काठमाडौं– एमालेको नेतृत्वका लागि भइरहेको प्रतिस्पर्धामा संस्थापन पक्षले प्रभूत्व बनाइरहँदा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ मानिने नेता विष्णु रिमाल भने ‘असुरक्षित’देखिएका छन् ।
साबिकको उपमहासचिव पदमै उम्मेदवारी दिएका उनी अहिलेसम्मको मतगणनामा ‘टप थ्री’ भित्र अटाउन सकेका छैनन् ।
एमालेमा ३ जना उपमहासचिव रहने व्यवस्था छ । सातजनाले उपमहासचिवका लागि उम्मेदवारी दिएकोमा ४ जनाबीच कडा टक्कर देखिएको छ । विष्णु रिमाल अहिलेसम्म चौथो स्थानमा छन् ।
पछिल्लो अपडेटअनुसार नेकपा एमालेको जारी मतगणनामा उपमहासचिवतर्फ लेखराज भट्टले सर्वाधिक मत पाएका छन् । उनले ४४० मत पाउँदा योगेश भट्टराईले ४०४ र रघुवीर महासेठले ३९३ मत पाएका छन् ।
जारी मतगणनामा उपमहासचिवमा उम्मेदवार विष्णु प्रसाद रिमाल शीर्ष तीनमा अटाउन सकेका छैनन् । उनले ३२५ मत पाएका छन् । यसैगरी आनन्द प्रसाद पोखरेलले २०४ मत पाउँदा वैजनाथ चौधरीले १५१ मत पाएका छन् ।























