काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिमालले आफ्नो हार अस्वाभावक र चिन्ताको विषय नभएको बताएका छन् । केपी ओलीका कोर टीममा रहेका रिमाल उपमहासचिव र सदस्य दुवैमा पराजित भए ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै रिमालले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको बताएका छन् ।
महाधिवेशन असाधारण, गरिमा, उत्साह र सामूहिक उपलब्धिको गहिरो अनुभूतिसहित सम्पन्न भएको उनको भनाइ छ ।
‘महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टीम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एकजना उपमहासचिव– म स्वयं र एकजना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो । यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय । यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन् । हामी जनताको बहुदलीय लोकतन्त्रको मूल भावनाबाट दृढ रूपमा निर्देशित छौँ’, रिमालले भनेका छन् ।























