काठमाडौं– विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वमा नेपाली कांग्रेसको पहिलो बैठकले निर्णयहरू पारित गरेपछि पार्टी विवरण अपडेट गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
सहमहामन्त्री डिला संग्रौलाले जानकारी दिँदै भनिन् कि आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सबै विवरण अपडेट गर्ने निर्णय गरेको थियो । ‘सो निर्णयअनुसार सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू निर्वाचन आयोगमा जानकारी गराउन आएका हुन्,’ उनले थपिन् ।
बुधबार सम्पन्न विशेष महाधिवेशनमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । तर, शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको दाबी गर्दै आयोगलाई पत्र पठाइसकेको छ ।
देउवा नेतृत्वको कांग्रेसले पत्र पठाउनु अघि नै विशेष महाधिवेशन पक्षधरहरूले आयोगमा महाधिवेशन भइरहेको सन्दर्भमा जानकारी गराइसकेका थिए । यसकारण, हाल कांग्रेसभित्र आधिकारिकताको विवाद तीव्र बनेको छ ।























