काठमाडौं– राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज राजीनामा दिएका छन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्ने तयारीस्वरूप उनले पद त्यागेका हुन् ।
श्रेष्ठले २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट चुनाव लडेका थिए । २०७६ मा राष्ट्रिय सभा सदस्य निर्वाचित ६५ वर्षीय श्रेष्ठको कार्यकाल २० फागुनमा सकिँदै थियो ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अघि उनले राजीनामा दिएका हुन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीसँगै कानुनी व्यवस्थाका कारण उनले राजीनामा दिन लागेको बताएका हुन् ।
२०४८ सालदेखि बर्दिया–१ को चुनावी राजनीतिमा सक्रिय गौतम २०७४ को निर्वाचनमा कांग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।
२०७४ पछि क्षेत्रीय राजनीतिबाट टाढा रहेका उनी पछिल्ला दिनहरूमा पुनः सक्रिय हुँदै मतदातासँग भेटघाटमा जुटेका छन् ।























