images
images
  • रास्वपामा भाँडभैलो : नेतृत्वविरुद्ध खनिनेलाई पार्टी छोड्न धम्की

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीलाई लिएर तीव्र आन्तरिक विवाद चुलिएको छ ।

    पुस १४ गते बुझाइएको १ सय १० जनाको बन्दसूचीमा आन्तरिक मूल्यांकन र प्राइमरी निर्वाचनमा राम्रो अंक ल्याएका उम्मेदवारलाई पछाडि पारेर कमजोर अंक पाएकालाई अगाडि राखिएको आरोप पार्टीभित्रैबाट उठेको छ ।

    एक सदस्यले नेतृत्वले विधि र विधान मिच्दै पारदर्शिता उल्लंघन गरेको र परिणाम माग्दा पार्टी छोड्न धम्की दिएको गुनासो गरेका छन् ।

    आदिवासी जनजातितर्फ एक नम्बरमा रहेकी टासी ल्याजोम शेर्पाको नाम हटाइएको, रञ्जु दर्शनालाई पछाडि राखिएको तथा स्थापनाकालदेखि योगदान दिएका नेताहरूलाई अन्याय गरिएको आरोप छ ।

    यस विषयमा केन्द्रीय अनुशासन आयोगमा १३ बुँदे उजुरी समेत दर्ता भएको छ ।

    सहमहामन्त्री विपिनकुमार आचार्यले धम्कीको विषयमा अनभिज्ञता जनाउँदै प्राइमरी नतिजामात्रै आधार नहुने दाबी गरेका छन् ।

    यद्यपि उम्मेदवार छनोट समितिका संयोजक रहेका आचार्य आफैं समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा परेपछि विवादमा तानिएका थिए ।

    उनले पछि समानुपातिकबाट नाम फिर्ता लिएर प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् ।

    बन्दसूचीमा सेलिब्रेटी र व्यापारी समूहलाई प्राथमिकता दिएको आरोपसँगै पार्टीभित्र र बाहिर व्यापक असन्तुष्टि देखिएको छ ।

    सामाजिक सञ्जालमा उम्मेदवारी फिर्ताको घोषणा गर्ने धेरै भए पनि आयोगमा औपचारिक रूपमा दुई जनाले मात्र नाम फिर्ता लिएको स्रोतले जनाएको छ ।

    समानुपातिकपछि प्रत्यक्ष निर्वाचनको उम्मेदवार छनोट पनि विवादास्पद बन्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images