images
images
  • कुखुरामा देखिन थाल्यो फाउल पोक्सको संक्रमण, मानव स्वास्थ्यमा कस्तो असर पर्छ ?

    काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको संक्रमण देखिएको छ ।

    नगरपालिकाको वडा नं ८ का किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको संक्रमण पुष्टि भएको हो । नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने संक्रामक भाइरल रोग हो । यसलाई एभिन पोक्स पनि भनिन्छ । संक्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखापर्छन् ।

    केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने शाखा प्रमुख भट्टले बताए ।

    सो रोग संक्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिइएको पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिए । ‘यस्ता औषधि कुखुरालाई खुवाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्ने हुन्छ, यसले कुखुराको मृत्युदर घटाउन मद्दत गर्छ,’ उनले भने । अन्य कुखुरा फार्ममा उक्त रोगको संक्रमण फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

    फाउल पोक्स संक्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ । समयमै नियन्त्रण नगरेमा किसानलाई ठूलो आर्थिक क्षति हुनसक्ने जोखिम रहेको पशुपन्छी शाखाले जनाएको छ ।

    पशुपन्छी शाखाले किसानलाई संक्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन आग्रह गरेको छ । साथै रोगको शंका लागेमा ढिला नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ ।

    फाउल पोक्स मानिसमा नसर्ने रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने पशुपन्छी शाखाका चिकित्सक पाण्डेयको भनाइ छ । कुखुराका चल्ला बाह्य क्षेत्रबाट आयात गर्दा त्यसबाटै सो रोगको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images