images
images
  • थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।

    यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच मुलुकका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाएको ह्वाइट हाउसले मंगलबार जानकारी दिएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार थपिएका पाँच देशहरूमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया छन्।

    अमेरिकामा प्रवेश मापदण्ड थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको यो कदम थ्यांक्स गिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि आएको हो।

    प्रशासनले सुरक्षा जोखिमको कारण देखाउँदै आव्रजन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरिरहेको जनाएको छ। साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ।

    यसअघि जुन महिनामा ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए।

    त्यतिबेला ट्रम्पले गत जुन महिनामा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूमाथि यात्रा प्रतिबन्ध लगाएका थिए।

    यी प्रतिबन्धहरू आगामी जनवरी १ देखि लागु हुने ह्वाइट हाउसलाई उद्धृत गर्दै एपीले जनाएको छ। ह्वाइट हाउस नजिकै नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि गोली चलेको घटनापछि अमेरिकाले आप्रवासी नीति थप कडाइ गरेको छ। उसले त्यतिबेला १९ देशका नागरिकहरूलाई प्रदान गरिएको ग्रीन कार्ड समेत पुनरवलोकन गर्ने निर्णय गरेको थियो।

    ट्रम्प प्रशासनले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई प्रदान गरिएको ग्रीनकार्ड पुनरवलोकन गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images