काठमाडौं– कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित पार्टी घोषणा कार्यक्रममा वाचन गरिएको घोषणापत्रमा मन्त्रालयहरूको नेतृत्वमा निजामती सेवाबाहिरबाट प्रशासनिक व्यक्तिलाई सिधै नियुक्त गर्नुपर्ने प्रस्ताव राखेको छ ।
घोषणापत्र अनुसार सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउने व्यवस्था गरिनुपर्छ । तर, परराष्ट्रमन्त्री, गृहमन्त्री, कानुनमन्त्री र रक्षामन्त्री संघीय संसद्को सदस्यबाटै चयन गर्नुपर्छ । प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था गर्नुपर्छ ।
समानुपातिक सांसद र मनोनीत सांसद १ पटकका लागिमात्र हुने व्यवस्था गरिनुपर्दछ । स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्छ । न्यायपालिकामा दलीय हस्तक्षेप नहुने गरी न्यायपरिषद्को पुनः संरचना गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका व्यक्तिलाई नयाँ सरकारले तत्काल हटाउन मिल्ने व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ।
राज्यका निकायबीच समन्वय र सहकार्य हुने गरी कानुनी र संस्थागत व्यवस्था गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ। मुलुकको अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भर बनाउने तथा प्राकृतिक साधन–स्रोतको एकीकृत प्रयोग गर्ने नीति अपनाउनुपर्ने भनिएको छ ।
वर्तमान व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने पार्टीको भनाइ छ।
साथै, नेपालका सार्वजनिक निकायको पुनर्संरचना गर्नुपर्ने तथा निजी क्षेत्रले प्रदान गर्ने सेवा गुणस्तरीय र प्रतिस्पर्धी बनाउने व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समावेश छ ।
घोषणापत्र पुरै पढ्न तलको लिंक क्लिक गर्नुहोस्























