काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा आठौं पटक प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।
उपचारपछि सक्रिय राजनीतिमा फर्किएका उनले डडेलधुराबाट पुनः उम्मेदवारी दिने इच्छा व्यक्त गरेपछि पार्टीले एकल रूपमा नाम सिफारिस गरेको छ ।
देउवा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल पनि आठौं पटक चुनावी मैदानमा छन् ।
यस्तै, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, राजेन्द्र महतो, लालबाबु पण्डितलगायत दोस्रो–तेस्रो तहका नेताहरू पनि हार–जितको परवाह नगरी बारम्बार उम्मेदवार बन्दै आएका छन् ।
विश्लेषकहरूका अनुसार बारम्बार उम्मेदवारी दिनुका कारण राजनीतिक विरासत, शक्तिसँगको पहुँच, वैकल्पिक पेशाको अभाव र राज्यस्रोतको दोहनसँग जोडिएको असुरक्षाबोध हुन् ।
प्रश्न गर्ने संस्कार कमजोर हुनु र राजनीतिलाई जीविकोपार्जनको माध्यम बनाइनुले एउटै अनुहारहरू पटक–पटक चुनावमा दोहोरिने प्रवृत्ति बलियो बनेको उनीहरूको निष्कर्ष छ ।























