images
images
  • ताररहित सहर बनाउने प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज क्षेत्रको आयोजना अन्तिम चरणमा

    काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजनाको काम अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका साथ सात वर्ष पहिला २०७६ फागुन ५ गते विद्युतीय तार भूमिगत गर्ने काम सुरु गरेको थियो ।

    काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा जेलिएका तार र ढल्न लागेका पुराना पोलले देखिएको कुरुपता हटाउने काम प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङकै पालामा सुरु भएको थियो । यो काम सुरुमा तीन वर्षभित्र सम्पन्न गर्ने भनिए पनि प्राधिकरणले म्याद थप्दै आएको छ ।

    कोभिड, स्थानीय अवरोध, सरकारी निकायसँग समन्वयमा ढिलासुस्तीलगायत कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उपत्यकाका प्रमुख क्षेत्रमा विद्युतीय तार अन्डरग्राउन्ड गर्ने काम दुई योजनामा गरी ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।

    विद्युतीय तार अन्डरग्राउन्ड गर्ने काममध्ये केही स्थानमा सम्पन्न भइसकेको र दुई प्याकेज अन्तिम चरणमा पुगेको छ । काठमाडौँको रत्नपार्क वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम अन्तिम चरणमा पुगेको हो । अब त्यहाँ लाइन चार्ज गर्ने र बत्ती जडान गर्ने लगायतका केही काममात्र बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    काठमाडौँ पश्चिम (बानेश्वर, कीर्तिपुर, कलङ्की, थानकोट, बालाजु, जोरपाटी) समेटिएको प्याकेजमा ७० देखि ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र कीर्तिपुर क्षेत्रमा पनि काम सम्पन्न भई लाइन चार्जसमेत भइसकेको प्राधिकरणको भनाई छ ।

    प्राधिकरणका अनुसार विद्युतीय तार भूमिगत गर्न सुरुगरेसँगै कोभिड सुरु भयो । त्यो समयमा सामग्री नहुँदा दुई वर्ष काम हुन पाएन दुई वर्षपछि सरकारी निकायहरूबिच समन्वय नहुँदा थप समस्या भयो । सडक खनेर तार बिछ्याउनु पर्ने हुँदा सडकको अनुमति समयमा नपाउँदा पनि समस्या भयो । यस्तै, भूमिगत गर्ने ठाउँमा खानेपानी पाइपदेखि अन्य थुप्रै किसिममा समस्याले गर्दा आयोजना तोकिएको समयमा सम्पन्न गर्न नसकिएको हो।

    रत्नपार्क र महाराजगञ्ज क्षेत्रको अन्तिम चरणमा
    आयोजना प्रमुख सुमन श्रेष्ठका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गत २८३ किलोमिटर हाइटेन्सन लाइनमध्ये २८० किलोमिटर तार भूमिगत भइसकेको छ ।

    यस्तै, लोटेन्सन लाइनमा ३८२ किलोमिटरमध्ये ३६५ किलोमिटर काम सम्पन्न भइसकेको छ । ‘बाँकी रहेको काम र म्याद थपको प्रक्रिया पुरा गरी आगामी ३ महिनाभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य छ,’ श्रेष्ठले भने ।

    कतिपय स्थानमा पोल हट्न बाँकी रहेकाले काम नसकिएको जस्तो देखिए पनि भूमिगत केबुलबाट ११ केभी लाइन चार्ज गर्ने काम निरन्तर भइरहेको उनले जानकारी दिए । ‘पोल हटाउन केही समय लाग्ने भए पनि लाइन चार्ज गर्ने काम भने भइरहेको छ,’ श्रेष्ठले भने ।

    विशेष गरी न्युरोड क्षेत्रमा यो आयोजना पूर्ण रूपमा सफल देखिएको छ । त्यहाँ हाइटेन्सन र लोटेन्सन दुवै लाइन चार्ज भई भूमिगत प्रणालीबाटै विद्युत् प्रवाह भइरहेको छ ।

    पर्यटकीय क्षेत्र ठमेल, नयाँ बजार, लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा पनि भूमिगत लाइन सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, महाराजगन्ज क्षेत्रमा आयोजनाको काम पनि भारतीय ठेकेदार कम्पनी ‘केईआई इन्ड्रष्ट्रिज लिमिटेड’ले सन् २०१९ को मार्चमा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो ।

    केन्द्र अन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली र शिक्षण अस्पताल लगायतका स्थानहरूमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिएको छ । त्यहाँ करिब २१४ किलोमिटर हाइटेन्सन लाइन र ३५२ किलोमिटर लोटेन्सन लाइन भूमिगत भइसकेको छ ।

    साथै, आधुनिक सञ्चार पूर्वाधारका लागि करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि सँगै बिछ्याइएको छ, जसले भविष्यमा ‘स्मार्ट ग्रिड’ र इन्टरनेट सेवा प्रवाहमा सहजता ल्याउने प्रमुख श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images