images
images
  • भूमि कब्जा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा भव्य प्रदर्शन

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् ।

    कठ्यांग्र्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाए ।

    प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दा त्यही दिन फ्लोरिडाबाट राष्ट्रपति ट्रम्पले फेब्रुअरीदेखि आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको खबर सार्वजनिक भएको थियो । यस घोषणाले प्रदर्शनकारीहरूमा थप आक्रोश पैदा गरेको बताइएको छ ।

    ‘मलाई लागेको थियो आजको दिन यसभन्दा खराब हुन सक्दैन, तर झन् भयो,’ स्थानीय युवा मलिक डोलेरुप–शेबेलले भने । उनले राष्ट्रपति ट्रम्पको पछिल्लो कदमले अरू राष्ट्र र जनताप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको बताए ।

    राष्ट्रपति ट्रम्पले विगतदेखि नै रणनीतिक रूपमा महत्त्वपूर्ण र खनिज स्रोतले धनी ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

    ग्रिनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वशासित क्षेत्र हो । यस महिनाको सुरुमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई हटाउने सैन्य कारबाहीपछिका अभिव्यक्तिले उनको अडान अझ कडा बनेको स्थानीय नेताहरूको भनाइ छ ।

    एक्काइस वर्षीय डोलेरुप–शेबेल र प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनका अनुसार यो प्रदर्शन नुकको जनसंख्याको करिब एक चौथाइ सहभागी भएको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हो ।

    यस्तै समर्थन स्वरूप डेनमार्कका विभिन्न सहरहरू, कोपनहेगन तथा क्यानाडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा समेत ऐक्यबद्धता र्‍यालीहरू आयोजना गरिएका थिए ।

    कोपनहेगनमा सहभागी एलिस रिचीमहिलाले ‘यो केवल ग्रिनल्यान्डको होइन, सम्पूर्ण विश्वको विषय हो’ भन्दै कुनै पनि सानो राष्ट्र बिक्रीका लागि नहुने स्पष्ट सन्देश दिए ।

    नुकमा आयोजित प्रदर्शनमा सबै उमेर समूहका नागरिक सहभागी थिए । परम्परागत गीतसंगीतसहितको पदयात्रामा ४७ वर्षीया मेरी पेडरसन आफ्ना सन्तानसहित सहभागी भए ।

    ‘हामी हाम्रो देश, संस्कृति र परिवार सुरक्षित राख्न चाहन्छौँ,’ उनले भने । उनकी नौ वर्षीया छोरी अलास्काले आफैँले बनाएको ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ लेखिएको प्लेकार्ड बोकेकी थिइन् । नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिबारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको जानकारी दिए । ‘यसले युरोप एकताबद्ध छ भन्ने सन्देश दिन सकोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

    ग्रिनल्याण्डको संसद्की पूर्वसदस्य टिली मार्टिनसनले ट्रम्प प्रशासनले ग्रिनल्यान्ड अधिग्रहणको ‘अविवेकी विचार’ त्याग्ने आशा व्यक्त गरे ।

    उनले मित्रता र सहयोगको नाममा सुरु भएका अभिव्यक्तिहरू अहिले खुला धम्कीमा परिणत भएको टिप्पणी गरे । उनका अनुसार सम्भावित आर्थिक दबाबभन्दा नाटो र ग्रिनल्यान्डको स्वायत्तता संरक्षण बढी महत्त्वपूर्ण छ ।

    चालिस वर्षीया नर्स लुइस लेनर्ट ओल्सेनले राष्ट्रपति ट्रम्पभन्दा पनि अमेरिकी जनतालाई सन्देश दिन चाहेको बताए ।

    ‘हामी अहिले जस्तो ग्रिनल्यान्ड रहन चाहन्छौँ भन्ने हाम्रो इच्छालाई उनीहरूले समर्थन गरून्,’ उनले भने, ‘मलाई आशा छ, उनीहरू आफ्नै राष्ट्रपतिको गलत कदमविरुद्ध उभिनेछन् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images