काठमाडौं– सुनसरीमा नेकपा (एमाले) र नेपाली कांग्रेसले उम्मेदवार टुङ्गो लगाउने विषयमा रमिता देखाउँदा दिनभर नेता र कार्यकर्ता अन्योलमा परेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लिएर ठूला दलहरूले उम्मेदवार छनोट र टिकट वितरणमा अन्तिम समयसम्म अन्योल कायम राखेका हुन् ।
टिकट वितरणका विषयमा एमालेमा सबैभन्दा बढी समस्या देखिएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले शनिवार राति सुनसरीको १ र ३ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगायो । जसअनुसार सुनसरी क्षेत्र नम्बर १ बाट सूर्य पान्धाक र क्षेत्र नम्बर ३ बाट भगवती चौधरीको नाम फाइनल भएको खबर सार्वजनिक भयो ।
लामो समयदेखि एमालेको राजनीतिमा रहे पनि भूगोलमा नचिनिएका सूर्य पान्धाक उम्मेदवार बनेपछि एमालेका स्थानीय नेता तथा कार्यकर्ता अचम्ममा परे । टिकटका आकांक्षी रहेका जयकुमार राई, मञ्जु भण्डारी र टीका माङ्लालेनई उम्मेदवार नबनाई पान्धाकलाई टिकट दिने निर्णय भएपछि आइतबार धरानमा एमालेको बैठक समेत बस्यो । बैठकले पान्धाकलाई नै जिताउनका लागि पार्टी परिचालन गर्ने निर्णय गर्यो । तर, त्यही दिन बेलुका पान्धाकको ठाउँमा अनेरास्ववियु सुनसरीका पूर्वअध्यक्ष टीका माङ्लालेनको नाममा टिकट आएपछि एमाले वृत्तमा फेरि अन्योल बढ्यो ।
एमालेले सुनसरी २ र ४ को नाम भने सोमबारसम्म फाइनल गरेको थिएन । दिउँसो सुनसरी ४ बाट केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसियैतलाई उम्मेदवार बनाउने निर्णय भएको सूचना आयो । कुसियैत सो क्षेत्रबाट उम्मेदवारका बलिया आकांक्षी थिए ।
२०७९ को निर्वाचनमा झिनो मतले पराजित भएका कुसियैतको टिकट पक्का भएको चर्चासँगै सुनसरी २ बाट रेवतीरमण भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको समाचार आयो । भण्डारी कोशी प्रदेश सभा सदस्य समेत रहेकाले उनी राजीनामा दिने तयारीमा लागे । उनलाई एमाले महासचिव शंकर पोखरेल आफैले उम्मेदवार बनाउने संकेत दिएका थिए ।
मङ्गलवार बिहान सुनसरी ४ का लागि एमालेले अप्रत्याशित निर्णय गर्यो । कांग्रेसबाट एमाले प्रवेश गरेका अब्दुल अन्सारीले एमालेका तर्फबाट टिकट लिएको तस्बिर सार्वजनिक भयो । पार्टी अध्यक्ष केपी शर्मा ओली र विष्णु रिमालसँगको तस्बिर सार्वजनिक गर्दै अब्दुलले उम्मेदवारी पक्का भएको बताए ।
उनी नेपाली कांग्रेसका तर्फबाट सो क्षेत्रमा उम्मेदवार बन्न चाहन्थे, तर कांग्रेसले टिकट नदिने पक्का भएपछि उनी एमाले प्रवेश गरेका थिए । अब्दुलको टिकट कन्फर्म भएपछि एमाले सुनसरीमा खैलाबैला मच्चियो । सोही क्रममा सुनसरी २ बाट जगदीश कुसियैतलाई उम्मेदवार बनाउने हल्ला चल्यो र नेताहरूले त्यसलाई पुष्टि पनि गरे । तर उनले सुनसरी २ बाट उम्मेदवार नबन्ने भनेर अड्डी कसे ।
अब्दुलको उम्मेदवारीका विषयमा एमालेभित्रको असन्तुष्टि कायमै थियो । सोही असन्तुष्टि बोकेर एमाले सुनसरीका नेताहरू मङ्गलवार राति पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न दमक पुगे । ओली झापा क्षेत्र नम्बर ५ मा मनोनयन दर्ता गराउन दमक आएका थिए । त्यहाँ पुगेर एमाले कार्यकर्ताहरूले अब्दुललाई उम्मेदवार बनाउने निर्णयको कडा विरोध गरे । ओलीले राति नै अब्दुलको टिकट खोसिने संकेत गरे । उनले एमाले सुनसरीका नेताहरूलाई भनेका थिए ४ मा जगदीश नै उम्मेदवार बन्नु २ को कुरा बिहान सम्ममा म मिलाउँछु ।
मनोनयन दर्ता गराउने दिन मङ्गलवार माघ ६ गते बिहान फेरि सुनसरी क्षेत्र नम्बर ४ बाट जगदीश कुसियैत र २ बाट रेवतीरमण भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय भएको सूचना आयो । सूचना अनुसार भण्डारी मनोनयनका लागि तयार भएर बसे । उनलाई तारन्तार फोन आइरहेको थियो । उनी फोन उठाउँदै भन्थे, अहिलेसम्म त तैँ हौ भनिएको छ, टिकट हातमा नआई के भन्नु ?
यो अन्योल दिउँसो ११ बजेसम्म जारी रह्यो । अन्य निर्वाचन क्षेत्रमा मनोनयन दर्ता सुरु भइसकेको बेला सुनसरी २ मा एमालेले अर्को निर्णय गर्यो । रेवतीरमण भण्डारीको ठाउँमा सुजन लामालाई उम्मेदवार बनाइयो । प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधि सभाको तयारीमा रहेका भण्डारी अन्तिम समयमा रोकिए । यस्तै, टिकट गोजीमा बोकेर मनोनयन दर्ता गर्न काठमाडौँबाट सुनसरी आएका अब्दुल अन्सारीको टिकट पनि खोसियो । उनले जगदीश कुसियैतलाई टिकट हस्तान्तरण गरे ।
छिन छिनको टिकट हेराफेरी पछि एमालेका तर्फबाट सुनसरी १ मा टीका माङ्मलेन , २ मा सुजन लामा, ३ मा भगवती चौधरी र ४ मा जगदीश कुसियैतले मनोनयन दर्ता गराएका छन् ।
सुनसरी कांग्रेसमा दाजुभाइको लफडा
टिकट वितरणका विषयमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ मा एमालेको भन्दा पनि बढी रमिता देखिएको छ । पार्टी सभापति गगन थापा ले हस्ताक्षर गरेर दुई दाजुभाइ विजय कुमार गच्छदार र वेदनारायण गच्छदारलाई क्षेत्रमा पठाएपछि कार्यकर्ता दिनभर अन्योलमा परे । वेद, विजय गच्छदारका काकाका छोरा हुन् । उनीहरू दुवै सुनसरी ३ बाट उम्मेदवार बन्न चाहन्थे । कार्यकर्ता मात्रै नभई गच्छदार परिवारका सदस्य समेत विभाजित भए ।
२०४८ सालदेखि एकलौटी उम्मेदवार बन्दै आएका विजय यस पटक पनि उम्मेदवार बन्न चाहन्थे र क्षेत्रबाट एकल सिफारिस गराउन सक्रिय थिए । तर दुहबी नगरपालिकाका मेयर समेत रहेका वेदले पनि संघमा फड्को मार्ने इच्छा राखेका थिए । विजयको चाहनामा वेद बाधक बनेपछि उनले केन्द्रमा शक्ति लगाएर सोमबार राति टिकट हात पारे । तर वेदले पनि हार खाएनन्, मध्यरातमा उनले पनि सभापतिको हस्ताक्षर गराएरै छाडे ।
दुवै जनाले एकै निर्वाचन क्षेत्रका लागि टिकट लिएर आएपछि दिनभर सुनसरी ३ का नेता तथा कार्यकर्ता अन्योलमा परेको क्षेत्रीय सचिव विमल नेपाल बताउँछन् । दिनभर दाजुभाइबीचको छलफल र शक्ति सङ्घर्षपछि अन्ततः विजय कुमार गच्छदारले नै मनोनयन दर्ता गराएका छन् ।























