काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘शान्ति समिति’ मा सामेल हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमन्त्रित गरिएको रूसले बताएको छ । समिति विश्वव्यापी रूपमा द्वन्द्व समाधान गर्न, गाजामा प्रशासन चलाउन र पुनर्निर्माणको निरीक्षण गर्न सक्रिय रहने बताइएको छ ।
मस्कोले वर्षौंसम्म इजरायल र प्यालेस्टिनीसहित मध्यपूर्वका सबै प्रमुख शक्तिहरूसँग सम्बन्ध सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ । इजरायल–हमास युद्ध र युक्रेनमा रूसको आक्रमणपछि पुटिन इजरायलसँगको सम्बनधबाट टाढा रहेका छन् र इरानजस्ता आफ्ना शत्रुहरूसँग सम्बन्ध बलियो बताएका छन् ।
बढ्दो पश्चिमा एक्लोपनबीच मस्कोले खाडी राष्ट्रहरूसँग पनि घनिष्ठ सम्बन्ध खोजेको छ । रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीसहितका सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भने, ‘राष्ट्रपति पुटिनलाई पनि शान्ति समितिमा आवद्ध हुन निमन्त्रणा प्राप्त भएको छ ।’
रूसले वाशिंगटनको प्रस्तावको ‘सबै सूक्ष्मताहरू स्पष्ट’ गर्न खोजिरहेको बताए तर, उनले क्रेमलिन प्रमुख पुटिन सामेल हुन इच्छुक भएको वा नभएकोबारे भने केही जनाएको छैन । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति आफैको अध्यक्षतामा रहेको तथाकथित शान्ति समितिमा बस्न संसारभरका विभिन्न व्यक्तित्वहरूसँग सम्पर्क गरेको छ ।
पुटिनले यसअघि द्वन्द्व समाधानका लागि ट्रम्पको प्रयासको प्रशंसा गरेका छन् । ‘उहाँले दशकौँसम्म चलेका यी जटिल संकटहरू समाधान गर्न वास्तवमै धेरै काम गरिरहेका छन्,’ पुटिनले गत अक्टोबरमा भनेका थिए ।
मध्यपूर्वको अवस्थाबारे संकेत गर्दै पुटिनले भनेका थिए, ‘यदि हामी अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयास गरेका सबै कुरा हासिल गर्न सफल भयौँ भने यो एक ऐतिहासिक घटना हुनेछ ।’ युक्रेनमा आक्रमण र गाजामा युद्धले रुसमा जन्मेको ठूलो समुदायको घर इजरायलसँग मस्कोको परम्परागत रूपमा राम्रो सम्बन्धलाई बिगारेको छ ।
क्रेमलिनले अक्टोबर ७ को आक्रमणमा इजरायलको प्रतिक्रियाको बारम्बार आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ । गत मे महिनामा प्यालेस्टिनी नेता महमुद अब्बाससँगको भेटमा पुटिनले भने, ‘गाजा पट्टीले पूर्ण अर्थमा मानवीय विपत्तिको अनुभव गरिरहेको छ ।’
‘प्यालेस्टिनी जनताको मित्रको रूपमा रूसले नियमित सहयोग प्रदान गर्न कोशिस गरिरहेको छ,’ रूसी राष्ट्रपतिले गाजा शान्ति सम्बन्धबारे भने ।


विश्व खबर 



















