images
images
  • गोरखा–२ मा बाबुरालाई चुनाव जित्न मुस्किल, प्रतिस्पर्धामा लेखकदेखि गुण्डा नाइकेसम्म

    गोरखा– फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने संकेत दिएका डा. बाबुराम भट्टराईले अन्ततः गोरखा–२ बाट चुनाव लड्ने घोषणा गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको आइतबार गोरखामा भएको कार्यकर्ता भेटघाटमा उनले प्रत्यक्षतर्फ उम्मेदवारी रहने जानकारी दिएका हुन् ।

    भट्टराईले मतदाताको चाहना र देशको जटिल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै चुनाव लड्न लागेको बताए । उनले नयाँ पुस्तालाई अघि बढाउन प्रयास गर्दै आएको तर अहिले देशमा आवश्यकता देखिएको भन्दै आफू अभिभावकीय भूमिका खेल्न चुनावी मैदानमा आएको बताए ।

    उनले विदेशी शक्तिहरूको स्वार्थले नेपालका स्वाधीनता र सार्वभौमसत्तामा असर पर्न सक्ने संकेत देखिएको भन्दै प्रतिनिधिसभा मार्फत देश सेवा गर्ने उद्देश्य राखेको बताए । गोरखाली जनताले फेरि उनलाई समर्थन गर्ने अपेक्षा छ ।

    भट्टराईलाई यसअघि गोरखा–२ बाट कहिल्यै हार सहनु परेको छैन । तर, यसपटक सशस्त्र द्वन्द्कालका सहकर्मी लेखनाथ न्यौपाने (नेकपा), गुण्डा नाइके मिलन चक्रे (एमाले) र सम्भावित उम्मेदवार कविन्द्र बुर्लाकोटी (राष्ट्रिय स्वतन्त्र पार्टी)सँग प्रतिस्पर्धा हुने भएकाले जित सहज नदेखिएको छ ।

    हाल गोरखा–२ मा १ लाख ८ हजार ५३३ मतदाता छन् । विगतमा करिब ४६ हजार मत ल्याएर जितेका भट्टराईले अहिलेको मत विभाजनको परिस्थितिमा जीत पाउने चुनौती सामना गर्नुपर्नेछ । तर, आफ्नो विकास योगदान सम्झेर गोरखाली जनताले उनलाई पुनः समर्थन गर्ने विश्वास उनी राख्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images