images
images
  • काठमाडौं महानगरमा पर्ने धोबीखोला किनाराको अवैध संरचना हटाउन डोजर चल्ने

    काठमाडौं– धोबीखोला किनारामा बनेका अवैध संरचना तीन दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाले माइकिङ सुरु गरेको छ । काठमाडौं उपत्यका प्राधिकरणले अवैध संरचना खाली गर्न कामपा प्रहरी बललाई सहयोग गर्न आग्रहसहितको पत्र पठाएको एक घण्टाभित्रै काठमाडौं महानगरले माइकिङ सुरु गरेको हो ।

    प्राधिकरण काठमाडौं जिल्ला आयुक्त कार्यालयले मंगलवार पौने ३ बजे पत्र पठाएको थियो । लगत्तै हिजो दिउँसो साढे ३ बजेबाट माइकिङ सुरु गरेको हो । काठमाडौं महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले पत्र पाएको एक घण्टाबाटै माइकिङ सुरु भएको जानकारी दिए ।

    आयुक्त कार्यालयले काठमाडौं महानगरपालिका २९ वडा कार्यालय र नापी कार्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा कात्तिक १२ देखि काठमाडौं महानगरका २९ वडाभित्रका सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका मापदण्डविपरीतका भौतिक संरचनाहरू सर्वेक्षण गरेको थियो ।

    आयुक्त कार्यालयले सर्वेक्षण गरी यकिन गरिएका संरचना हटाउन सोमबार निर्णय गरेको थियो । सोही आधारमा काठमाडौं जिल्ला आयुक्त कार्यालयको पत्रमा ३ दिनभित्र अतिक्रमित जग्गामा बनाइएका संरचना खाली गर्न माइकिङ गर्न आग्रह गरेको थियो ।

    यसअघि आयुक्त कार्यालयले करिब एक महिनाअघि धोबीखोला करिडोर सर्वेक्षण गरी दायाँबायाँ मार्किङ सुरु गरेको थियो । सहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनाराको अवैध संरचना खाली गर्न निर्देशन दिएको महिना दिनपछि सबै प्रक्रिया पूरा गरी अतिक्रमित जग्गा खाली नगरेमा डोजर चलाउने योजना अघि सारेको छ ।

    मापदण्डअनुसार धोबीखोला करिडोरका दायाँबायाँ ९–९ मिटर खाली गर्नुपर्ने हुन्छ । उक्त मापदण्डअनुसार बुटवल पावर कम्पनी र केही व्यावसायिक कम्पनीको कम्पाउन्डसहितका संरचना भत्कनेछन् ।

    प्राधिकरणको तथ्याङ्कअनुसार धोबीखोला करिडोरमा १८६ रोपनी ६ आना र वागमतीमा २६४ रोपनी १ आना जग्गा अतिक्रमण भएको अनुमान छ । धोबीखोला काठमाडौं महानगरको ४, ५, ७, ९, १०,११, २९ र ३० वडाको केही भाग पर्छ ।

    पहिलो चरणमा २९ वडामा रहेका संरचना हटाउन लागेका हो । धोबीखोलाले बूढानीलकण्ठ नगरपालिकाको २, ८, ९, १० ११ र १३ वडाको केही क्षेत्र ओगटेको छ ।

    धोबीखोला वागमती नदीको सहायक खोला हो । धोबीखोला बूढानीलकण्ठको मुहान पोखरीबाट सुरु भई यूएन पार्कमा वागमती दोभानमा मिसिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images