काठमाडौं– माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेर राजनीतिक अभियानमा जुटेका नेता जनार्दन शर्माले नेकपा एमालेसँग चुनावी सहकार्यको प्रस्ताव अघि सारेका छन् । पछिल्लो समय डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रलोपा औपचारिक रूपमा गठन भइसकेको छ ।
प्रलोपाका एक नेताका अनुसार शर्मा हालै भक्तपुरको गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रुकुम पश्चिम पुगेर शर्मालाई चुनौती दिएलगत्तै उनी ओली भेट्न गुण्डु पुगेका हुन् ।
ओली र शर्माबीचको भेट एकान्तमा भएकाले वार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । तर स्रोतका अनुसार शर्माले केही निश्चित निर्वाचन क्षेत्रहरूमा चुनावी सहकार्यको प्रस्ताव राखेका छन् । उता ओली पनि प्रचण्डलाई राजनीतिक रूपमा दबाबमा राख्न जनार्दन शर्मा र नेत्रविक्रम चन्द ‘विप्लव’लाई केही क्षेत्रमा सहयोग गर्न सकारात्मक देखिएको बताइन्छ ।
विशेषगरी रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउने विषयमा ओली सकारात्मक रहेको स्रोतको दाबी छ । एमालेले सकेसम्म सूर्य चिह्नबाटै चुनाव लड्न शर्मालाई आग्रह गरेको बुझिएको छ । यद्यपि प्रलोपा पार्टीको चुनाव चिह्न भने आँखा रहेको छ ।
रुकुम, रोल्पा, कालिकोटलगायतका जिल्लामा एमालेले जनार्दन शर्मा, नेत्रविक्रम चन्दसहितका समूहलाई साथमा लिएर चुनावमा जाने सम्भावना कायमै रहेको नेताहरूले बताएका छन् ।























