images
images
  • सफल उद्यमीदेखि सेलिब्रटीसम्म, अर्बपतिदेखि आवारासम्म हाम फाल्ने राजनीतिमा के छ ?

    सीमित आदर्श व्यक्तिहरुले लोभ नगरेको राजनीतिमा बहुसंख्यक लोकप्रियतावादीहरुले मरिहत्ते गरिरहनुको यो अन्तर्य : वीरेन्द्रबहादुर बस्नेत, विनोद चौधरी, उमेश श्रेष्ठ, सुनिल शर्मा, दुर्गा प्रसाई, कुलमान घिसिङ, सर्वेन्द्र खनाल, रेखा थापा, कोमल ओली, खुश्वु ओली, गणेश लामा, दीपक मनाङ्गेलगायत आ–आफ्ना क्षेत्रमा स्थापित ‘सेलिब्रेटी’ हुन्, उनीहरु राजनीतिमा किन मरिहत्ते गरिरहेका छन् ? राजनीतिमा के छ त्यस्तो आर्कषण ?
    घटना एक
    वीरेन्द्रबहादुर बस्नेत सफल उद्यमी हुन् । जो नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो बुद्ध एअरका कार्यकारी अध्यक्ष हुन् । बुद्ध एअरका साना–ठूला गरी १८ वटा जहाज छन् । नेपालमा यति धेरै विमान भएको अर्को कम्पनी छैन । भएकाहरुले बस्नेतकै विमान कम्पनीको बाटो पछ्याइरहेका छन् । हवाई यात्रुहरुमध्येको ६० प्रतिशत बजार एक्लैले ओगटेको बुद्ध एअरको दाबी छ । यसअर्थमा आकासको उड्यन सत्ताका नायक हुन्, बस्नेत ।
    birendra bahadur basnetयति मात्र होइन, बस्नेतले मोरङको डाँगीहाट चोक छेउ ५० करोड रुपैयाँ खर्चेर करिब दुई वर्ष अघिबाट आरजु राइस मिल सञ्चालनमा ल्याएका छन् । ५० करोड खर्च गरेर राइस मिल स्थापना गरेको सार्वजनिक गर्ने नेपालमा सायद उनी पहिलो हुन् । उक्त राइस मिलको उद्देश्य अधिकांश नेपालीहरुको भान्सामा पाक्ने जिरा मसिना र मसिना चामल स्वदेशमै उत्पादन गर्नु त हो नै, नेपाल र नेपालीलाई कृषिमा आत्मनिर्भर बनाउनु पनि हो ।

    आरजु राइस मिलमार्फत झण्डै तीन हजार बिघामा धान खेती गरेर न्यूनतम १५ सयभन्दा बढी कृषकलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरुको स्तर उकास्नु मिलको यसबेलाको प्राथमिक उद्देश्य हो । वीरेन्द्रबहादुरका बुबा सुरेन्द्रबहादुरले झण्डै छ दशक अघि मोरङको डाँगीहाटमा ८४ बिघा जमिन ‘बकस’ पाएका थिए । उनले त्यही जमिनलाई ‘बहुमुखी कृषि फार्म’ मा बदलेका थिए । जसमध्ये आफ्नो अंशमा आएको २० बिघामा आधुनिक खेती गर्दै वीरेन्द्र नेपालीको पुख्र्यौली पेसा कृषिमा फर्किएका छन् । हुन पनि कृषि नभए जीवन नै हुन्न । किनभने कृषि खाना हो । खाना नै जीवन हो । उडान र कृषिमा पूर्ण सफल बस्नेत ‘गतिशील लोकतान्त्रिक पार्टी’ स्थापना गरेर राजनीतिमा हाम फालेका छन् पछिल्ला दिनहरुमा ।

    घटना दुई
    कुलमान घिसिङ उज्यालो नेपालको प्रतिकका रुपमा सुपरिचित छन् । त्यसैको परिणाम घिसिङ यसबेला उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको कुर्सीमा मात्र छैनन्, उनको काँधमा अरु दुई मन्त्रालयको समेत जिम्मेवारी छ । २३ र २४ भदौमा भएको जेनजी विद्रोह र विध्वंसले निर्माण भएको सुशीला कार्की सरकारमा घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट प्राप्त लोकप्रियताकै कारण तीन वटा मन्त्रालयको भारी आइलागेको हो ।

    kulman ghising३० साउन ०७३ मा मा नेकपा (माओवादी) का तत्कालीन नेता जनार्दन शर्माले उर्जा मन्त्रालयको कुर्सीमा आसन जमाए लगत्तै घिसिङलाई विद्यूत प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । त्यसबेला काठमाडौं उपत्यकामा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको थियो । घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य गरियो । यसको वाहवाह उनले नपाउने कुरै भएन । कतिसम्म भने घिसिङलाई उज्यालो नेपालका नायकका रुपमा मात्र होइन, भगवानकै रुपमा पुजिन थालियो । नेपाली समाज मानिसलाई छिट्टै देवत्वकरण र राक्षसीकरण गर्न हतारिने समाज पनि हो । देवत्कवरणकै कारण घिसिङ घर–घरमा पुजिए । यसको भरपुर फाइदा घिसिङले त लिए नै, त्यसको ‘ब्याज’ माओवादीले समेत उठाउन भ्यायो । उनै घिसिङले पृष्ठभूमिमा बसेर यसबेला आफ्नो छायाँ छवी जोडिएको उज्यालो नेपाल पार्टी दर्ता गरेका छन् । र सुधन गुरुङदेखि बालेन साहसम्मको सर्मथन लिन प्रयत्न गरिरहेका छन् ।
    घटना तीन
    सात दोबाटोस्थित लिटिल एन्जल्स स्कुलका संस्थापक उमेश श्रेष्ठ सफल विद्यालय सञ्चालक हुन् । उनकै शब्दमा करिब ४० वर्ष अघि पाँच सय रुपियाँ गोजीमा हालेर नेपाल खाल्डोमा हान्निएका श्रेष्ठले यसअवधिमा ३५ अर्बभन्दा माथि नाफा कमाएका छन् । लिटिल एन्जल्स स्कुलमा उनको एकछत्र जस्तै साम्राज्य त छ नै, त्यसबाहेक कृषि, हाइड्रो, हस्पिटालिटी (होटल), अस्पताल, बैंकजस्ता अनेकन क्षेत्रमा श्रेष्ठको बलियो सफलता छ ।

    Umesh sthaकृषिलाई विस्तार गर्न श्रेष्ठले कर्णाली प्रदेश, चितवन, संखुवासभा, भोजपुरलगायत जिल्लामा प्रशस्तै जग्गा खरिद गरेका छन् । माओवादीका तत्कालीन नेता जनार्दन शर्माले लडाकू शिबिरबाट पाँच करोड रकम उठाएर काठमाडौंको बालाजुमा खडा गरिएको जनमैत्री अस्पताल समेत श्रेष्ठले नै खरिद गरेका थिए । जुन अस्पतालका लागि उठाएको रकम हिनामिना भएको भन्दै २–५ असार ०६९ मा भृकुटीमण्डपमा भएको सातौ राट्रिय विस्तारित बैठकमा लडाकूहरुले नेतृत्वलाई कुर्सी नै हानेका थिए । व्यापार, व्यवसायमा उच्च सफलता मिलेपछि श्रेष्ठको मन त्यतातिर मात्र रमाइरहन सकेन । उनलाई राजनीतिको लतले पुलकित बनाइरहेको छ । फलतः समानुपातिक सांसद, स्वास्थ्य राज्य मन्त्री हुँदै नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा छन् यसबेला ।
    घटना चार
    नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल ‘सेलिब्रेटी पर्सनालिटी’ हुन् । उनले प्रहरी संगठनभित्र रहदा राज्यलाई योगदान पुग्ने केही महत्वपूर्ण अनुसन्धान गरेर कानूनी कारबाही अघि बढाएका थिए । उदाहरणका लागि अन्तराष्ट्रिय फुटबलको ‘म्याच फिक्सिङ’ मा सहभागी खेलाडीहरुमाथिको अनुसन्धान र मुद्दा दर्तालाई लिन सकिन्छ । गुण्डागर्दी नियन्त्रण गर्न पनि उनले गरेको प्रयत्न सहनीय छ । सेवा निवृत्त भएपछि २०७९ को निर्वाचनमा खनाल काठमाडौं क्षेत्र नं. ६ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेका थिए । त्यस्तै तनहुँमा भएको उपनिर्वाचनमा पनि खनाल एमालेकै कोटाबाट उम्मेदवार भए । त्यसको केही समयपछि सेलिब्रेटी खनालले एमाले परित्यागको घोषणा गरे ।

    Sarbendra khanalजेनजी विद्रोहपछि पूर्वमहानिरीक्षक खनालले निर्वाचन आयोगमा समुन्नत नेपाल पार्टी दर्ता गराएका छन् । २१ फागुनमा घोषणा गरिएको निर्वाचन लड्न खनाल नेतृत्वको पार्टीले अस्ति ११ मंसिरमा पुनः दल दर्ता गराएको छ । समुन्नत नेपाल पार्टीका सभापति खनाल आफैं छन् । यी चार प्रतिनिधि घटनाले सफल व्यवसायीदेखि उद्योगीसम्म, अर्बपतिदेखि ‘सेलिब्रेटी’ सम्म सक्रिय राजनीतिमा हाम फाल्न तछाडमछाड गरिहेका छन् भन्ने देखाउँछ । कुनै सयम राजनीति एकदमै दुरुह खेल ठानिन्थ्यो । अर्थात राजनीतिलाई त्याग, तपस्या, निष्ठा, बलिदान, संस्कार, संस्कृति, समाज परिवर्तनको मुल आयाम मानिन्थ्यो । आफ्नो पेसा वा व्यवसायमा स्थापितहरु विरलै मात्र राजनीतिमा आर्कषित हुन्थे । सबैले आ–आफ्ना ठाउँबाट योगदान गर्नुपर्छ भन्ने मान्यता थियो । दुःख कष्ट शमन गर्न सक्नेहरु मात्र राजनीतितिर डोहोरिन्थे । तर, पछिल्ला वर्षहरुमा उद्योग, व्यवसायमा स्थापित व्यक्तिहरु समेत राजनीतिलाई पेसा वा व्यवसाय बनाउन उद्यत छन् ।
    कतिसम्म भने समाजमा नामुद गुण्डाका रुपमा स्थापितहरुले समेत राजनीतिलाई मुकाम बनाइरहेका छन् । यसको प्रतिनिधि उदाहरण नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, नेकपा (एमाले)को सहयोगमा मनाङबाट प्रदेशसभामा दुई–दुई पटक निर्वाचित भएर सात पटक मन्त्री बनेका–बनाइएका दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई लिन सकिन्छ । दीपक यसबेला डिल्लीबजार कारागारमा आफूले गरेको कर्तुतको सजाय भोगिरहेका छन् । अदातलको आदेशबाट उनको सभासद पद समेत गुमिसकेको छ । पछिल्ला वर्षहरुमा गुण्डाहरुले राजनीतिलाई थातथलो बनाएका दृष्टान्तहरु अरु दर्जनौ दिन सकिन्छ ।

    थाहा भएकै कुरा हो, विनोद चौधरी फोब्र्स पत्रिकामा सूचीकृत एक मात्र नेपाली अर्बपति हुन् । सीजी ग्रुप अन्तरगत उनका २०२ बढी कम्पनी र २६१ बढी ब्राण्डहरु छन् । चौधरी ग्रुपले आफूलाई ‘हाइएर ट्याक्स पेअर’ दाबी त गर्छ नै, २० हजार बढीलाई रोजगारी दिएको जिकिर छ । श्रीलंकादेखि केन्यासम्म, चीनदेखि अमेरिकासम्म १८ भन्दा बढी देशहरुमा ‘हस्पिटालिटी‘देखि वाइवाइ चाउचाउ, टेलिकम, रियलस्टेटलगायतको व्यवसाय विस्तार गरेको छ । भलै, नेपालमा भने व्यापार विस्तार गर्नेक्रममा धेरै ठाउँमा सरकारी सम्पत्ति नै हडपेको छ । व्यापार, व्यवसाय, उद्योगका माध्यमबाट नेपाललाई विश्व जगतमा चिनाइरहेका उनै चौधरी राजनीतिबाट पृथक रहन सकेनन् ।

    उनी तीन पटक सांसद भइसकेका छन् । ०६४ को संविधान सभामा चौधरी नेकपा (एमाले) को कोटाबाट समानुपातिक सभासद भएका थिए । ०७४ मा उनी एमालेको दाम्लो चुडालेर नेपाली कांग्रेसको कोटाबाट समानुपातिक सांसद बने । ४ मंसिर ०७९ को निर्वाचनमा कांग्रेसकै तर्फबाट नवलपरासीबाट प्रत्यक्षमा निर्वाचित भए । सांसदले मात्र नपुगेर चौधरीले मन्त्री हुन पनि भगिरथ प्रयत्न गरेका थिए । भलै त्यसमा उनी अहिलेसम्म सफल हुन सकेका छैनन् । तर, सांसदकै रुपमा पनि विषयगत समितिहरुमा प्रतिनिधित्व गर्दा स्वार्थ बाझिने विधेयकहरु बनाउन सक्रिय हुने गरेको चर्को आरोप छ चौधरी र चौधरी जस्तै सांसदहरुलाई । जो कानूनले त दिँदैन नै, नैतिकताले पनि नदिनु पर्ने हो । तर, स्वार्थका अघि नैतिकता गौण बन्नु–बनाउनु नेपाली राजनीतिको विशेषता भइसकेको छ । त्यसैले पनि चौधरी र चौधरी जस्ताहरु राजनीतिमा आउन मरिहत्ते गरिरहेका हुन् ।

    यसकारण मरिहत्ते
    आ–आफ्ना क्षेत्रमा स्थापित व्यक्तिहरु ‘फोहोरी’ राजनीतिमा आउन किन हत्ते गरिरहेका छन् ? राजनीतिमा त्यस्तो के छ आर्कषण ? सक्रिय राजनीतिबाट निष्क्रिय जस्तै रहेका चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीका शब्दमा पछिल्लो समय अपवादलाई छाडेर राजनीति परिश्रम विना नै धन कमाउने गज्जब माध्यम बनेको छ । आ–आफ्नो ठाउँमा सफल उद्योग–व्यवसाय गरेकाहरुले समेत त्यो झल्झली देखिरहेका छन् । “सामन्ती मान मनितोको केन्द्र, विना परिश्रम धन दौलत जोड्ने माध्यम बनेको छ राजनीति”, ०३६ सालको विद्यार्थी आन्दोलनमै तत्कालीन भूमिगत नेकपा (माले) निकट अनेरास्ववियुको अध्यक्ष भइसकेका कार्की भन्छन्, “उद्योग–व्यापार गरेका व्यक्तिहरुले आफूले जति पनि श्रम नगरी नेताहरुले वैभवको जीवन बिताइरहेको देखेका छन् । त्यसैले उनीहरु पनि त्यही वैभवको स्वार्थ देखेर राजनीतिमा होमिइरहेका छन् ।”

    केही दिन अघि मात्र औपचारिक रुपमा निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गरेर २१ फागुनको निर्वाचनमा होमिने तरखरमा रहेका दुर्गा प्रसाईंका अनेक कुरा काट्न सकिएला । उनी कमजोरी विहीन पात्र होइनन् । तर, एउटा अकाट्य सत्य के भने उनी सफल स्वास्थ्य व्यवसायी हुन् । पूर्वमेचीको झापास्थित बिर्तामोडमा बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना गरेर प्रसाईले बिरामीहरुलाई ठूलो गुन लगाएका त छन् नै, पूर्वी नेपालको मात्र होइन, मुलुकको ठूलो अर्थतन्त्र विदेश पुग्नबाट जोगाएका छन् । यसर्थ उनी स्यावासीका भागेदार हुन् ।

    उनै प्रसाईंले तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग एक्लाएक्लै र संयुक्त रुपमा बाक्लै संगत गरेका छन् । उनीहरुको शान, सौकत र वैभव नजिकबाट देखेका छन् । उनीहरुकै संगतको फल प्रसाई राजनीतिमा सक्रिय भइरहेका छन् । प्रचण्ड–ओलीकै प्रभावले उनलाई केही समय नै सही, मन्त्री मात्र होइन, प्रधानमन्त्री हुने रहर छ । उनले यस प्रतिनिधिसँग पटक–पटक भनेका छन्, “म प्रचण्ड–ओलीकै प्रभावले राजनीतिमा अलि बढी नै आर्कषित भएको हुँ । उनीहरुसँग गहिरो संगत नहुन्जेल राजनीतिप्रति मलाई यति धेरै लगाव थिएन ।”

    नेताले निष्ठा गुमाउनुको परिणाम
    salibaty rajnatiप्रसाईलाई प्रतिनिधि घटना बनाएर हेर्ने हो भने सहजै बुझ्न सकिन्छ, नेताहरुको रवाफ, शान, सौकत, भड्काब र वैभवपूर्ण दैनिकीले आ–आफ्नो पेसा, व्यवसायमा स्थापित व्यक्तिहरु समेत राजनीतितिर हाम फालिरहेका छन् । उद्योग–व्यापार गरेर ‘नाफा कमाउँछु, सानको घर, गाडी जोड्छु, दुई–चार जना आसेपासे अघि–पछि लगाएर हिँड्छु’ जस्ता संकल्प गरेर व्यवसाय गर्नेहरुले महंगो दैनिकी बिताउनुलाई ठूलो ‘अपराध’ मान्न नसकिएला । उसले नाफा कति खाएको छ ? कर तिर्यो, तिरेन ? मात्र अनुसन्धानको विषय हो । किनभने उनीहरुको संकल्प नै त्यही हो ।

    तर, राजनीति गरेर ‘सर्वसाधारणको जीवनस्तर बदल्छु, सरल, साधारण, निष्ठापूर्ण र इमानको जीवन बाँच्छु’ भनेर होमिएका नेताहरुले बिचौलिया व्यापारीको भन्दा महंगो दैनिकी बिताउनु अपराध हो । आफ्नो निष्ठा, सिद्धान्त, दर्शन, बिचारबाट स्खलित हुनु हो । नेताहरु आफ्नो आदर्शबाट बिचलित भएकैले जो कोहीले राजनीतिमा आँखा गाड्न थालेका पुराना राजनीतिज्ञ अनारसिंह कार्की बताउँछन् ।

    पञ्चायत विरोधी आन्दोलनमा जेलनेल भोगेका, समयमै घरबार जोडन समेत भुलेका निष्ठाका धनी कार्कीका शब्दमा राजनीतिमा भएका मानिसहरु विस्तारै–विस्तारै अपराधिकरणतिर जान थाले । यसबेला नेता, तस्कर व्यापारी र अपराधीहरुको संयुक्त समन्वयनमा राज्य चलिरहेको छ । इजम (वाद), सिद्धान्तलाई रछ्यानमा फालिएको छ । प्रजातन्त्रलाई कुरुप बनाउँदै लगेर चक्रब्यहुमा फसाइएकोले कुन नेता, कुन व्यापारी छुट्याउनै ग्राहो भएको कार्की बताउँछन् ।

    “जसले अपराधसँग, तस्करसँग, सबैभन्दा धेरै कर छली गर्ने व्यापारीसँग साँठगाँठ गर्न सकेन,, उ राजनीतिमा टिक्नै नसक्ने अवस्था सृजना गरियो । हुँदाहुँदा कस्तोसम्म भयो भने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता त्यागीहरु आफैंले जन्माएको, हुर्काएको पार्टी छाडेर भाग्नु पर्यो”, कार्की भन्छन्, “मदन भण्डारीकी श्रीमती विद्या भण्डारीलाई सदस्यता नै रोकिएको छ । यसो हुनुको कारण माफिया, बिचौलिया, व्यापारीले पार्टी कब्जा गर्नु हो ।” यस्तै विकृतिका कारण जो कोहीले राजनीतिमा आँखा गाड्न थालेका कार्कीको भनाइ छ । नेपालको राजनीतिले ठूलै मोड लिने बेला भएकोले यसमा विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तिहरु आवद्ध भइरहेका कार्की बताउँछन् ।

    सिद्धार्थ बनस्थली, ग्यालेक्सी पब्लिक, लिटिल एन्जल्स, बुढानीलकण्ठ, भिएस निकेतन कुनै समय एसएलसीको ‘बोर्ड’ मा एकछत्र राज जमाउने विद्यालयभित्र पर्दथे । ती विद्यालयमा छिर्न, पढ्न पाउनु गौरवको विषय बन्दथ्यो । शिक्षा क्षेत्रका ‘रोलमोडल’ सिद्धार्थ बनस्थलीका सञ्चालक लक्ष्मण राजवंशी, ग्यालेक्सीकी गीता राना, लिटिल एन्जल्सका उमेश श्रेष्ठ, भिएस निकेतनका बाबुराम पोखरेल सबैको उद्देश्य अन्त्यमा एक थान सांसद बन्नुमै केन्द्रीत भयो । जानकारका अनुसार उनीहरुमध्ये केहीले तीन करोडसम्म रुपैयाँ बुझाएर एक थान सांसद बने । केहीले त त्यो भन्दा कता हो कता धेरै बुझाए, बुझाइरहेका छन् ।

    टंकप्रसाद–गणेशमानहरुको त्यो राजनीति
    Ganeshmanकुनै समय राजनीतिमा लाग्दा टंकप्रसाद आचार्य, रामहरि जोशी, डा. केआइ सिंहलगायत सर्वश्वहरण भएर ‘सेलिब्रेटी’ भएका थिए । गंगालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्रीलाई त प्राणदण्ड नै दिइएको थियो । बाहुन भएकै कारण राणाहरुले आचार्य, जोशीलाई आजीवन कालकोठरीमा कोच्नका लागि ‘गोलघर’ निर्माण गरेका थिए । नानीमैया दाहाल ‘माननीय’ उठ्दा पञ्चायतमाथि ठूलो व्यंग्य गरेर विजयी गराइएको थियो । तर, यसबेला राजनीतिक चेतनाका हिसाबले नानीमैयाको स्तरमा पनि नपुगेकाहरु धमाधम राजनीतिमा आइरहेका छन् ।
    राजनीतिक मैदानमा उत्रेर प्रधानमन्त्री बन्नु अघिसम्म सुशीला कार्की एकप्रकारको ‘सेलिब्रेटी’ थिइन । राजनीतिक विकृति, भ्रष्टाचार विरुद्ध खरो आवाजमा प्रस्तुत हुन्थिन । प्रधान न्यायाधीशको कुर्सीमा हुँदा आफू अनुकूल न्याय सम्पादन नगरेको आरोपमा उनीविरुद्ध कांग्रेस–माओवादीले महाभियोग नै दर्ता गराएका थिए । राजनीतिकै आशक्तिले पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठदेखि चोलेन्द्र शम्शेर जबरासम्म कार्कीलाई विस्थापन गरेर प्रधानमन्त्री हुन शक्ति केन्द्रहरुमा दौडधुप गरिरहेका छन् ।

    नेपाल प्रहरीको पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल हिजो १२ मंसिरमा मात्र रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) मा प्रवेश गरेका छन् । नेपाली सेनाका उपरथी सुरेश कार्कीले समेत दल दर्ता गराएका छन् । राजनीतिको आर्कषण कतिसम्म भने ०७९ मा विश्व पौडेल (विद्यावारिधि) राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाटै राजीनामा दिएर चितवन–दुईमा निर्वाचन लड्न गएका थिए । जो पराजित भएर पनि राष्ट्र बैंकको गर्भनरको कुर्सीमा पुगेका छन् । पौडेललाई राजनीति राम्रै फलिफाप भएको छ । उनको निवासका लागि मात्र राष्ट्र बैंकले मासिक चार लाख रुपैयाँ खर्च गर्दैछ ।

    रोचक यो छ कि नवयुवाहरुको विद्रोहपछि दर्ता भएका दलहरुले पार्टीको नाम श्रम संस्कृति, गतिशील लोकतान्त्रिक, राष्ट्र निर्माण दल, उज्यालो नेपाल, राष्ट्र परिवर्तन, जनादेश, समुन्नत नेपाल जस्ता आर्कषक राखिरहेका छन् । तर, उनीहरुले नाम अनुसारको आर्कषक व्यवहार देखाउन बाँकी नै छ । त्यो भन्दा महत्वपूर्ण चाहिँ जनताको अभिमत लिन डल्लै बाँकी छ । तथापि सफल व्यापारी, व्यवसायी, उद्योगी, कर्मचारी, जागिरे, कलाकार, गुण्डा, फन्टुसलगायत पैसा कमाएकाहरु सबै–सबै राजनीतितिर फर्किएका छन् ।

    स्मरणीय यो छ कि राजनीतिमा आवद्ध भएवापत राणा शासनको चरम यातना खाएका, केन्द्रीय कारागारबाट भागेका, २००७ सालमै मन्त्री भएका, आजीवन राजनीति गरेका गणेशमान सिंहले मुखैमा आएको प्रधानमन्त्री समेत त्यागे । तर, त्याग, निष्ठा कुन चरीको नाम हो भन्ने अलिकति पनि थाहा नपाएकाहरु फुत्त, फुत्त राजनीतिमा उदाइरहेका छन् । यो शुभ संकेत हो वा अनिष्ट ?
    अर्थशास्त्री एवम् राजनीतिक विष्लेषक हरि रोकाका भनाइमा राजनीतिलाई महंगो बनाउँदै लगियो । अर्थात नेपाली राजनीति पश्चिमाकरण भयो ।

    पैसा कमाएका ‘सेलिब्रेटी’ हरुले मात्र राजनीति गर्नुपर्छ भन्ने मानक बनाउन थालियो । सामान्य मानिसले राजनीति गर्नै नसक्ने अवस्था बनाइयो । यसैको परिणाम टन्न पैसा कमाएकाहरु राजनीतिमा आउन थालेका रोका बताउँछन् । भन्छन्, “राजनीति सिद्धान्त र श्रमबाट कट्दै गयो । त्यसैले पैसा कमाएकाहरुले यसमाथि आँखा लगाउन थाले । राजनीति सिद्धान्त, निष्ठाको बाटोमा फर्कन बित्तिकै सुखभोगका लागि राजनीतिमा आउन खोज्नेहरु पाखा लाग्छन् ।”

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images