काठमाडौँ – बागमती नदी करिडोर अन्तर्गत गोकर्णदेखि बल्खुसम्मको क्षेत्रमा बिजुली बत्ती जडान गरी उज्यालो बनाइने भएको छ । सो क्षेत्रको निगरानीका लागि आधुनिक सीसीटिभी समेत जडान गरिनेछ ।
शहरी विकास मन्त्रालय अर्न्तगतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी करिडोरको गोकर्ण–बल्खु क्षेत्रमा बढ्दै गएको फोहोरमैला व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न आधुनिक सीसीटिभी सर्भिलेन्स सिस्टम र हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम जडान गर्न लागेको हो ।
अँध्यारा क्षेत्र उज्यालो बनाई सुरक्षित र व्यवस्थित वातावरण निर्माणका लागि ५६७ थान स्मार्ट सडक बत्ती, ६ स्थानमा ४८ थान हाइमास्ट फ्लडलाइट जडान गरिने जनाइएको छ ।
साथै तापक्रम, धुलो तथा पानी प्रतिरोधी र दिन–रात दुवै समयमा काम गर्ने १२० थान अत्याधुनिक प्रविधिका क्यामेरा जडान गर्ने तयारी भएको जनाइएको छ ।
बागमती करिडोरअन्तर्गत थापाथली–टेकु दोभान क्षेत्रमा भने सीसीटिभी जडानको काम भइसकेको छ ।























