी कांग्रेसमा विलय गराएका पूर्वमन्त्री अनिल झालाई कांग्रेसले उम्मेदवार बनाएको छ । यसअघि झा सद्भावना पार्टीका अध्यक्ष थिए ।

    कांग्रेस परित्यागको घोषणा गरेका सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तेजबहादुर चन्दले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दलगत राजनीति त्यागेर स्वतन्त्र रूपमा अघि बढ्ने उनको घोषणा छ ।

    रूपन्देही–४ मा कांग्रेसका पूर्व सांसद प्रमोदकुमार यादव एमाले प्रवेश गर्दै उम्मेदवार बनेका छन् । २०७४ मा कांग्रेसबाट निर्वाचित यादव २०७९ मा पराजित भएपछि यसपटक एमालेको टिकट लिएर मैदानमा उत्रिएका हुन् ।

    पार्टी प्रवेश गरेर टिकट लिनेहरू मात्र होइन, एमाले छोडेर अन्य दलबाट उम्मेदवारी दिने पनि छन् । एमालेका पूर्व सांसद एवं केन्द्रीय सदस्य बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीबाट कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

    यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । हरेक चुनावमा दोहोरिने पार्टी फेरबदल, टिकट सुनिश्चित गरेर दल प्रवेश गर्ने र त्यसबाट उत्पन्न घात–अन्तर्घातको राजनीति यसपटक पनि दोहोरिएको छ । चुनावी राजनीति अझै पनि सिद्धान्तभन्दा अवसरवादतर्फ झुकेको यथार्थले मतदातालाई प्रश्न सोध्न बाध्य बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images