images
images
  • फेरिए पाँच व्यवस्था, फेरिएन शासकीय सोंचको अवस्था

    राणा शासन निरंकुश जहाँनिया भएकाले नागरिकको बलिदानीमा त्यो व्यवस्था फालियो । एक सय चार वर्षको राणा शासन (१९०३–२००७) पछि (२००७–०१७), पञ्चायत (२०१७–२०४६), बहुदल (२०४७–२०६३) र त्यो भन्दा ठूलो राजतन्त्र समेत फालेर गणतन्त्र (२०६३– अहिलेसम्म) स्थापना भयो । बिडम्बना ! राणा शासन ढले यता ७५ वर्षसम्म हामीमाथि शासन गरिरहेका नेताहरुको चेत राणाहरुभन्दा रौं बराबर फरक छैन ।

    दृष्टान्त एक

    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक रुपमा ७९ वर्षका भए । देउवाको औपचारिक प्रमाणपत्र नागरिकतामा उनको जन्ममिति २००३ साल उल्लेख छ । त्यसैले औपचारिक प्रमाण उल्लेख गरिएको हो । तर, जानकारहरुका अनुसार उनी २००० सालमा जन्मिएका हुन् । यसर्थ उनी अहिले ८२ वर्षमा हिडिरहेका छन् । जहाँनिया राणा शासन ढल्नुभन्दा सात वर्ष अघि अर्थात नागरिकता अनुसार चार वर्ष अघि जन्मिएका देउवा पाँच पटक प्रधानमन्त्री बने ।

    चैत्र २०४६– बैशाख ०४७ को जनआन्दोलनबाट बहुदल स्थापनापछि २९ बैशाख २०४८ को निर्वाचन यता देउवा डडेल्धुराबाट सातौं पटक निर्वाचित भए । ०४८ यताका प्रतिनिधिसभाका हरेक निर्वाचनमा उनलाई डडेल्धुरावासीले निर्वाचित गरेका छन् । सात पटक सांसद, ५ पटक प्रधानमन्त्री, एक पटक गृहमन्त्री भइसके पनि सत्तामा बस्ने उनको लालचा अझै पुरा भएको छैन ।

    २३ भदौको नवयुवाहरुको विद्रोह र २४ भदौको विध्वंस अघि उनी छैटौ पटक प्रधानमन्त्री हुने पखाईमा थिए । ५ पटक प्रधानमन्त्री हुँदा देशलाई समृद्धि र विकासको फराकिलो राजमार्गमा दौडाउन उनले एउटा पनि सृजनात्मक योजना अघि सार्न त सकेनन् नै, भइरहेका विकास अवधारणा एवं योजनालाई समेत गतिलो नेतृत्व दिएनन् । गृहमन्त्रीको कुर्सीमा आसिन भइरहेका बेला २०४९ सालमा देउवाले ललितपुरमा जन्मे–हुर्केकी आरजु राणा (विद्यावारिधि) सँग घरजम जोडेका हुन् । स्मरणीय छ, राणासँग उनको दाम्पत्य गासिदिन नेपालस्थित तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ बल्कले सेतुको भूमिका निर्वाह गरेकी हुन्, जो चिनियाँ मूलकी अमेरिकी नागरिक थिइन ।

    रोचक के भने देउवासँग दाम्पत्य गाँस्ने निर्णय गरिरहदा राणाले उनीसँग राजनीतिबाट पृथक रहदै आइएनजिओ–एनजिओमै रमाउन पाउनु पर्ने सर्त राखेकी थिइन । देउवाले राणाको त्यो सर्त स्वीकार गरेका थिए । तर, कालान्तरमा समयले यसरी फन्को मार्यो कि पति देउवाको मात्र होइन, नेपाली कांग्रेसको राजनीतिमै राणा यसरी हाबी भइन्, हरेक निर्णयमा देउवा होइन, राणा निर्णायक भइन् । उनी पटक–पटक सांसद मात्र भइनन्, परराष्ट्र मन्त्री समेत बनिन् । प्रहरी महानिरीक्षक, प्रधान सेनापतिलगायत महत्वपूर्ण राजनीतिक नियुक्तिदेखि नक्क्ली भुटानी शरणार्थी प्रकरणजस्ता काण्डमा राणा विवादास्पद नभएको वा नमुछिएको एउटा पनि घटना छैन । फलतः ‘लोभले लाभ, लाभले अलापविलाप’ भन्ने उखान जस्तै नवयुवाहहरुको विध्वंसको घानमा देउवा दम्पत्ति मात्र परेनन्, निवास समेत खरानी भयो । उपचारका लागि सिंगापुर जान उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका देउवा साता अघिबाट पुनः सक्रिय भएका छन् ।

    Sher Bahadur Deuba uTvSlGyPSe

    दृष्टान्त दुई

    नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २९ बैशाख ०४८ को निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । २०२८ सालको झापा विद्रोहमा सहभागी भएको आरोपमा १४ वर्ष जेल बसेका ओली २९ कार्तिक ०५१ को मध्यवधि निर्वाचनमा पुनः त्यही क्षेत्रबाट निर्वाचित भए । र, १४ मंसिर ०५१ मा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारमा गृह मन्त्री बने । ०५६ को मध्यवधि निर्वाचनमा ओली फेरि झापा क्षेत्र नं. २ र ६ बाट निर्वाचित भए ।

    २०४४ सालमा ललितपुर पाटनकी राधिका शाक्यसँग घरबार जोडेका ओलीलाई २८ चैत्र ०६४ मा भएको संविधान सभा निर्वाचनमा भने तत्कालीन नेकपा (माओवादी) का विश्वदीप लिङदेनले हराए । ०७० को निर्वाचनमा ओली फेरि झापा क्षेत्र नं. ६ बाट विजेता बने । अनि ०७४ को निर्वाचनमा झापा ५ बाट ५७ हजार १ सय ३९ हजार मत ल्याएर ‘जन अनुमोदित’ भए । त्यो निर्वाचनमा ओली देशभरमा सबभन्दा फराकिदो २८ हजार ४ सय ४२ मत अन्तरले विजयी भएका थिए । यति फराकिलो मतान्तरले विजयी हुन उनले उनको दर्शन, सिद्धान्तसँग विल्कुलै मेल नखाने राप्रपासँग चुनावी तालमेल गरेका थिए ।

    ४ मंसिर ०७९ मा भएको निर्वाचनमा पनि राप्रपासँग तालमेल गर्दै ओली विजेता बने । चुनावी प्रचार भइरहदा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन झापा ५ को प्रचारमा आएर एमाले अध्यक्ष ओलीलाई मत नदिने आफ्ना नेता÷कार्यकर्तासँग ४ मंसिरपछि एउटै पार्टीमा भेट नहुने चेतावनी दिएका थिए । ०७२, ०७४, ०७८ र ०८१ मा गरी ओली चार पटक मुलुकको प्रधानमन्त्री भइसके । फागुन ०७४ मा झण्डै दुई तिहाई निकट शक्तिका साथ प्रधानमन्त्री भएका उनले नेपालको समृद्धिको यति बलियो नारा अघि सारेका थिए कि त्यो पानीको फोका सरह भयो ।

    ओलीले दीर्घकालीन योजना बिनाका फोस्रो नारा अघि सारेका रहेछन् भन्ने समयले प्रमाणित गरिसकेको छ । जस्तो कि जनकपुर–जयनगर रेल सन् १९४० मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरकै कालमा सुरु भएको थियो । तर, अलिक वर्ष अघि त्यसलाई मैले चलाए भनेर केपी ओलीले आत्मरत्ती लिए । र, उनका अन्धा समर्थकहरुले लल्लरी गाउँदै बाँझो भावुकता पोखे । स्मरण शक्ति कमजोर भएका ‘दास वौद्धिक’ हरुले पनि होमा हो मिलाए । सचेत नागरिक चाहिँ उनको सुगा रटाइमा कान रुवाले थुन्न बाध्य भए् ।kp oli 2

    दृष्टान्त तीन

    पूर्वनेकपा (माओवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ‘जनयुद्ध’ ले मुलुकको कुव्यवस्था, गरिबी, सबै प्रकारका अन्याय, अत्याचार, विभेद जरैदेखि बढार्ने उद्घोष गरेको थियो । ‘जनयुद्ध’ ले सगरमाथा भन्दा अग्लो लाशको थुप्रो र फेवा तालभन्दा ठूलो रगतको पोखरी खडा गर्यो ।

    कांग्रेस, एमालेलगायत पार्र्टीहरुको ज्यादती, पथ भ्रष्टता, जाली कुराबाट वाक्य दिक्क भएका जनताले माओवादीप्रति निकै ठूलो आशा–भरोसा राखेका थिए । त्यसैले नै सर्वसाधारणहरु टाउकोमा कफन बाँधेर ‘जनयुद्ध’ मा पूर्णकालीन मात्र भएका थिएनन्, मृत्युलाई फिक्री नगरी बलिदानको पक्तिमा उभिएका थिए । तर, लाशको थुप्रो र रगतको पाइला टेकेर आएका तिनै प्रचण्ड कांग्रेस र एमालेका नेताहरुलाई उछिनेर सत्ता, सुखको अब्बल अस्थिर औजार भए । तिनको चेत, सुखभोग सोंच, सत्ता र नेतृत्वमा निरन्तर जरा गाडिरहने व्यवहार कुनै पनि निरंकुश शासनको भन्दा विल्कुलै कम रहेन । ०६४ यताका सबै निर्वाचनमा प्रचण्डले क्षेत्र सुनिश्चित गरी–गरी संसदमा प्रतिनिधित्व गरे ।

    २०६३, ०७३ र ०७९ मा तीन पटक प्रधानमन्त्री हुँदा सिन्को नभाँचे पनि फेरि उनको रहर पुरा हुन बाँकी नै छ । त्यसैले म्याद गुज्रिएका झालेमाले पार्टीहरुसँग एकताको टालाटुली बटुली खेलिरहेका छन् । प्रचण्डको झुटको पुुलिन्दा र अस्थिरताको ओरालो कति देख्नु पर्ने हो ? अहिल्यै भन्न सकिने अवस्था छैन ।

    ०६४ पछिका मुख्य तीन दलका यी तीन नेताहरुको चरित्र चित्रणले पुष्टि गर्छ, नेपालमा राणा शासन ढलेको ७५ वर्ष नाघे पनि त्यस यता शासन सत्तामा आएका नेताहरुको चेत, संस्कार, संस्कृति ज्यूँकात्यूँ छ । नेताहरुका पहिलो घेराका विस्वास पात्र, प्रभाव पार्ने पंक्ति, उनीहरुको सचिवालयदेखि दैनिक कार्यशैली समेतलाई नियाल्ने हो भने निरंकुशता र सामान्तवादको प्रभावबाट नेताहरु अलिकति पनि माथि उठ्न सकेका छैनन् । जब कि संविधान भने समाजवाद उन्मुख भनेर लेखिएको छ ।

    PrachandaGanga MK

     

    राणा शासन निरंकुश जहाँनिया भएकाले नागरिकको बलिदानीमा त्यो व्यवस्था फालियो । एक सय चार वर्षको राणा शासन (१९०३–२००७) पछि (२००७–०१७), पञ्चायत (२०१७–२०४६), बहुदल (२०४७–२०६३) र त्यो भन्दा ठूलो राजतन्त्र समेत फालेर गणतन्त्र (२०६३– अहिलेसम्म) स्थापना भयो । बिडम्बना ! राणा शासन ढले यता ७५ वर्षसम्म हामीमाथि शासन गरिरहेका नेताहरुको चेत राणाहरुभन्दा रौं बराबर फरक छैन ।

    राणा शासनसँग सधैँ मिलिरहेको चेत

    Rana Shasanसरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल राणाकालीन आखिरी तीन दशक’ नामक पाँच भाग पुस्तक लेखेका छन् । जसको पाचौं भागको पृष्ठ १५ मा पाँडेले राणा शासनचक्रको आँकार (पावरको क्रमानुसार) देखाएका छन् । जहाँ सबैभन्दा पहिलो रोलक्रममा श्री ३ महाराज छन् । दोस्रो घेरा अर्थात शक्तिमा श्री ३ बडामहारानी, महारानी, छोराछोरी, नातिनातिनाहरु र भित्रियाहरु पर्छन् ।

    शक्तिको तेस्रो घेरामा हजुरिया जर्नेल, हजुरियाहरु, खड्ग निशाना मुन्सीखाना, चिठ्ठी र विन्तिपत्र निक्सारी, लैनका मुलकी हाकिम खाना, पुलिस, घरकाज जिन्सी अड्डाका हाकिमहरु, अड्डा थिए । शक्ति सोपानको चौथोक्रममा मुख्तियार धीरतर्फका कमाण्डिङ जर्नेल, रोलवाल जर्नेल, तालुकवाला जर्नेलहरु, बेरोलवाला जर्नेलहरु, राजदूत, मुख्य–मुख्य अड्डाका हाकिम, भएका बडाकाजी, सरदार, सुब्बा, पहाड मधेश गौडा गोस्वाराका बडा हाकिमहरु पर्दथे । एवम् रीतले नौ वटा रोलक्रम थिए । उल्लेख भइसक्यो, जहाँनिया राणा शासन ढलेको ७५ वर्ष नाघिसकेको छ ।

    राणा शासन ढलेयता संक्रमणकाल (२००७–०१७), पञ्चायत (२०१७–०४६), (बहुदल (०४६–०६३) र गणतन्त्र (२०६३–अहिलेसम्म) चार वटा व्यवस्था फेरिए । विडम्बना ! राणा शासनमा शक्तिको सोपानक्रम जे थियो, यसबेलाका नेताहरुको पनि त्यही छ । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, कमल थापा, राजेन्द्र लिङदेनदेखि अरु दर्जनौ नेताहरुको पहिलो घेराका विस्वास पात्र, सचिवालय, आसेपासे, संस्कार, संस्कृति नियाल्ने हो भने थोरै पनि अन्तर छैन ।

    जसरी राणाहरु परलोक नजाउन्जेल वा विध्न बाधा नआउन्जेल सत्तामा जरा गाडेर बस्दथे, ठ्याक्कै त्यही शैली ज्यूँकात्यूँ छ नयाँ–नयाँ रुपरङ्गका राणाहरुमा पनि । पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनी (विद्यावारिधि), नवराज सेवेदीलगायत पञ्चायतकालीन हर्ताकर्ता हुन् । पञ्चायत ढलेर बहुदल मात्र होइन, गणतन्त्र तन्नेरी हुन लाग्दा समेत ‘यी बुढा’ हरुले ‘सत्ता स्वाद’ को राजनीतिमा ¥याल चुहाइरहेकै छन् । पार्टीले उनीहरुलाई प्राथमिकता दिइरहेकै छ । कमल थापा खिइदै ‘मुसो’ जत्रो भए पनि राजनीतिक मैदानमा उत्रने जमर्को गरिरहेकै छन् ।

    देउवा, ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमदेखि महेन्द्रराय यादव हुँदै अशोक राईलगायतले ‘भयो । अब मेरो समय सकियो । नवयुवाहरुलाई वा सत्तामा अवसर नपाएकाहरुलाई समृद्धिको दीर्घकालीन योजनासहित अवसर दिउँ’ भन्न सकेका छैनन् । यस मामलामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई (विद्यावारिधि) भने अपवाद बनेका छन् । उनले आफूभन्दा पछिल्लो ँिपढीलाई नेतृत्व हस्तान्तरण गरिसकेका छन् ।

    पाठकवृन्द, अब एकछिन जहाँनिया राणा शासनबारे पढौं ।

    बिक्रम संवत् ३१ भदौ १९०३ (१४ सेप्टेम्बर १८४६ इस्वी संवत्) को मध्यराति कोत पर्व (खासमा बस्नेत पर्व) घटाएर २९ वर्षिय जङ्गबहादुर कुँवरले आफ्नो हातमा एकलौटी शासन सत्ता हत्याएका थिए । शासन सत्ता हत्याएपछि उनले आफ्नो थर नै बदलेर राणा बनाए । प्रमोदशमशेर राणा लिखित राणाशासनको वृत्तान्त पुस्तकका अनुसार खासमा महारानी राजेन्द्र लक्ष्मीको अति विस्वास पात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला गरिएका भारदारहरुको कत्लेआम गरेर जङ्गबहादुरले तत्कालीन नेपालको अस्थिर राजनीतिलाई नियन्त्रणमा लिएका थिए । अनि १ सय ४ वर्षे जहाँनिया राणाशासनको सुत्रपात गरेका थिए ।

    महारानीको सनकलाई उपयोग गरी १४ सेप्टेम्बर १८४६ को मध्यराति जङ्गबहादुरले घटाएको कोत पर्वमा ‘प्रधानमन्त्री फत्तेजङ्ग, चौतारिया खड्गबिक्रम, काजी गोप्रसाद, जनरल अभिमानसिंह, काजी दलभञ्जनलगायत एकतीस जनाजति ख्याती प्राप्त भारदार तथा अधिकृतहरु तरबार, खुकुरी र गोलीसमेतको चोटबाट त्यहीँ सोत्तर भए ।’ (राणा प्रमोदशमशेर, राणाशासनको वृत्तान्त, पैरवी बुक हाउस, संस्करण तेस्रो, २०७०, पृष्ठ ३९)

    जहाँनिया राणाशासनको एक सय ४ वर्षमध्ये जङ्गबहादुरले १५ सेप्टेम्बर १८४६ देखि २५ फेब्रुअरी १८७७ मरणोपरान्तसम्म ३१ वर्ष शासन चलाएका थिए । भलै, १५ जनवरी १८५० मा युरोप भ्रमणमा गएको केही समय भने उनले माइलो भाइ रणोद्दीपसिंहलाई मुख्तियार दिएका थिए । मधेसमा सिकार खेल्न गएकै बखत २५ फेब्रुअरी १८७७ मा बागमतीको पथ्थरघट्टामा जङ्गबहादुरको मृत्यु भयो । यसपछि मात्र रणोद्दीपसिंहले श्री ३ महाराज र प्रधानमन्त्रीको पदवी पहिरिन पाए ।

    रणोद्दीपसिंह श्री ३ महाराज भएको आठ वर्षपछि २२ नोभेम्बर १८८५ को राति उनकै काँइलो भाइ धीर शम्शेरका छोराहरु वीर शम्शेर, खड्ग शम्शेर, चन्द्र शम्शेर, भीम शम्शेर र डम्बर शम्शेरले बडा बाको नृशंस हत्या गरे । रणोद्दीपसिंहको निधारमा खड्ग शम्शेरले गोली दागेका थिए । (ऐ..ऐ..पृष्ठ १३२) यसबेलासम्म धीर शम्शेर भने मासु खाँदा घाँटीमा चराको हड्डी अड्केर परलोक पुगिसकेका थिए ।

    बडा बाको हत्या गरेपछि रोलक्रम मिचेर वीर शम्शेर सन् १९८५ देखि १९०१ सम्म १६ वर्ष नेपालको श्री ३ महाराज र प्रधानमन्त्री भए । जंगबहादुरले राखिदिएको रोलक्रम अनुसार वीर शम्शेर १६ औं नम्वरमा थिए । रणोद्दीपसिंह सिंहपछि वीर शम्शेरका साँईलो बडा बा जगत् शम्शेर, उनका बा धीर शम्शेर, जङ्गबहादुरका जेठा छोरा जगत्जङ्ग, जितजङ्ग, पद्यजङ्ग हुँदै मात्र उनको रोलक्रम थियो ।

    रणोद्दीपसिंहले तय गरेको रोलक्रम अनुसार समेत वीर शम्शेर सातौं नम्वरमा थिए भने खड्ग शम्शेर १० औं, चन्द्र शम्शेर १४ औं र भीम शम्शेर १५ औं नम्वरमा थिए । तर, बडा बा रणोद्दीपको हत्या गरेर उनीहरुले रोलक्रम मात्र भङ्ग गरेनन्, जहाँनिया राणाशासन स्थापना गर्ने जेठा बडा बा जङ्गबहादुरकै छोराहरुको नामो निसाना मेटिदिए ।

    rana sasayanबडा बाको हत्या गरेर वीर शम्शेर श्री ३ महाराज र प्रधानमन्त्री भएपछि भाइहरु देव शम्शेर, चन्द्र शम्शेर, भीम शम्शेरलगायतलाई रोलक्रममा राखेका थिए । १६ वर्ष शासन गर्दैगर्दा ५ मार्च १९०१ मा लालदरबारको नाच घर अगाडी चोकमा अचानक वीर शम्शेरको मृत्यु भयो । मृत्यु नभएको भए यीनले सायद अझै शासन भोग गर्थे नै । वीर शम्शेरको मृत्युपछि रोलक्रम अनुसार नै उनका भाइ देव शम्शेर श्री ३ महाराज र प्रधानमन्त्री भए ।

    तर, यिनलाई उनकै अर्का भाइ चन्द्र शम्शेरले १ सय १५ दिनमै अपदस्थ गरी सुरुवाती दिनमा हिटी दरबारको एउटा कोठामा बन्दी बनाए । र, धनकुटा लखेटे । दाजुलाई अपदस्त गरी सत्ता हातमा लिएका चन्द्र शम्शेर अधिनायकवादी मात्र नभई अत्यन्तै कठोर शासक थिए । २७ जुन १९०१ मा सत्ता हत्याएका चन्द्र शम्शेरले २९ वर्ष निरंकुश सत्ता चलाए । २५ नोभेम्बर १९२९ का दिन चन्द्र शम्शेर निमोनियाले अचानक परलोक भए । चन्द्र शम्शेरले घाटको बाटो लिएपछि मात्र ६४ वर्षका उनका भाइ भीम शम्शेर अर्थात माइला बडा बा रणोद्दीपसिंहका अर्का हत्यारा श्री ३ महाराज र प्रधानमन्त्री भए ।

    निरंकुश जहाँनिया सत्ता सम्हालेको तीन वर्ष मात्र भएको थियो, १ सेप्टेम्बर १९३२ मा बेलुकीको खाना खाएर वमन गर्दा भीम शम्शेरको आकस्मिक मृत्यु भयो । यसपछि शासन सत्ताको बागडोर भीमका अर्का भाइ जुद्ध शम्शेरका हातमा पुग्यो । यिनले सन् १९३२ देखि २९ नोभेम्बर १९४५ सम्म १३ वर्ष सत्ता भोग गरे । यिनकै कालमा (सन् १९४०) बिक्रम संवत् १९९७ साल माघमा प्रजातन्त्रको माग गर्ने दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई फाँसी दिइयो । टंकप्रसाद आचार्य, रामहरि जोशीलाई सर्वश्वसहित गोलघर बनाएर जन्म कैद ठोकियो ।

    जुद्ध शम्शेरले २९ नोभेम्बर १९४५ मा सत्ता त्याग गरेर चन्द्र शम्शेरको छोरो, आफ्नो भतिजो पद्य शम्शेरलाई सत्ता हस्तान्तर गरे । तर, ६२ वर्षका भतिज पद्यले पनि काकाको हत्या गर्नु साटो स्वर्गद्धारी आश्रम रेसुङ्गाका योगीसँग अपवित्र साँठगाँठ गरी नियोजित रुपमा सत्ता हत्याएका थिए । त्यो कसरी भने रेसुङ्गाका योगीले ‘भविश्यवाणी गरी १ सेप्टेम्बर १९३२ इ. का दिन जुद्ध प्रधानमन्त्री हुनेछन् भनेको कुरा शतप्रतिशत ठीक भएकाले जुद्धका पत्नीहरु सबै उनका भक्त भएका थिए । (ऐ..ऐ. पृष्ठ २७९)

    यही भेउ पाएका चन्द्र खलकका पद्यले ती योगीलाई प्रभावमा पारेर ‘अब भोग सकिने बेला आइपुग्यो, यसै कारण बेला छँदै राजकाजबाट पर हटेर परत्र सुधार गर्नु राम्रो हुनेछ’ भन्ने सुझाव दिन लगाए । फलतः प्रजातन्त्रको माग गर्ने चार जनाको हत्या गरेपछि हतप्रभ जुद्धले योगीको सुझाव अनुसार भतिजो पद्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।

    जुद्ध शम्शेरले ‘हे ईश्वर म अब सबैसँग बिदा हुन्छु । बाँकी जीवन प्रभुकै सेवामा अर्पण गर्छु’ भन्दै श्री ३ महाराज र प्रधानमन्त्रीको श्रीपेच झिकी पद्य शम्शेरको शिरमा लगाई दिएका थिए । भलै, समयको पदचापको दबाबमा पद्य शम्शेरले तीन वर्षभन्दा बढी शासन गर्न पाएनन् । जसरी बहुदल र गणतन्त्रकालमा गिरिजाप्रसाद कोइराला, देउवा र ओलीले दलभित्रै निरंकुशता रोज्दा बारम्बार ‘सार्वभौम संसद’ पटक–पटक भङ्ग गरे । जनमत लत्याए । त्यसैगरी पद्यले सत्ता हातमा लिँदा जहाँनिया निरंकुशता विरुद्धको आन्दोलनले भुङ्ग्रोको रुप लिँदै थियो । तर, यिनी भने झन् निरंकुश व्यवस्था चाहन्थे ।

    यसै मेसोमा परिवारभित्रबाटै राजीनामा दिन दबाब बढिरहेको थियो । कतिसम्म भने ‘उनकै प्यारी कान्छी पत्नी कमला महारानी तथा अन्य आफन्तहरुले समेत अब महाराजले पदत्याग गरी आफ्नो धन–दौलत सबै लिएर भारतमा कतै बस्नुमा कल्याण छ भनी सल्लाह र दबाब दिन लागे । …मोहन शम्शेरले ठूलो खर्च गरी यस्तो हल्ला चलाएका थिए । उनले दुई लाख रुपैयाँ नजराना चढाएर कमला महारानीलाई समेत आफ्नो पक्षमा मिलाएका थिए भन्ने गाइँगुइँ कुरा सुनिएको थियो । …मुख्तियार मोहन शम्शेरले उनलाई (पद्य शम्शेरलाई) पदत्याग गर्ने सल्लाह दिँदै उनले पदत्याग गरेपछि वार्षिक तीन लाख रुपैयाँ आजीवन भत्ता दिने प्रतिज्ञा गरे ।’ (ऐ..ऐ…पृष्ठ २९७)

    यसपछि २१ फेब्रुअरी १९४८ मा पद्य शम्शेर भाइ मोहन शम्शेरलाई मुख्तयारी दिएर भारत हिंडे । त्यसको दुई महिनापछि भारतबाटै उनले राजीनामा पठाए । ३० अप्रिल १९४८ मा उक्त राजीनामा हात परेपछि मोहन शम्शेर श्री ३ महाराज र प्रधानमन्त्री भए । यसबेला मोहन शम्शेर पनि ६२ वर्षका भइसकेका थिए । राणा शासनको अन्त्यका लागि यही बेला कांग्रेस–कम्युनिष्टहरुले आन्दोलनको रापताप बढाएर मोहन शम्शरेको निरंकुश सत्तामाथि घेराबन्दी बढाए । फलतः ८ जनवरी १९५१ का दिन महाराज मोहन शम्शेर सबै राजबन्दी रिहा गर्ने, राजा त्रिभुवनलाई पद च्युत गर्ने निर्णय बदर गर्ने, सन् १९५२ सम्ममा आम निर्वाचन सम्पन्न गराउने, तत्कालका लागि राणाहरु र जनप्रतिनिधिहरु बराबर संख्यामा रहने गरी मन्त्रिमण्डल गठन गर्ने निर्णय गर्न बाध्य भए । मोहन शम्शेरले यी निर्णय गर्नुमा भारतको ठूलो भूमिका थियो । यससँगै नेपालमा १ सय ४ वर्षे जहाँनिया राणा शासन सदाका लागि अन्त्य भयो ।

    दुर्भाग्यपूर्ण मति
    deuba oli prachandaएक सय ४ वर्षे राणा शासनको अन्त्य भएसँगै नेपालमा पाँच वटा व्यवस्था बदलिईसके । तर, दुर्भाग्य– नेताहरुको चेतनाको स्तर जहाँको तहीँ छ । शेरबहादुर देउवा डडेल्धुराको दुर्गम वस्तीबाट सिंहदरवारको सोफामा बस्न थालेको जङ्गबहादुरको भन्दा अझ् तीन वर्ष बढी ३४ वर्ष पुगेको छ । माथि नै उल्लेख भइसक्यो, जङ्गबहादुर घाटमा पुगेकाले सत्ता छाड्न विवस भएका थिए । शेरबहादुर भने जङ्गबहादुरलाई उछिन्दै जेनजी आन्दोलन अघिसम्म फेरि छैटौंंं पटकका लागि प्रधानमन्त्रीको कुर्सीमा आँखा लगाईरहेका थिए ।

    राणातन्त्र र त्यसपछिका नेतामा फरक के मात्र भने यसबेलाका नेताहरुले सिण्डिकेट खडा गरेर होस् वा साम, दाम, दण्ड, भेद सबै औजारहरु प्रयोग गरेर कम्तिमा निर्वाचित भएका हौं भन्ने देखाएका छन् । यद्यपि ०७४ यताको निर्वाचनमा शीर्ष नेताहरुले सिट सुरक्षित बनाउन निरंकुश सिण्डिकेट खडा गर्दाको शैली राणा शासनभन्दा भद्दा छ । जो रुपमा देखाउन मात्र निर्वाचन मान्न सकिएला । तर यसको सारलाई गहिरिएर हेर्ने हो भने जहाँनिया निरंकुशताकै अर्को विकृत र भद्दा रुप हो त्यो ।

    त्यसबाहेक घाटमा नपुगुन्जेल, अपदस्थ नहुन्जेल वा ठूलै बाध्यतामा नपरुन्जेल सत्ता नछाड्ने, सत्तामा रहेर आफन्त, आसेपासे, गुट, गिरोहलाई शक्तिको दोहन गराउने, आफू इतर मत राख्नेहरुको राजनीतिक जीवन (कम्तीमा भौतिक जीवन सकेका छैनन्) कत्लेआम गरिदिने चेतमा राणाहरुभन्दा अलिकति पनि माथि उठ्न सकेको छैन ।

    गिरिजाप्रसाद कोइरालाले निरंकुश सत्ता चलाउन, आसेपासे पोस्न दुई–दुई पटक संसद भङ्ग मात्र गरेनन्, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता संस्थापक नेताहरुलाई समेत कांग्रेसबाटै विस्थापित गराए । घाटमा पुग्न लाग्दा पनि उनमा राष्ट्रपति बन्ने लालचा जिवितै थियो । भलै, उनको त्यो लालचालाई प्रचण्डले ठूलो घन प्रहार गरेर क्षतविक्षत पारिदिए ।

    शेरबहादुर देउवाले पनि मध्यराति संसद भङ्ग मात्र गरेनन्, दरवारमा लगेर प्रजातन्त्रलाई बुझाई दिए । तत्कालीन राजा ज्ञानेन्द्रबाट अपदस्थ भएपछि सत्ताबाट रुँदै बाहिरिन बाध्य भए पनि ‘बुढो गोरुले बाछी रुँघेको’ उखान जस्तै सत्ता ओगट्न छाडेका छैनन् । पुष्पकमल दाहालले आफू अनुकूल सत्ता चलाउन निवृत हुन तीन महिना पनि बाँकी नरहेका प्रधान सेनापतिमाथि निशाना केन्द्रीत गरे । यो बेग्लै हो कि त्यसको जवाफी फायरमा आफैं परे । त्यस यता पनि उनले दिनदिनै दल बदलु गरिरहे ।

    निरंकुश सत्ताको लोभमै केपी ओलीले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर दुई–दुई पटक संसद विघटन त गरे नै, आफू इतर मत राख्नेहरुलाई राजनीतिक कत्लेआम गरिरहेका छन् । अझै पनि उनी फेरि कत्लेआम गर्ने दाउमा छन् । घाट कुरुन्जेल सत्तामा बसिरहनु पर्ने रोगबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र बाबुराम भट्टराई बाहेक सबै पार्टीका सबै नेताहरु उस्तै देखिन्छन् ।

    उत्तराधिकारी चेत पनि उस्तै
    जहाँनिया राणा शासकहरुमा उत्तराधिकारी चेत जे थियो, वर्तमान नेताहरुमा पनि ठ्याक्कै त्यही छ । वयोवृद्ध शेरबहादुर देउवाले श्रीमती ‘महारानी’ आरजु राणा देउवा र छोरा जयवीरसिंह देउवालाई जर्वजस्ती उत्तराधिकारीका रुपमा अघि सारिरहेका छन् । जेनजी विद्रोहपछि पनि उनमा त्यो लोभ हटेको छैन ।

    प्रचण्डले छोरी-बुहारीले मात्र नपुगेर ज्वाइँलाई समेत खडा गरेका छन् । उनले ०७४ को स्थानीय निर्वाचनमा छोरी रेणुका लागि जे जति हरकत गरे, त्यो इतिहासमा कुरुप अक्षरले लेखिने निश्चित छ । ०७९ पछि कोसी प्रदेशमा कान्छा ज्वाईँलाई जसरी हरेक सरकारमा मन्त्रीका लागि अघि सारे, त्यो सत्ताको प्यास बाहेक लोकतन्त्र, समान अवसरको रुप थिएन ।

    आफूलाई अरु नेताभन्दा ‘अग्रगामी’ दाबी गर्ने बाबुराम भट्टराई समेत उत्तराधिकारीको मामिलामा भने खासै पछि छैनन् । भट्टराईले पनि छोरी मानुषीलाई नै प्राथमिकताको अग्रिम सूचीमा राख्नुले त्यो पुष्टि हुन्छ । भलै भट्टराईको चेत भने अरु नेताहरुभन्दा निकै अगाडि छ ।

    रणोद्दीपसिंह जस्तै केपी ओलीको पनि आफ्नै सन्तान नहुनु अलग कुरा हो । तर, गुट र गिरोह च्याप्न ओलीले जङ्गबहादुर र रणोद्दीपसिंहलाई उछिनेका छन् । माधवकुमार नेपालले छोरा र छोरीलाई उत्तराधिकारीका रुपमा अघि सारेका छैनन् । तर, नेपाल पनि घाट नपुगुन्जेल पद नछाड्ने एवं नातेदार च्याप्ने मामिलामा अलिकति पनि कम रहेनन् । भाइलाइ महावाणिज्यदूत, ज्वाईलाई राजदूत, स्वकीय सचिवलाई प्रदेश प्रमुख नियुक्त गर्दा होस् वा सम्धीलाई पटक–पटक सांसद उम्मेदवार बनाउन नेपाल पनि राणा बराबर अब्बल छन् । भलै, उनले तर्क अनेक गर्लान् । तर, तथ्य एउटै हुन्छ ।

    झलनाथ खनालका छोरा व्यापारमा मात्र रमाउन थालेपछि ‘लौ न मेरो छोरो राजनीतिमा ल्याई देउँ’ भनेर युवा संघका तरुणाहरुसँग अलापविलाप गर्नु पर्ने बाध्यतामा छन् । बामदेव गौतमले प्रत्यक्षतर्फको निर्वाचन हारेर पनि राष्ट्रिय सभामा जानै पर्ने, श्रीमतीलाई समानुपातिक सांसद र छोरो हरिसलाई पार्टीमा भित्र्याउनै पर्ने राणाकालीन सोंच कै भाग–२ हो ।

    नेताहरुको काम गर्ने सोंच, तौर तरिका पनि राणाहरुको भन्दा केही फरक छैन । बरु न्याय निरुपणमा राणाहरुले बुर्जामा उभिएर, पटाङ्गिनीमा निस्किएरै सही, प्रजाका कुरा सुन्थे । न्याय पनि दिन्थे । तर, यसबेला दलहरुले बिचौलियाका इसाराबाट न्याय सम्पादन गरिरहेका छन् । सर्वोच्च अदालत (न्यायालय) लाई समेत आफ्नै काबुभित्र राखेका छन् । नेताहरुले अदालतमा भर्ती गरेका न्यायाधीशहरुले निष्पक्ष न्याय दिन्छन् भन्ने विस्वास अरु त परै जाओस्, कानून व्यवसायीहरुलाई समेत छैन ।

    राणा जस्तै हुनुका थप प्रमाण
    राणाहरु स्त्री लम्पट थिए । जङ्गबहादुरदेखि जुद्ध शम्शेरसम्मका रासलीलाका कथाहरु पढ्यौं भन्ने यस्तो पनि हुन्छ र ? भन्ने त हुन्छ नै, चरम घृणा जान्छ । राणाहरु आफ्ना ल्याईते, ब्याईते, प्रेमिका, सुसारे, नानी आदिका लागि दरवार बनाइ दिन्थे । जुनसुकै मूल्य चुकाउँथे । पछिल्ला वर्षहरुमा दलका शीर्ष नेताहरु पनि यही बाटोमा छन् । स्वतन्त्र आयोग बनाएर छानविन गर्ने हो भने दलका नेताहरुले पनि प्रेमिकाहरुका निम्ति फ्ल्याट खरिद गरी लुकाएर राखेको प्रशस्तै भेटिनेछ । उनीहरुले कतिपय आफ्ना प्रेमिकाहरुलाई सांसद, मन्त्री बनाएका छन् । कतिपयलाई राजनीतिक नियुक्ति दिलाएका प्रमाण छन् । फरक कति भने राणाहरुले खुलमखुला गर्दथे । यसबेला नेताहरुले लुकाउने प्रयत्न गरेका छन् । तर, त्यो ‘सेक्रेट’ पनि ‘ओपन’ भइसकेको छ ।

    राणाहरुलाई आफू कुन बेला भाग्नु पर्ने हो ? आफैंलाई थाहा थिएन । त्यसैले उनीहरुले सुन, चाँदी, हिरालगायत खोपीमा लुकाएर राखेका त हुन्थे नै, यस्ता सम्पति भारतदेखि बेलायतसम्म पुर्याएर सुरक्षित राख्दथे । यसबेलाका हाम्रा नेताहरुले पनि स्वीस बैंकदेखि ‘ट्याक्स ह्वाभन’ मुलुकहरुमा रकम लुकाएको ‘ओपन सेक्रेट’ छ । सम्पति शुद्धिकरण अनुसन्धान विभागले गरेको ‘आरजु म्याडम’ को एउटा फाइल मात्र आठ अर्ब रुपैयाँ चलखेलको हुनुले भ्रष्टाचार कुन रसातलमा पुगेको होला ? सहजै अनुमान गर्न सकिन्छ । ०६२–०६३ को सेरोफेरोबाट रातारात अर्बपति बनेका केही बिचौलिया, माफिया, उद्योगी, व्यापारीहरुको ‘नेक्सस’ खोज्दै जाने हो भने नेताहरुमै ठोकिन्छ ।

    अझ् रोचक त के भने राणाहरु तीब्र गतिमा ओरालो लाग्नुको एक प्रमुख कारण थियो, आफैंभित्र श्रेणी वा वर्ग विभाजन । उनीहरुले एउटै खलकभित्र पनि क, ख, ग वर्ग विभाजन गरेका थिए । पछिल्ला वर्षहरुमा हाम्रा नेताहरुले पनि ठूलै वर्ग विभाजन गरेका छन् । तथापि औपचारिक घोषणा गरेका छैनन् । नेताहरु सबैका आ–आफ्ना ‘किचन क्वाबिनेट’ छन् । क वर्ग त्यही किचेन क्याबिनेट हो । उनीहरुले ख वर्गमा माफिया, बिचौलियाहरु राखेका छन् । ग मा गुटका मान्छे छन् । त्यसभन्दा बाहिर गिरोहहरु छन् । नेताहरुले पहिलो प्राथमिकतामा सामूहिक स्वार्थभन्दा व्यक्तिगत स्वार्थ राखेको जगजाहेर छ ।

    सुझावमा सधैँ उपेक्षा
    जसरी राणाहरुलाई आफू मात्र अब्बल, अरु सबै रैती, आफ्ना अरौटे भरौटे, चेतनाविहीन मान्छे भन्ने भ्रम थियो । त्यो भ्रमबाट अहिलेका नेता पनि रत्तिभर मुक्त छैनन । देउवा, प्रचण्ड, ओली, नेपाल खनाल, गौतमलगायत नेताहरुमा म जति ठिक मान्छे धर्तीमा अर्को जन्मिएको छैन भन्ने अंहकार शायदै राणाहरुमा थियो ।

    घण्टाकर्णलाई उपदेश स्वीकार्य नभए जस्तै हाम्रा नेताहरुलाई पनि सुझावको कुनै अर्थ छैन । भनिन्छ, तानाशाहको सोंच एउटै हुन्छ । त्यो मौका नपाएर मात्र हो । नेताहरुले स्वस्थ्य आलोचना गर्दा त्यसलाई अपराध ठानिरहेका छन् । हामीमाथि शासन गरिरहेका नेताहरुको चेत र सोंच नियाल्दा त्यो पुष्टि हुन्छ । राणाहरु जस्तै नेताहरुको पनि रक्त कण–कणमा निरंकुशताको भूत सवार छ ।

    राणाहरुले एक सय चार वर्ष शासन गर्दा सत्ताको चरम दुरुपयोग गरेर ‘मै खाउँ, मै लाउँ’ मा आधारित मोज र भोगको सरकार चलाएका थिए । त्यस यताको ७५ वर्षमा नेपाल खासै समृद्धिको पथमा फड्को मार्न सकेको छैन । यो ७५ वर्षमा छिमेकी चीन, भारतलाई मात्र नियाल्ने हो भने कहाँबाट कहाँ पुगिसकेका छन् । तर, हाम्रा नेता र मतदाता राणाकालीन चेतमै अल्झिरहनु हामी कति पछाडि र गए गुज्रेका छौं भन्ने घीनलाग्दो दृष्टान्त हो ।

    नवयुवाहरुको विद्रोहको जगमा बनेको सुशीला कार्की सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलले मिति नै तोकेर २१ फागुनमा निर्वाचन गराउने अभिभारा दिएका छन् । निर्वाचनको माहोल बनिरहेको छ । राणाकालीन सोचकै निरन्तरताका नेता चुन्नमा मतदाताको पनि दोष छ । निर्वाचनका अघिपछि भने हामी मतदाताहरु नेताहरुले गति बिगारे, मति बिगारेलगायत भनेर तथानाम गाली गछौं । तर, जब एक दिन मत खसाल्नु पर्ने निर्णायक क्षण आउँछ, खराबमध्ये कम खराबलाई छान्दैनौं । सदिऔंदेखि हाम्रो नसा–नसामा खराबमध्ये सबभन्दा खराबहरुबाट शासित हुन बानी परिसकेको छ । नालायकहरुलाई अनुमोदन गर्ने हामी जनता पनि उत्तिकै नालायक छौं । यस पटक त सोच्ने कि ?

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images