काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख नेताहरूले विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका छन् ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
सोही क्षेत्रमा रास्वपाबाट पूर्व काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसहित आठ जनाको मनोनयन दर्ता भइसकेको छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनी यसअघि संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट निर्वाचित भइसकेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको उद्गम थलो मानिने रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् ।
यसैगरी नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् ।
उनीहरू सबैले आफूहरूको प्रतिस्पर्धी नरहेको दाबी गरेका छन् ।























