काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ सबैको चासोको क्षेत्र बनेको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यसै पनि धेरैका लागि यो क्षेत्र चासोको थलो थियो नै। यसपटक यो चासो चुल्याउने काम बालेन शाहले गरेका छन्।
रास्वपाबाट चुनाव लड्न बालेनले झापा–५ को टिकट पाएसँगै नेपाली राजनीतिका स्थापित नेता ओली र काठमाडौंका पूर्वमेयर बालेन शाहबीच चुनावी भिडन्त हुने पक्का भएको छ।
एमाले अध्यक्ष ओली सोमबार बिर्तामोडमा पार्टी कार्यक्रममा सहभागी भई दमक आइपुगेका उनले पत्रकार सम्मेलनमा केही बेर बोले। त्यस क्रममा उनले बालेनलाई ‘यहाँ कसैले नचिन्ने’ भन्दै उडाए।
झ्याप्प दाह्री पालेका आफ्नै कार्यकर्तातिर इशारा गर्दै ओलीले भने, ‘मैले सुन्दैछु, अहिले यस्तो दाह्री पालेको कोही देख्नै हुन्न यहाँ, तपाईं बालेन शाह हो भनेर सोध्न थालेका छन् रे।’
विपक्षीहरूलाई व्यंग्यवाण कस्न माहिर ओलीले बालेनलाई यसो भने पनि झापा–५ मा उनीप्रति ठूलो चासो प्रकट भइरहेको यहाँका सर्वसाधारणको कुराले दर्शाउँछ।
झापा–५ परम्परागत रूपमा एमालेको बलियो किल्ला हो। यही क्षेत्रबाट ओलीले २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ का निर्वाचन जितेर ६ पटक प्रतिनिधित्व गरिसकेका छन्।
२०६४ मा भने उनी माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए। २०७९ मा त उनले देशैभरि सबभन्दा धेरै मतको कीर्तिमान राखेका थिए।
२०७९ मा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत मात्र पाएका थिए। त्यस बेला कांग्रेसले माओवादी, एकीकृत समाजवादी लगायतसँग चुनावी गठबन्धन गर्दा ओलीले राप्रपासँग सहकार्य गरेका थिए। ओलीले २८ हजार ५ सय ७६ को मतान्तरले जितेका थिए।
त्यही निर्वाचनमा रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेल ११ हजार ७ सय ४८ मतसहित तेस्रो भएका थिए।
स्थानीयका अनुसार रास्वपाबाट उम्मेदवार बालेन शाहले यो क्षेत्रलाई अझ ‘हटकेक’ बनाइदिएका छन्। काठमाडौं महानगरको मेयर हुँदा लिएको कडा, विवादास्पद र चर्चित कार्यशैलीका कारण बालेन नयाँ पुस्तामाझ लोकप्रिय छन्। जेनजी विद्रोहका बेला उनको लोकप्रियता चुलिएको थियो।
रास्वपाले उनलाई प्रधानमन्त्री बनाउने सहमतिसहित पार्टी प्रवेश गराएको थियो। एमालेले पनि ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ। यसरी झापा–५ मा प्रधानमन्त्रीको दाबी गरिरहेका दुई अनुहारको सिधा भिडन्त हुने निश्चित भइसकेको छ।
‘हाम्रोमा प्रधानमन्त्रीका दुई दाबेदारको भिडन्त हुँदैछ,’ दमक बजारका युवाले भने, ‘यो हाम्रो क्षेत्रका लागि राम्रै कुरा हो।’ झापा–५ को सर्वसाधारणले यसपटक यहाँ मुख्य प्रतिस्पर्धा ओली र बालेनकै बीचमा हुने अनुमान लगाएका छन्।
ओली र बालेनका समर्थकहरूको दाबी आ–आफ्नो छ। बालेनको पक्षमा तर्क गर्नेहरू नयाँलाई हेर्ने भनिरहेका छन् भने ओलीका पक्षमा तर्क गर्नेहरू उनी स्थानीय भएको, काम गरेको जस्ता तर्क अघि सारिरहेका छन्। उनीहरूको यस्तो विचारले पनि देखाउँछ, झापा–५ मा यसपटकको चुनावी भिडन्त रोचक हुनेवाला छ।
झापा–५ मा यसपटक १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन्। २०७९ को समानुपातिक मत परिणामले पनि संकेत दिएको छ, एमालेपछि रास्वपा दोस्रो शक्तिका रूपमा स्थापित भइसकेको छ। त्यस बेला कांग्रेस, माओवादी र राप्रपा पछाडि परेका थिए।
झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा १–८ र गौरीगञ्ज गाउँपालिकाका वडा ३–६ पर्दछन्।
एमालेका कार्यकर्ताले अस्वीकार गरे पनि अन्य दलका कार्यकर्ता र सर्वसाधारण भने यसपटक झापा–५ मा ओलीलाई सजिलो नहुने बताउँछन्।























