काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन ले पदबाट राजीनामा दिएर संघीय निर्वाचनको चुनावी अभियानमा होमिन तयारी गरेका छन् । आउँदो माघ ५ गतेदेखि उनले चुनाव केन्द्रीत देशव्यापी यात्राको औपचारिक सुरुवात गर्ने तयारी रहेको छ ।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी मैदानमा उतार्न लागेको हो । उनी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । यद्यपि, उम्मेदवारीको औपचारिक घोषणा भने भइसकेको छैन ।
बालेनको चुनावी अभियान मधेश प्रदेशबाट सुरु हुने भएको छ । माघ ५ गते मधेश प्रदेशको राजधानी जनकपुरधामबाट अभियानको शुभारम्भ गरिने र उक्त कार्यक्रममा बालेन र रास्वपा सभापति रवि लामिछाने पहिलोपटक एउटै मञ्चमा देखिने कार्यक्रम तय भएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले ‘देश जोड्ने र बनाउने महाअभियान’ मधेशबाट सुरु हुने जनाउँदै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
जनकपुरधामको कार्यक्रमपछि बालेन आफ्नो सम्भावित निर्वाचन क्षेत्र झापा–५ प्रस्थान गर्नेछन् भने सभापति लामिछाने चितवन जाने कार्यक्रम रहेको छ । माघ ६ गते प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ता हुने र त्यसपछि दुवै नेता देशव्यापी चुनावी दौडाहामा निस्किने रास्वपाले जनाएको छ ।
मधेशका मतदातालाई भावनात्मक रूपमा अपिल गर्न रास्वपाले बालेनलाई ‘मधेशपुत्र’ का रूपमा ब्रान्डिङ गर्ने रणनीति अपनाएको देखिन्छ । मधेशका विभिन्न स्थानमा ‘अबकी बार–बालेन सरकार’ लेखिएका पोस्टरहरू टाँगिएको पाइएको छ ।
हाल काठमाडौंका स्थायी बासिन्दा भए पनि बालेनको पुर्ख्यौली थलो महोत्तरी जिल्लाको एकडारा गाउँपालिका हो । महोत्तरी–३ मा पर्ने उक्त स्थानमा उनको पुर्ख्यौली घर अझै रहेको छ । बालेनको जन्म भने काठमाडौंको नरदेवीमा भएको हो ।
बालेनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गर्दा मधेशी जनमतमा उल्लेख्य प्रभाव पर्न सक्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ ।























