images
images
  • गगन–विश्वलाई शेखरले भने– जीत–हार कसैको भएको छैन, घर फर्किनुहोस्

    काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै आसन्न निर्वाचनमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    बुधबार जारी गरेको लिखित वक्तव्यमा डा. कोइरालाले पार्टीभित्र देखिएका अन्तरविरोध, आन्तरिक असमझदारी र षड्यन्त्रका कारण कांग्रेस एक भएर निर्वाचनमा जान नसकेको बताए । तर, यसका लागि कसैलाई दोषी वा निर्दोष ठहर्‍याएर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन नचाहेको उनले स्पष्ट पारेका छन् ।

    ‘हामी सबै कहीँ न कहीँ चुकेका छौँ भन्ने स्वीकार गर्न मलाई कुनै संकोच छैन,’ उनले वक्तव्यमा उल्लेख गरेका छन् । यस अवधिमा घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाबारे मूल्यांकन गर्ने जिम्मेवारी इतिहासलाई सुम्पिएको उनको भनाइ छ ।

    डा. कोइरालाले राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबानाले कांग्रेसलाई कमजोर पार्ने प्रयास भएको संकेत गर्दै त्यसलाई रोक्न नसकिएको बताए । पार्टी एक भएर निर्वाचनमा होमिनुपर्नेमा सबैको इमानदार प्रयास भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ ।

    यस कठिन परिस्थितिमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई स्मरण गर्नुपर्ने उल्लेख गर्दै डा. कोइरालाले बीपीले नियतिमा विश्वास गर्ने गरेको स्मरण गराएका छन् । ‘कांग्रेस एकढिक्का भएर अघि बढ्न नसक्नु पनि नियतिको कठोर सत्य हो,’ उनले भनेका छन् ।

    आसन्न निर्वाचनलाई कांग्रेसको आठ दशक लामो इतिहास र गौरव जोगाउने अवसरका रूपमा चित्रण गर्दै डा. कोइरालाले संगठनात्मक ऊर्जाको पुनर्जागरण आवश्यक रहेको बताए । ‘सम्पूर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ,’ उनले भने ।

    कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको उल्लेख गर्दै डा. कोइरालाले साझा इतिहास, साझा नेता र शहीदहरूको प्रेरणाबाट नेपाल र नेपालीको भविष्य निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। पार्टीभित्रै बसेर सुधारका प्रक्रिया अघि बढ्ने पनि उनले स्पष्ट पारे ।

    डा. कोइरालाले आम कार्यकर्ता र नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्दै भने, ‘यहाँ जीत–हार कसैको छैन । सबैको विन–विन अवस्थाबाट मात्रै हामी अगाडि बढ्न सक्छौँ ।’

    नेपाली जनताले विगतमा पार्टी विभाजनका बाबजुद कांग्रेसप्रतिको विश्वास नडगमगाएको उल्लेख गर्दै उनले अब फेरि जनताको घर–आँगनमा पुगेर भोट माग्ने प्रतिबद्धता जनाएका छन् । समय छोटो भए पनि सम्भव भएसम्म चुनावी अभियानमा सहभागी हुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images